२०८२ भाद्र २५ गते बुधवार
गोरखा जिल्लाका ३ स्थानीय तहका एक सय ४० करार कर्मचारी एकसाथ बेरोजगार बनेका छन् । धार्चे, गण्डकी र भीमसेन थापा गाउँपालिकाका करारका कर्मचारीको सेवा अवधि आइतबारबाट नथप्ने सम्बन्धित गाउँ कार्यपालिकाबाट निर्णय भएको छ ।
जनप्रतिनिधिले कार्यपालिका र गाउँसभामा बहुमतको दुरुपयोग गर्दै करार सेवाका कर्मचारीलाई राजनीतिक प्रतिशोध साँधेको आरोप समेत लागेको छ ।
गण्डकी गाउँपालिकाको बिहीबारको कार्यपालिका बैठकले ७० जना करारका कर्मचारीको सेवा करार म्याद नथप्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयनका लागि शुक्रबारको गाउँसभामा पेस गरी बहुमतले अनुमोदन गरेको छ । ‘सेवा करार नथप्ने निर्णय आइतबारबाट लागू हुन्छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले भने, ‘रिक्त पदमा कर्मचारी राख्नेरनराख्ने वा कति राख्ने अबको कार्यपालिका बैठकले ठोस निर्णय लेला ।’ उक्त निर्णयसँगै कृषि, पशु, रोजगार, सूचना प्रविधिलगायत कर्मचारी सेवाबाट हट्ने छन् ।
धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेका अनुसार विद्यालय कर्मचारीसहित सेवा करारमा गाउँपालिकाभरि ६८ जना छन् । ‘पाँच वर्षभन्दा अघिदेखिका कर्मचारी पनि छन्, एक डेड वर्ष अघि नियुक्ति लिएकाहरू पनि छन्,’ उनले भने, ‘सबै करारका कर्मचारीको म्याद नथप्ने निर्णय भएको छ ।’ विद्यालयका शिक्षक, कर्मचारी, वडा कार्यलय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाइ, आयुर्वेद औषधालय, पशु शाखा, कृषि शाखा, सवारी चालक, कार्यलय सहयोगीको करार अवधि साउन १ बाट नथप्ने कार्यपालिका बैठकबाट निर्णय भएको छ । करार सेवाका कर्मचारीको म्याद नथप्ने निर्णय कार्यपालिका बैठकले गरेको हो ।
भीमसेन थापा गाउँपालिकाले ६ जना करार सेवाका कर्मचारीको म्याद साउन १ बाट नथप्ने असार २९ को कार्यपालिका बैठकबाट निर्णय गरेको छ । ३० गतेको गाउँसभाले उक्त निर्णय अनुमोदन गरेको हो । तीनवटै पालिकाको कार्यपालिका र गाउँसभामा बहुमत भएपछि निर्णय कार्यान्वयन गराउन पनि गाउँपालिका अध्यक्षलाई सहज बनेको छ ।
भीमसेन थापा र गण्डकी गाउँपालिकामा करार सेवाका कर्मचारी हटाउने निर्णयको प्रस्ताव पेस भएदेखि नै अध्यक्ष र उपाध्यक्षबीच विवाद बढेको छ । अब आवश्यकताअनुसार कर्मचारी पदपूर्ति गर्ने गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले बताए ।
‘करार सेवाका कर्मचारीको म्याद सकिएपछि धन्यवाद दियौँ, अब आवश्यक प्रक्रिया पूरा गरेर कार्यसम्पादन, क्षमता हेरे आवश्यकताका आधारमा पदपूर्ति हुन्छ,’ उनले भने, ‘नयाँ पदपूर्ति गर्दा अहिलैको ट्रेनिङ प्राप्त कर्मचारी पनि हुन सक्छ ।’ करार सेवाका कर्मचारीले भने पालिका निर्णयको विरोध गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij