Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गुगलले सार्वजनिक गर्यो पहिलो स्मार्टवाच: के-के छन् सुविधा, मूल्य कति पर्छ?

गुगलले सार्वजनिक गर्यो पहिलो स्मार्टवाच: के-के छन् सुविधा, मूल्य कति पर्छ?


  • 2.9K
    Shares

    • images
    गुगलले सार्वजनिक गर्यो पहिलो स्मार्टवाच: के-के छन् सुविधा, मूल्य कति पर्छ?
    images

    अमेरिकी बहुराष्ट्रिय सूचना-प्रविधि कम्पनी 'गुगल' ले आफ्नो पहिलो स्मार्टवाच (घडी) सार्वजनिक गरेको छ।

    कम्पनीले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा आफ्नो पहिलो स्मार्टवाचका रूपमा 'गुगल पिक्सल वाच' सार्वजनिक गरेको हो।

    गुगलको यो स्मार्टवाच गोलाकार डिजाइनको छ। यसको लम्बाइ-चौडाइ ४१ मिमी र मोटाइ १२.३ मिमी छ। यो घडीले गुगलको 'एन्ड्रोइड वेयर ओएस- ३.५ (अपरेटिङ सिस्टम)' मा काम गर्छ।

    १.२ इन्च डिस्प्ले भएको यो घडीमा कर्निङ गोरिल्ला ग्लास- ५ प्रयोग गरिएको छ। 'वाटर-प्रुफ' र 'स्क्र्याच-प्रुफ' भएकाले यो पानीले बिग्रिँदैन र कोरिँदैन।

    त्यस्तै यसको वरिपरिको फ्रेम स्टिलले बनेको छ। यसको डिजाइन लुगाको बाहुलामा नअड्किने हिसाबले गरिएको छ। घडीको फित्ताबिना यसको तौल जम्मा ३६ ग्राम छ।

    कम्पनीका अनुसार यो घडीमा स्वास्थ्य र फिटनेसको ट्र्याकिङ सुविधा छ। यसका लागि कम्पनीले पिक्सल वाचमा 'फिटबिट' एप राखेको छ। इलेक्ट्रोनिक्स र फिटनेस कम्पनी फिटबिटलाई गत वर्ष मात्र गुगलको मातृ कम्पनी अल्फाबेटले किनेको हो।

    फिटबिट एपसँग कनेक्ट गरेर मुटुको चाल र सुताइको ट्रयाकिङ गर्नेजस्ता सुविधा प्रयोग गर्न सकिने छ। यसले लगातार मुटुको चालको ट्रयाकिङ राख्ने हुनाले कुन व्यायाम गर्दा राम्रो हुन्छ भनेर सुझाउँछ पनि। यसमा इसिजी एप र आपतकालीन समयमा सम्पर्क गर्न मिल्ने एसओएस सुविधा पनि छ।

    यसमा कम्पनीले आफ्नो चार वर्ष पुरानो चिपसेट राखेको छ। यो चिपसेट सामसङको ग्यालेक्सी वाच ३ मा पनि थियो।

    पिक्सल वाचमा २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज छ। यसमा कोर्टेक्स एम३३ को-प्रोसेसर राखिएको छ।

    वेयर ओएसमा चल्ने भएकाले यसबाट गुगल फोटोज, गुगल म्याप्स, गुगल असिस्टेन्ट जस्ता गुगलका अरू एपहरू सजिलै चलाउन सकिन्छ। त्यस्तै यसमा गुगल होम एप पनि जसबाट घरमा भएका स्मार्ट विद्युतीय उपकरणहरू आफ्नो हातको घडीबाटै चलाउन सकिन्छ।

    २९४ एमएएचको लिथियम आयन ब्याट्री भएको यो घडी एकपटकको पूरा चार्जमा एक दिनसम्म चल्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार ब्याट्री एकदमै कम भएको छ भने यसले संकेत दिन्छ। आधा घन्टामा यो ५० प्रतिशत चार्ज भइसक्छ भने पूरा चार्ज हुन ८० मिनेट लाग्छ।

    ब्लुटुथ, वाइफाइ र लाउडस्पिकर भएको यो घडीमा इयरफोन र युएसबी हाल्ने ठाउँ र रेडियो भने छैन।

    यो घडीले एन्ड्रोइड ८ वा यसपछिका ओएस भएका फोनमा काम गर्छ। गुगलको पिक्सल फोन नै चाहिन्छ भन्ने छैन।

    कम्पनीले हाल यो घडी म्याट ब्ल्याक (कालो), पोलिस्ड सिल्भर (चाँदी) र स्याम्पेन गोल्ड (सुनौलो) गरी तीन रङमा ल्याएको छ। यसका फित्ताहरू भने करिब २० प्रकारका पाइन्छन्।

    पिक्सल वाच ब्लुटुथ र वाइफाइ भएको मोडलको मूल्य ३४९.९९ अमेरिकी डलर (आजका दिनमा करिब ४६ हजार रूपैयाँ) तोकिएको छ। 

    त्यस्तै फोर-जी र ब्लुटुथ/वाइफाइ भएको मोडलको भने ३९९.९९ (करिब ५३ हजार रूपैयाँ) डलर पर्छ। नेपाली बजारमा आउँदा भने यो मूल्य अलि धेरै पर्न सक्छ।

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १०:०४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij