२०८२ भाद्र १० गते मंगलवार
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले मानिसलाई टोक्दा यो रोग लाग्छ।
पछिल्लो समय नेपालमा पनि डेंगुका बिरामीको संख्या निरन्तर बढिरहेको छ। केही मानिसको त मृत्यु पनि भइसकेको छ। समयमा नै यसको पहिचान गर्न सके यसको बचाउ तथा उपचारमा सहयोग मिल्न सक्छ।
धेरैजसो डेंगुको लक्षण सामान्य फ्लु वा भाइरल ज्वरोसँग मिल्दोजुल्दो हुन्छ। त्यसैले निम्न लक्षण देखिएको अवस्थामा सतर्क हुँदै डेंगु परीक्षण गराउनु जरुरी हुन्छ–
१. मांसपेशी तथा जोर्नी दुख्नु
२. शरीरमा देखिने रातो धब्बाहरु एकपटक निको भएपछि पुनः देखिनु
३. ज्वरो
४. टाउको दुख्नु
५. आँखाको भित्री भागमा दुख्नु
६. बान्ता हुनु र रिँगटा लाग्नु
यीमध्ये कुनै पनि लक्षण देखिएको अवस्थामा तत्कालै डाक्टरको परामर्श लिनु राम्रो हुन्छ। चिकित्सकले मात्र डेंगुको उपचारबारे राम्रो सल्लाह दिन सक्छन्।
कसरी बच्ने?
यो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेबाट बच्नु हो। त्यसैले लामखुट्टेबाट बच्ने केही उपाय यहाँ उल्लेख गरिएको छ–
सरसरफाइमा ध्यान दिनु
आफ्नो बस्ने ठाउँको वरपरका स्थान सधैं सफा राख्नुपर्छ। सरसफाइबाट नै लामखुट्टेलाई टाढा राख्न सकिन्छ।
पानी जम्मा हुने स्थान पुर्नु
पानी जम्ने स्थानमा लामखुट्टे जम्मा हुने र त्यहाँबाटै डेंगु फैलिने जोखिम बढी हुन्छ। लामो समयदेखि प्रयोग नगरिने भाँडोमा राखिएको पानी बेलाबेलामा फेरिरहनुपर्छ। गमलामा राखिएको पानी पनि प्रत्येक साता बदल्ने बानीको विकास गर्नुपर्छ। मेनहोल, सेफ्टिक ट्यांक, बन्द भएको नालीजस्ता ठाउँको नियमित परीक्षण गरिरहनुपर्छ।
जाली तथा लामखुट्टे भगाउने धुपको प्रयोग
लामखुट्टेबाट बच्न सबैभन्दा पहिला घरबाहिर निस्किँदा लामखुट्टेबाट बचाउने क्रिम प्रयोग गर्ने र सुत्नुअघि झुल लगाउने वा लामखुट्टे भगाउने धुपको प्रयोग गर्ने गर्नुपर्छ। घरका झ्याल ढोकामा जाली लगाउनाले पनि लामखुट्टेको प्रकोपबाट बच्न सकिन्छ।
प्रारम्भिक लक्षणलाई बेवास्ता नगर्नु
डेंगुको कुनै पनि लक्षण देखिए त्यसलाई बेवास्ता नगरी तत्काल चिकित्सकको सम्पर्कमा जानुपर्छ र उनीहरुको निर्देशन पालना गर्नुपर्छ।
उपचार
अहिलेसम्म डेंगुको कुनै विशेष उपचार छैन। डेंगु लागेको बिरामीले आराम गर्ने, प्रशस्त तरल पदार्थ सेवन गर्ने र चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ। बिरामीको अवस्थाअनुसार चिकित्सकले बिरामीलाई घरमा आराम गर्ने, अस्पतालमा भर्ना गर्ने वा तत्कालै अन्य कतै रिफर गर्ने वा इमर्जेन्सीमा पठाउने गर्न सक्छन्।
डेंगुका बिरामीमा देखिने मांशपेशी दुखाइ तथा ज्वरोको लागि पारासिटामोल वा पेनकिलरजस्ता औषधि खान सकिन्छ। यद्यपि आईबुप्रोफिन तथा एस्पिरिनजस्ता औषधि भने बिरामीलाई खुवाउनु हुँदैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij