Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

पाइनै छाड्यो स्थानीय जातका कुखुरा

पाइनै छाड्यो स्थानीय जातका कुखुरा


  • 1.6K
    Shares

    पाइनै छाड्यो स्थानीय जातका कुखुरा

    स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्रोइलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । जिल्लाको सुगम ठाउँमा मात्रै होइन, दुर्गम क्षेत्रमा समेत ब्वायलर, कोइलर र गिरिराज जातको कुखुराको चल्ला ल्याएर पाल्न थालेपछि स्थानीय जातका कुखुरामा कमी हुँदै आएको छ ।

    स्थानीय जातका कुखुरा महँगो पर्नाका साथै हुर्कनका लागि समय लाग्ने भएकाले लेयर्स, ब्रोइलर, कोइलर, गिरिराज जातका कुखुरापालनप्रति किसानको आकर्षण बढेको मेलम्ची–७ का बिना भारतीले बताइन् । छिटो हुर्कने र सस्तो हुने भएकाले नयाँ जातका कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमी आएको उनले बताइन् । 

    कृषकहरूले घर–घरमा खानकै लागि पनि आधुनिक जातका कुखुरापालन गरिरहेको इन्द्रावती–४ का नरमान श्रेष्ठले बताए । उनले नयाँ जातका कुखुराहरू छिटो हुर्कने र मनग्य आम्दानी गर्न सकिने भएपछि अधिकांशले आफू खान र केही खर्च जुटाउन पनि उन्नत जातका कुखुरा मात्रै पाल्ने गरेको जानकारी दिए ।

     स्थानीय जातका विशेषगरी साकिनी, घाँटी खुइले र उल्टे प्वाँख जातका कुखुराभन्दा ब्रोइलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमा पर्ने भएकाले स्थानीय जात हराउन थालेको स्थानीयहरूले बताएका छन् । 

    स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भए पनि उत्पादन हुन धेरै समय लाग्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको आकर्षण कमी आएको मेलम्ची–१० का  देवीबहादुर अधिकारीले बताए । अधिकारीका अनुसार पछिल्लो समय सस्तो मूल्यमा ब्रोइलर, कोइलर, गिरिराज कुखुरा आउन थालेपछि किसानहरू उन्नत जातका कुखुराप्रति आकर्षित भएका छन् । स्थानीय जातका कुखुरापालनमा आकर्षित हुने कृषकको संख्या कमी भएको उनले बताए । 

    अन्य कुखुराभन्दा लोकल कुखुरा महँगो पर्ने र लामो समय कुर्नुपर्ने भएकाले पनि स्थानीयहरू स्थानीय जातका कुखुरापालनमा आकर्षण घटेको उनले बताए । जिल्लाका प्रत्येक गाउँ–गाउँमा विभिन्न उन्नत जातका कुखुराको प्रचलन बढ्दै गएको छ । स्थानीय जातका कुखुरा संरक्षणमा र स्थानीय जातको कुखुराको उत्पादनमा वृद्धि गरी बजारीकरणमा सहजीकरण गर्न स्थानीय तहले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १३:३७:०६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij