२०८२ माघ ११ गते आइतवार
काठमाडौ । आधिकारिक नेकपा आफूहरु रहेको रहेको भन्दै आफ्नो पक्षमा निर्णय गरिदिन माग गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेका छन् ।
नेकपामा शीर्ष नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहितका नेताहरु निर्वाचन आयोग पुगेर दुई तिहाई हाराहारी केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेको भन्दै आफूहरु नै आधिकारिक रहेको दाबी आयोगमा पेश गरेका हुन् ।
आधिकारिक नेकपा र सूर्य चिह्न आफूहरुले पाउनुपर्ने भन्दै उनीहरुले दाबी पेश गरेका हुन् ।
‘झण्डै ७० प्रतिशत मत, तीन केन्द्रीय समितिको बैठक र सम्पूर्ण तथ्य प्रमाण, विधान राखेर हामीले दावी गरेका छौं’ झलछलपछि नेता झलनाथ खनालले भने, ‘नेकपामा प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको पार्टी नै नेकपा आधिकारिक हो भन्ने हाम्रो दाबी छ । दल सम्बन्धी ऐनको धारामा टेकेर हामीले दाबी गरेका छौं । अयोगले पार्टीका विधान, निर्णय, दल सम्बन्धी ऐनका आधारमा निर्णय गर्नुपर्छ ।’
खनालले बहुदलीय व्यवस्थामा दलहरुले नै निर्वाचनमा भाग लिने भन्दै दलहरु तयार नभई निर्वाचन नहुने प्रष्ट्याए । ‘बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभईकन चुनाव हुँदैन,’ खनालले भने, ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई तयार नपारी पन्छाएर निर्वाचन हुँदैन ।’
आयोग पुगेका नेकपाका नेता लिलामणि पोखरेलले यस अघि आयोगले ४४१ सदस्यीय नेकपालाई आधिकारिक मानेकोले सोही अनुसार निर्वाचन आयोगमा आधिकारिकताको दाबी पेश गरेको बताए ।
‘नेकपाका व्यक्ति कहाँ जान्छन् त्यो अलग कुरा हो । प्रधानमन्त्री कहाँ जान्छन्, महासचिव कहा जान्छन् त्यो अलग कुरा हो । तर, हाम्रो विधानले व्यवस्था गरेको र दलसम्बन्धी ऐन दफा ४४ (६) पनि के उल्लेख गरेको छ भने जहाँ बहुमत छ त्यसैले वैधानिक मान्यता प्राप्त गर्ने भनेर उल्लेख नै गरेको स्थितिमा निर्वाचन आयोगले यसबारेमा ढिलो गर्नु हुँदैन भन्ने पनि हाम्रो भनाई छ’ आयोगसँगको छलफलपछि पोखरेलले संचारकर्मीसँग भने, ‘हामीले अभिलेखीकरणको लागि पहिले नै आयोगमा निवेदन दिएका थियौं ।
त्यसलाई आयोगले अलिकति वेवास्था गरिदियो । तिमीहरुको मागलाई हामीले मानेनौं भनिदियो । तर, नेकपाको ४४१ नै वैधानिक हो । त्यो भन्दा हामी मान्दैनौं भनिसकेपछि ४४१ अनुसार हामीले आज दाबी गरेका हौं ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij