२०८२ भाद्र २ गते सोमवार
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदाे साता इन्टरनेटमा आधारित सिमकार्ड (ई-सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ ।
हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई-सिम ल्याउन लागेकाे हो । त्यसका लागि आवश्यक सम्पूर्ण परीक्षण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
‘हामीले ई-सिमका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गरिसकेका छौं,’ टेलिकम स्राेतले भन्यो, ‘टेलिकम बोर्डलाई ई-सिमको बिक्री वितरणबारे जानकारी गराउनुपर्ने हुँदा त्यसैको पर्खाइमा अड्किएको हो । यो साताभित्र बोर्डलाई जानकारी गराउने र अर्काे सातादेखि सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ ।’
यसअघि टेलिकमले साउनमै यो सेवा सञ्चालनमा ल्याउने तयारी गरेकाे थियाे । तर, त्यसबेला बिक्री वितरण गर्ने मोडेलको तयारी नहुँदा ढिलाइ भएको उल्लेख गरेको थियो ।
तर, अब भने आवश्यक सम्पूर्ण तयारी सम्पन्न गरी सेवा सुरु गर्नमात्रै बाँकी रहेको टेलिकम स्राेतले उल्लेख गरेकाे छ ।
ई-सिमका लागि ग्राहक भौतिक रूपमा नै कार्यालयमा पुगेर लिनुपर्ने व्यवस्था गरिएको छ । सुरुमा भौतिक उपस्थितिलाई नै मान्यता दिइए पनि क्रमशः अनलाइनमा रूपान्तरण गर्ने कम्पनीकाे तयारी छ ।
कस्ता प्रयोगकर्ताले पाउँछन् ई-सिम
ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने डिभाइस आवश्यक हुन्छ ।
यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले ई-सिम प्रयोग गर्नसक्ने छन् भने नयाँ प्रयोगकर्ताले समेत ई-सिम लिनसक्ने टेलिकमले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij