Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

वर्षाले धानबाली नष्ट गरेपछि किसान मर्कामा

वर्षाले धानबाली नष्ट गरेपछि किसान मर्कामा


  • 1.5K
    Shares

    वर्षाले धानबाली नष्ट गरेपछि किसान मर्कामा

    बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले धान खेतीसँगै भित्र्याउने बेला भएको सिमी, बोडी र भट्टमासमासमेत क्षति पुर्‍याएको हो । 

    गाउँपालिका–२ काखगेन्द्रबहादुर सुनारले भने,“लगातारको वर्षाले पसाउन थालेको धानबाली सबै सोत्तर परेर ढलेको छ, अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरि के खाने भन्ने चिन्ता बढेको छ, खेतभरी धानढलेको देख्दा मन भतभति पोल्छ, सिमी, बोडी र भट्टमास त्यसै कुहिएको छ ।”

    धानको बीउसमेत नरहने गरी पानीले सोत्तर बनाइदिएको उनको भनाइ छ । सुनारले आफूले करिब १७ मुरी फल्ने खेतमा धान लगाएको भन्दै पानीका कारण १४ मुरी धान नष्ट भएको बताए । उहाँ भन्नुहुन्छ, “यसपाली धान निकै सप्रिएको थियो, अघिल्लो वर्षमा १७ मुरी धान भित्र्याउने गर्थे, यसपाली बढेर २० मुरी हुने अनुमान थियो ।”

    अर्का स्थानीयवासी मीनबहादुर खत्रीले यसपाली बेमौसमी वर्षाले निकै ठूलो समस्यामा पारेको बताए । उनले वर्षाका कारण १० मुरी धान नोक्सान भएको बताउँछन् । “ बर्खाभरी दुःख गरेर धान लगाइयो, फल्ने बेला सबै ढल्यो” उनले भने “गाउँका धेरै किसानको धान ढलेको छ, यो वर्षा भोकमरी लाग्न सक्छ ।”

    गाउँपालिकाको सबैभन्दा बढी धान फल्ने क्षेत्र वडा नं १ को बायखोला, २ को काल्नेचौर, वडा नं ३ को बोहरा गाउँ, फाँट र वडा नं ४ को रुपौटेफाँट, स्वाराँफाँट हुन् । यी फाँटका अधिकांश खेतमा धान ढलेका छन् । २० वर्षपछि यस क्षेत्रमा अहिले यति धेरै धानबालीमा क्षति पुगेको स्थानीयवासी कृष्णघर्ती मगरले बताए । उनले आफ्नो करिब ६० प्रतिशत धानबाली नष्ट भएको बताए । उनी भन्छन्,“हरेक वर्ष धान उत्पादन राम्रो हुँदै गएको थियो, यसवर्ष पनि धान निकै राम्रो भएको थियो, के गर्नु पसाउने बेला वर्षाले सबै नोक्सान गरिदियो, धान ढलेपछि हाम्रो जीउमा घामनै लागेको छैन ।”

    कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले प्रारम्भिक प्रतिवेदन अनुसार बागलुङमा यसवर्ष पाँचप्रतिशत धानबाली नोक्सानी भएको बताए । उहाँका अनुसार जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अझै वर्षा भयो बने ६० प्रतिशत धान नोक्सान हुनसक्ने उनको भनाइ छ ।

    नोक्सानी व्यहोरेका किसानले विवरण कृषिज्ञान केन्द्रमा पठाएपछि राहतको लागि आफूहरुले मन्त्रालयमा सिफारिस गर्ने बताए । किसानले क्षतिको विवरण पठाउँदा अघिल्लो वर्ष राहत पाउन नसकेको उनले बताए । “यसवर्ष लामो वर्षा भयो, वर्षाका कारण धानबालीमा असर पुगेको छ, अहिलेसम्म हाम्रो प्रारम्भिक रिपोर्टका आधारमा हेर्दा पाँच प्रतिशत धानबाली नोक्सानी भएको अनुमान गरेका छौँ”, प्रमुख भट्टराईले भने “गतवर्ष जिल्लाभरी रु एक करोड सत्र लाख बराबरको क्षति भएको थियो, राहतका लागि मन्त्रालयमा क्षति विवरण पठायौँ तर किसानले अहिलेसम्म राहत पाएनन् ।”

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १३:३५:२९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij