२०८२ भाद्र १६ गते सोमवार
छँदै थियो व्यस्त दैनिकीको लुतेधन्दा । मनमा भने कुतूहलका अनेक ज्वारभाटा उठिरहेका थिए । नयाँ मुहारसँग परिचित हुन पाइने लालसाले पनि म कम पुलकित थिइनँ । निर्धारित समय अगावै आइपुगेछु स्काउटको मुख्यालय, लैनचौर । केही क्षणको प्रतीक्षा पश्चात् सुरु भयो सहभागीहरूलाई स्काउट पोसाक वितरण । शून्य समयलाई उपयोग गर्दै अपरिचित अनुहारसँगको परिचय साटासाट चलिरह्यो निकै बेर । बस कुर्ने पृथक् तर सिर्जनशील मेलो पनि थियो त्यो । तोकिएको कोटाअनुसार महानगरमा कार्यरत सम्पूर्ण शिक्षक सामेल छन् । तीनवटा गाडी तम्तयार छन्, हामीलाई ककनी पुर्याउन । प्रशिक्षक र कोर्स लिडरको पनि उत्साहजनक सहभागिता छ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको सीमाक्षेत्रबाट गुडिरहेछौँ हामी । घना जङ्गलले एकैसाथ सम्वाद र गुनासो गरिरहेको आभास हुन्छ । आखिर किन नष्ट गरिरहेछ प्रकृति मानव जातिले ? किन प्रदूषित बनाइरहेछ प्राणवायु जानीजानी ? किन निथ्र्याइरहेछ जलभण्डार निजी स्वार्थका खातिर ? भावी पुस्ताको जिउने हक किन खोसिरहेछ बुझीबुझी ? सोधिएका भान हुने यावत् सवाल मेरा निम्ति अकथनीय थिए । अनुत्तरित गुडिरहेँ म एक तमासको सवारी घ्यारघ्यारसँगै । अन्तरमन्थन गरिरहेँ - ' वास्तवमा यात्रामा कुरेर भेटिएकालेभन्दा जुरेर भेटिएकाले बेसी खुसी दिन्छन् ।' पखेरामा लटरम्म पाकेका काफल र ऐँसेलुका पोथ्राले मलाई बालवयतर्फ फर्काए । सँगीहरूसँग रनवन डुलेको झल्को मेटाए । अतीतका अकुण्ठित दिनचर्यालाई सम्झाए । सिद्धिचरण श्रेष्ठको 'मेरो प्यारो ओखलढुङ्गा' ••• लाई स्मृतिचित्रमा जीवन्त उतारिदिएँ ।
गुन्गुनाएँ एक्लै -
'कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति ••••••।
तबमात्र झस्याङ्ग भएँ जब बस त्रिशूली जाने मार्ग छोडेर मोडियो ककनीतर्फ । आकाशभन्दा फराकिला सपना अटाउने नजर दौडाएँ बाहिरफेर । बेपत्ता दौडिरहेथे गन्तव्यहीन कुहिरो र गन्तव्य भेट्ने ताकमा हाम्रो सवारी । लतिकाहरू हल्लँदा हाम्रो आगमनलाई स्वागत गरेझैँ लाग्यो । गुल्जार थिए- क्षितिज तल्तिर देखिने गैरी खेत र वरिपरिका हरियाली वनपाखा । निमेषभरमै टुप्लुकियो प्रवेशद्वार । भोक,प्यासभन्दा कैयौँ गुणा ज्यादा थियो प्रकृतिसँग मितेरी गाँस्ने मेरो तिर्सना । स्वच्छ वायुसँग जिस्कने लालसा । कुहिरोसँग इतरिने चाह । अनुपम थियो प्राकृतिक छटा । आकाशले ओढेको थियो बादलको उपर्ना । त्यसैत्यसै मखलेल थियो हाम्रो टोली प्रकृतिको रम्यतालाई चुम्बन गर्न पाउँदा । उकुसमुकुस नेपाल खाल्डोको धुवाँधुलोबाट करिब एक हप्ता मुक्ति पाउँदा उन्मुक्त अनुभव गरेका थियौँ हामीले । बादलको बर्कोले बेरेकाले सूर्यदर्शन भएको थिएन । सिमलको भुवाझैँ चङ्गा थियो हाम्रो अन्तरहृदय ।
****
ककनी जाने प्रसङ्ग जुरेको थियो- स्काउटको आधारभूत तालिमका कारण । स्काउट अर्थात् सेवा,आज्ञाकारिता,एकता र सत्यवादिताको पर्याय । स्काउट- बालबालिकाको चरित्र निर्माण र आत्मविकास गर्ने एक शैक्षिक आन्दोलन । स्काउट- गरेर सिकिन्छ भन्ने व्यावहारिक शिक्षा । स्काउट- नाता,भाषा, भूगोल,जाति,धर्म,वर्ग आदिबाट पृथक् रही स्वयंसेवी भावनाद्वारा उत्प्रेरणा जागरण गर्ने शालीन अभियान । यिनै र यस्तै सकारात्मकताले ओतप्रोत नेपाल स्काउटको कोर्स नम्बर ४८८औँ , ४८९औँ बीटीसी र ३५७औँ पीटीसी तालिम गत ज्येष्ठ १८-२३ सम्म नेपाल स्काउटको अन्तर्राष्ट्रिय स्काउट केन्द्र ककनी, नुवाकोटमा सञ्चालन भएको थियो । वनभोज र सुस्ताउनका निम्ति सुपरिचित गन्तव्य हो ककनी । स्काउटका संस्थापक बेडेन पावेल भन्नासाथ मेरो माथ सम्मान र गर्वले झुक्ने गर्छ । सेवा, सहभागिता, सहकार्य, सद्भावना, मितव्ययिता र विनम्रताका प्रतिमूर्ति हुन् उनी । आज झन्डै एक सय सत्तरी देशमा सञ्जाल फैलाएको स्काउट बालबालिका र युवा जमातका निम्ति नि:स्वार्थ सेवाको सजीव दृष्टान्तका रूपमा खडा भएको छ । बेलायतका तत्कालीन एक सैनिक अधिकृत पावेलले माफेफिङ नाकाबन्दीताक सूचना आदानप्रदान र दुश्मनको जासुसी गर्ने कार्यमा किशोरहरूले उनलाई गरेको हार्दिक सहयोगबाट उत्प्रेरित हुँदै खडा भएको परोपकारी संस्था हो- स्काउट । यसको नेपालीमा शाब्दिक अर्थ हुन्छ- 'सुराकी' वा 'चियोचर्चो गर्नु' । यसबाट कोसौं पर रहेर एउटा सैन्य अधिकृतको दिमागमा फुरेको सहयोगी भावनाबाट यत्रो परोपकारी संस्था प्रारम्भ हुनु वस्तुतः चानचुने परिघटना हो भन्ने मलाई लाग्दै लाग्दैन ! 'बन्द कोठाभित्र बस्ने मानिसको सोच सङ्कुचित हुन्छ' भन्ने पावेलको कथनले उनको उदात्ततालाई थप प्रतिविम्बित गर्छ । यही असाधारण कर्मलाई कदर गरेर होला, स्काउटिङ स्थापनाको सय वर्ष पुगेको पुनीत उपलक्ष्यमा लाङटाङ उपत्यका क्षेत्रमा अवस्थित ५,८२५ मि• अग्लो उर्किमा चुलीलाई तत्कालीन सरकारले बेडेन पावेल हिमशिखर नामकरण गरेको थियो । पावेलको सम्मानका निम्ति चालिएको यो कदम स्काउट सम्बद्ध संसारभर छरिएर रहेका तमाम सदस्यका निम्ति असीम प्रसन्नताको विषय हो भन्ठान्छु म ।
*****
कामपाले व्यवस्थापन गरेको यो तालिम मेरो निम्ति भने पुनर्ताजगी तालिम बन्यो । पत्तै थिएन आफैँलाई करिब चार वर्ष अगावै दोलखाको मेलुङ गा•पा•ले दिलाएकै तालिम रहेछ यो भन्ने । उति बेला पनि कम रमाइलो अनुभूत गरेकी थिइनँ मैले । अरु सहभागीहरूलाई हेरेर कल्पन्थेँ- 'समुद्र त आखिर उही न हो तर त्यसमा कसैले माछा खोज्छन् त कसैले मोती ।' म मोतीको ताकमा थिएँ ऊ बेला । मेरो तालिम अवगत भऐरै त होला, ककनी तालिमका कोर्स लिडर र प्रशिक्षकले मलाई काउन्सिलरको अभिभारा दिनुभयो । बेहद हर्षको विषय थियो त्यो मूलतः मेरा लागि । मलाई सुम्पिइएको दायित्व जेनतेन पूरा गर्ने यत्न पनि गरेँ । आखिर ज्ञानलाई प्रयोगमा ल्याएपछि न होइने हो पोख्त । तसर्थ मेरो बुताले भ्याएसम्म सीप सिक्न कञ्जुस्याइँ गरिनँ भन्ने छ स्वमूल्याङ्कन । मानवीय मूल्यहरू खस्कँदै गएको वर्तमानमा संस्कारसहित्को शिक्षालाई जोड दिनु भनेको अनुकरणीय कुरा हो । तसर्थ पनि अनन्त खुसी भएकी हुँ म चाहिँ । 'आफू असल बनेर मात्र तिमी प्रेरक बन्न सक्छौ ।' भन्ने अज्ञात दार्शनिकको कथनले झक्झक्याइरह्यो मलाई ककनी बसाइँ अवधिभर । ठिक समयमा ठिक काम गरेर जीवनलाई स्वस्थ र व्यस्त राखी समाज र सिङ्गो देशलाई परिवर्तन गर्नुपर्छ भन्ने ऊर्जाशीलता लियौँ सारा सहभागीले । स्काउट सहकार्य र सामूहिकतामा सञ्चालित हुने हुनाले प्याट्रोलको विभाजन गरिन्छ । रोचक कुरा त के छ भने महिला सदस्यको नाम चराको नामबाट र पुरूषको जनावरबाट राखिन्छ ।विशेष गरी छदेखि आठ जना सम्मको एउटा प्याट्रोलमा राखिन्छ । प्याट्रोल प्याट्रोल मिलेर ट्रुप बन्दछ भने नेतृत्वको गुण भएकालाई नेतृत्व दिइन्छ । त्यसरी नै अर्को रोचक पाटो थियो धर्मसभा । हुनत स्काउटलाई क्रिस्चियन धर्म प्रचार गर्ने थलो बनाउन लागेको भन्ने आरोप पनि यदाकदा सुनिन्छ किन्तु ककनीको माहोल हेर्दा भने यो आरोप निराधार सिद्ध हुन्छ । त्यहाँ आआफ्ना धर्म-सम्प्रदायलाई आफूले मान्ने गरेका देउदेउता सम्झी आराधना गर्ने भजन गाउने, टीका लगाउने र प्रसाद ग्रहण गर्ने कार्य भयो जुन धर्मसभा थियो । धार्मिक सहिष्णुताको भावना विकास गर्न यस्तो कार्यक्रम गरिएको प्रस्ट थियो ।
*****
चाहे तालिमका बीच खेलिने खेल हुन् वा रमाइला गीत,सङ्गीत - यी सबैले हामीमा ऊर्जा भरे र पुनर्ताजगी बनाए । शिक्षा क्षेत्रमा लामो समय व्यतीत गर्ने प्रखर शिक्षक शिक्षिकालाई आफ्नो पकडमा राख्नु चानचुने विषय थिएन । बोल्ने बढी र सुन्ने कम वानी परेका शिक्षकहरूलाई जसरी मातहतमा राखी नेतृत्व प्रदान गरी नेतृत्व विकास गर्ने यत्न असामान्य हो झैँ लाग्छ मलाई चाहिँ । यही कष्टसाध्य कामलाई कुशलतापूर्वक सञ्चालन गरी जुन सुझबुझ देखायो लिडरसिपले, स्तुत्य र अनुकरणीय थियो, छ र हुनेछ । लुकेका प्रतिभालाई निर्बाध प्रस्फुटन गर्ने वातावरण तयार गर्ने नेतृत्व र आफ्ना प्रतिभा प्रस्तुत गर्न जमजमाउने सम्पूर्ण सहभागी स्मृतिचित्रमा रहनुभयो अमिटरूपमा । पदयात्रा गर्दाका मननीय र व्यावहारिक तौरतरिका हुन् वा झटपट खाना तयार गर्नुपर्दाका - सबैसबै अविस्मरणीय रहे मेरा मानसमा ! पदयात्रा गर्दा ऐंसेलुका झ्याङसँगमात्र इतरिएन, काफलका पोथ्रासँग पनि जिस्कन भ्याइयो । छिनभरमै परिवर्तित हुने मौसमसँग मात्र नाता गाँसिएन, आकाशबाट अनपेक्षित झरेका मोतीदानासँग पनि लहसिइयो । पाँच दिन पो बितिसकेछ; पाँच घण्टा व्यतीत भएझैँ समेत लागेन ! सहभागीहरू त एउटै परिवार पो प्रतीत हुन थालेछ पत्तै नपाई । मित्रताको सघनता ह्वात्तै झाँगियो,आयतन स्वाट्टै बढ्यो किन्तु गहिराइ कति भयो भन्ने चाहिँ हाम्रा आगामी कदमले मापन गर्नेछन् । बोझिल मन लिएर हुँदै गरेको हाम्रो प्रत्यागमन चिहाइरहेको थियो ओरालिएको अरुणिमाले •••••।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij