Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

आँखामा बसेको चिसापानी

आँखामा बसेको चिसापानी


  • 20.3K
    Shares

    आँखामा बसेको चिसापानी
    images

                    “मैले विश्वविद्यालय टप गरेको खुशियालीमा हजुरलाई घुमाउँन लाने योजना बनाउँदै ठूलो मम्मी !”

                    बिहानै फोन गरेर सुखद कुरा सुनाइन् आस्थाले ।

                    कोभिड–१९ को महामारीले लामो समयसम्म लकडाउनको पिँजडामा बन्दीजीवन बिताउन विवश थिएँ म । ममात्रै होइन सम्पूर्ण मानवजाति नै बन्दी भएको थियौँ । प्रकृतिसित लुट्पुटिने मेरो चाहनालाई कुन्ठित बनाएको थियो लकडाउनले ।

                    आस्थाको प्रस्तावले खुसीको सञ्चार हुन्छ मेरो मनमा । र पुतली झैँ फुर्फुराउन थाल्छु म ।

                    “कहाँ लैजान्छौ र ? उत्सुकताका साथ सोधेँ मैले ।

                    “हिमाल देखाउन ।” उनको जवाफ पाउँछु म ।

                    “ओहो ! तिमीले त मेरो मनकै कुरा भने जस्तै लाग्यो नि छोरी !

                    “छोरी भएपछि मनको कुरा  बुझ्नै पर्यो नि हैन र ठुलो ममी !” 

                    रगतको नाताजस्तै प्रिय हुँदोरहेछ भावनाको नाता पनि । एउटै कोखबाट जन्मेका दिदी बहिनीजस्ता छौँ उनकी मम्मी भवानी र म । भवानीको भावनाले यति धेरै नजिक बनाइदियो कि मलाई आफ्नै छोरीझैँ लाग्छे आस्था ।

                    “कुन ठाउँमा जाने नि ? ” मेरो कुतूहल ।

                    “चिसापानी ।”

                    सुनेकी थिएँ– हिमालको लस्कर हेर्न र सूर्योदय अवलोकनका लागि राम्रो ठाउँमध्येका हो– चिसापानी ।

                    “हुन्छ नि !” स्वीकारोक्ति हुन्छ मेरो ।

                    “हजुरको मनसुवा मात्रै बुझेकी हुँ ।  जाने दिन  टुङ्गो लागेपछि खबर गर्छु ।” उनले भनिन् ।

                    उनको कुराले हावा झैँ बतासिँयो मेरो मन । सुनाखरीझैँ फूल्न थाल्यो ।

    20200318_140947(1).jpg

    ०००

                    असोज २२ गते ।

                    बिहान सात बजे नै काठमाडौँको तीनकुनेबाट ट्याक्सी चढेर लाग्यौँ सुन्दरीजलतर्फ । हामी थियौँ– भवानी, आस्था र म । भीडभाड कम गर्न सरकारले जोर–बिजोरको नियम लागू गरेकोले कमै मात्रामा गुडेका देखिन्थे सवारीका साधनहरू । आधा घण्टामै सुन्दरीजल पुर्याइदियो ट्याक्सीले ।

                    बराहचोकबाट लागियो उकालो ।

                    सबैभन्दा अगाडि थिइन् आस्था । सबैभन्दा पछाडि थिएँ म । भवानी थिइन् मेरोअघि । हिम्मतिली महिला हुन् उनी । कृषि विभागमा कार्यरत उनी कृषि विशेषज्ञ कार्यालयको कामको शिलशिलामा दुर्गम जिल्लाका अनगिन्ती डाँडाकाँडामा उकाली ओराली गरेकी छिन् उनले ।

                    शिवपुरी राष्ट्रिय निकुन्जभित्र प्रवेश गर्यौं हामी । ढुङ्गा छापिएको छ उकालोमा । बाटोको दायापट्टि छ– सुन्दरीजलको पानीलाई काठमाडौँ पुर्याउन बिछ्याइएको पाइप । यति ठूलो पाइपमा अटाईनअटाई पानी पठाउँदा पनि माग बमोजिमको आपूर्ति हुन सकेको छैन । मेलम्ची योजना पनि

    ‘भालुको उखान’ सावित हुने भइगयो ।  कहिलेसम्म अभावमा ज्यूनुपर्ने हो राजधानीबासीले ! तर्कना

    आइरहेथ्यो मनमा ।

                    बिहानीको चिसो मौसम । सुन्दरी खोलाको छङछङ आवाज, चराहरुको चिरचिर र वनस्पतीको मिठो सुवासले कसलाई पो मुग्ध नबनाउला र ! प्रकृतिको सौन्दर्यमा डुब्दै थिएँ म । संसारमा कुनै सुन्दर चिज छ भने– त्यो प्रकृतिमात्रै  हो । शब्द जति नै भए पनि प्रयाप्त हुँदैन प्राकृतिक सौन्दर्यको  बयान गर्न । 

                    हरिया पहाडको छाती टेक्दै हिँडिरहेका थियौँ हामी । खोलानाला निरन्तर बगिरहेका छन् आफ्नै गतिमा । हामी उकालो लागिरहेका छौँ आफ्नै गतिमा ।

                    उक्लँदै गर्दा बाटैमा आइपुग्यो सुन्दर झरना । परी बनेर चराहरूको सङ्गीतमा नाचिरहेझैँ लाग्यो मलाई ।

                    अगाडि उभिएर सेल्फि लिदै गरेकी छोरी आस्थाले भनिन्– ‘ठुलो मम्मी त कस्तो एकसुरे हुनु भएको !’

                    म त प्राकृतिक सौन्दर्यमा लठ्ठिएको रहेछु । साँच्चिकै मेरो मौनता भङ्ग गरिन् उनले । 

                    छिल्लिरहेको छहरालाई निकैबेरसम्म नियाँलेर उकालो लाग्यौँ हामी ।

                    पुगियो सैनिक पोस्ट । शिवपुरी राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक र हाम्रो बीचमा सम्वाद हुन्छ–

                    “कहाँसम्म जानु हुन्छ ?”

                    “चिसापानी ।”

                    “तपाइँहरू जान पाउनु हुन्न ।”

                    “किन ?”

                    “कोरोनाको कारणले हिँड्न रोक लगाइएको छ ।”

                    “सुन्दरीमाईको दर्शन गर्दै मुलखर्ककमा खाना खाएर फर्कन्छौँ नि त !”

                    “तपाइँहरुसँग परिचय–पत्र छ ?”

                    “भवानी बहिनीले आफ्नो परिचय–पत्र देखाइन् ।”

                    “ए, सरकारी कर्मचारी हुनुहुँदोरहेछ जानुस् ! ”

                    स्वीकृति दिए सैनिक जवानले । उनलाई धन्यवाद दिएर अघि बढ्यौँ हामी ।

                    लकडाउन खुकुलो भएपछि हिँडडुल पनि खुकुलो भएको हाला भन्ठानेका थियौँ हामीले । होइन रहेछ । धन्न भवानीसँग परिचय–पत्र साथमा थियो र काम लाग्यो । नत्र त्यहीबाट फर्कनुपथ्र्यो हामी ।

                    जङ्गललाइ छोडेर मूल सड्कमा पुग्यौँ । बाटाहरू तीनवटा छन् । कुन बाटो समात्दा मूलखर्क पुगिन्छ, थाहा थिएन । एकछिन त अल्मलियौँ हामी ।

                    “मूलखर्क जाने बाटो कुन हो दिदी ?” घाँसको भारी बिसाएर सुस्ताइरहेकी महिलालाई सोधेँ मैले ।

                    “यही त  हो नि मूलखर्क ।” मुसुक्क हाँस्दै जवाफ दिइन् ।

                    मुलखर्क पुगिसकेको पनि थाहा भएनछ हामीलाई ।

                    सुन्दरीजल टेक्नासाथ मुलखर्कको कर्मा होटलमा फोन गरेर खानाको अर्डर गरिसकेका थियौँ ।

                    “कर्मा होटल कहाँ छ ?” अर्को प्रश्न गरेँ ।

                    “उः त्यही माथिको त हो नि ।” एक कान्लामाथीको होटललाई औँलाले देखाउँदै भनिन् ।

    20200318_140421.jpg

                    पहिले नै अर्डर गरेकोले खाना ठिक भइसकेको होला भन्ने सोचेका थियौँ तर पाहुना नपुगकिन खाना बसाल्ने चलन रहेनछ । खाना तयार नहुन्जेल प्रकृतिको सेरोफेरोलाई नियाल्न थाल्यौँ । वरिपरि हरिया पहाडको बीचमा छ– शान्त र मनोहारी मुलखर्क । तल दखिन्छ– लमतन्न परेको सुन्दरीजल बजार । न धुवा छ, न धुलो । न गाडीको आवाज न मान्छेको कोलाहल नै । आहा,  बस्नु त यस्तो ठाउँमा पो ! मनमनै सोच्छु म ।

                    फरासिला रहेछन् होटलका साहुजी । उनका मिठामिठा कुराले एक घण्टा बितेको पत्तै  भएन ।  उनको होटलमा साहित्यकार र कलाकारहरूको बेलाबेलामा जमघट हुँदोरहेछ              ।

                    उनले भने– “कतिपय लेखक त पाण्डुलिपी तयार गर्न  यहाँ महिना दिनसम्म पनि बस्छन् ।”

                    यस्तो रमणीय ठाँउमा बसेर सिर्जना गर्न पाए त साँच्चिकै सुन्दर कृतिको जन्म हुन्थ्यो होला । मेरो मनले भनिरहेको थियो– केही दिन यहीँ बस्न पाएँ कतै म पनि मनको भावना कोर्न सक्थे कि ! तर रहर लागेको कुरा गरिहाल्न कहाँ पाइन्छ पाईन्छ र हामी महिलालाई । फगत् एउटा कल्पना मात्र थियो ।

                    खानापछि गन्तव्यतिरको बाटो सोझ्यायौँ ।  त्यतिबेला दिउँसोको बाह्र्र बजिसकेको थियो । 

                    “चिसापानी पुग्न कति समय लाग्ला ?” ओरालो झर्दै गरेका बटुवालाई सोधेँ ।

                    “तपाइँहरुलाई तीन घण्टा लाग्छ ।” उनको जवाफ ।

                    साँघुरो गोरेटालाई पछ्याउँदै छौं हामी  । गोरेटोभरि स्कुस लडिरहेका छन् । केहि दिन अगाडि किलोको पचासमा किनेको याद आयो । उता सहरमा तरकारीको हाहाकार छ । यता फालाफाल । ताजा स्कुसलाई गोडाले लत्याएर हिँडनु पर्दा अत्यैन्तै नमजा लागरिहेथ्यो मलाई । बरु यसलाई बजारसम्म  पु¥याए त हुन्थ्यो नि । दुई पैसा आर्जन पनि हुने । मान्छेले सस्तोमा तरकारी खान पनि पाउने । एकालाप गरेँ मैले ।

                    घना जङ्गलतर्फ लम्किरहेछ यात्रा । दायाँबाँया काँडेतारले घेरिएका छन् । प्रत्येक पाइलामा उन्यूको घारीले हामीलाई अङ्कमाल गरिरहेका छन् । फोटो खिचिदिने मानिस नभए पनि उन्यूको सामिप्यमा हामी तीनै जनाको सेल्फि खिचेर मनको प्यास मेट्दैछिन् छोरी आस्थाले । खसु्र, गुराँस, बाँझ र लिसोका  रुखहरू उभिएका छन् । वर्षामासमाका फूलहरू अझैँ मुस्कुराइरहेका थिए । मनले भनिहेको थियो– ‘यहाँसम्म आउँदा लालीगुँरास सिउरिन पाएको भए ! वसन्तमा फुल्ने फूल यति छिट्टै किन फुल्थ्यो र मेरै लागि ।

                    गोरेटो छेउछाउ मनग्य फलेका छन् मसिना राता फल । फलको नाम के हो थाहा छैन । टिपेर स्वाद लिन्छिन् आस्था । ठाउँ ठाउँमा भेटिएको विश्रामस्थलमा थाकेको शरीर बिसाउदै निरन्तर उकालिइरहेका छौ हामी । तन नपुगे पनि मन चाहिँ चिसापनी पुर्याउँछु म ।

                    बाटो हिँड्ने बटुवा एउटा पनि भेटिएका थिएनन् । त्यसो त बराह चोकमा पनि चहलपहल थिएन । अदृश्य कोरोना भाइरसले मुर्दाशान्ति पो ल्याइदियो त यो धर्तीमा । 

                    बाक्लो र अग्ला रुखहरुको उपस्थितिले आकाश छेलिएको छ । घामको प्रकासले हामीलाई छुन सकेको छैन ।  मौसम न हो । के भर हुन्छ र ! क्षणभरमै बदलिएर अहिल्यै पानी पर्लाजस्तो भइरहेको छ । चारैतिर अँध्यारोले छोप्दै गएको । लाग्छ– दिन ढल्न गइरहेको छ ।  यतिबेला भने म अलिक भयभीत बनेको छु ।

                    बाटो छेउछाउका घाँसहरू पनि सग्लो भएर उभिएका छन् । मानिसको आवतजावत पटक्कै नभएकको भन्ने जनाउ दिइरहेको छन् तिनले । त्यही घाँसको सहारा लिरहेका छौँ हामीले । सहाराको लागि बुटयान समाउन खोज्दा सिस्नुका झाल पनि समाउँन पुग्छौँ हामी । उतिबेला त पोल्या मज्जैले । पछि सम्झदा त एक्लै कति हाँस्नू !

                    आस्था र भवानीको अनुहारलाई नियाल्छु ।  उनीहरुका अनुहारमा पनि उस्तै डरका रेखाहरु सलबलाइरहेको देख्छु । निःशब्द भएका छौँ हामी ।

                    दिउसोको तीनमात्र बजिसकेको छ ।  तर साँझ भइसकेको भान भइरहेछ हामीलाई ।

                    “हामी महिलामात्रै हिँडने ठाउँ होइन रहेछ । हामीले अलि गल्ती गर्यौं कि !” म भवानीतिर हेर्दै सोध्छु म ।

                    “डर लागेको हो र ?” मलाई प्रश्न गर्छिन् उनी ।

                    नाजवाफ हुन्छु म ।

                    ठानेँ– आफुभन्दा सानाका अगाडि के डराएको जस्तो गर्नू !

                    “किन डराउनु पर्यो र ! विदेशी महिला त एक्लै हिमाली यात्रामा निस्कन्छन् । हामी तीन जना छौँ ।”          उनी मलाई आश्वस्त पार्न खोज्छिन् उनी ।

                    चार घण्टा भैसक्यो हामी जङ्गल भित्रै थियौँ ।

                    “हामीले बाटो त भुलेनौँ ?” । म आस्थातिर प्रश्न तेस्र्याउछु ।

                    “भुलेका छैनौँ होला । बाटो नछोडि जाऊँ न ! कसो नभेटिएला र बस्ती ?” उनी ढुक्क हुँदै जवाफ दिन्छिन् ।

    20200318_133137.jpg

                    पानीको मसिनो  बाछिटाले हाम्रो शहरीरलाई सिञ्चित गर्दैछ । यो घनघोरको कालो जङ्गलमा पानीले पनि हामीलाई तर्साउँदै छ । हिंस्रक जनावरसँग जम्का भेट भयो भने ? अकस्मात् अत्तालिन पुगे म । साँच्चै त्यस्तो भयो भने परिवारले हाड्डी पनि भेट्टाउदैनन होला । बाघ र भालुको स्वादिष्ट व्यञ्जन  बनने छौँ हामी । डरले काँडा उम्रिएथ्यो मेरो  शरीरमा ।

                    पसिनाले शरीर भिजेको छ । तिर्खाले ओठ मुख प्याकप्याक सुकेको छ । जलकण बदलिएर आकाशबाट धारोको रुप लिन थालेको छ । धन्न दुइवटा भए पनि छाता बोकेका थियौँ । शरीरलाई जोगाउन नसके पनि शिरलाइ जोगायौँ हामीले ।

                    “आम्मै, म त मरेँ !”

                    पछाडि रहेकी भवानीको चिच्याहटले हठात् मुटु धड्किन्छ मेरो । मेरो दिमागमा हिंस्रक जनावर आउछ ।

                    त्रसिद हुदै पछाडि फर्केर हेर्छु, उनलाई सुम्सुम्याउन पुग्छु र सोध्छु– “के भयो ? किन अत्तालिएकी ?”

                    रगतले लछप्कै भिजेको पाइन्ट देखाइन् उनले ।  जुकाले नराम्ररी भ्याएछ ।

                    मैले उनको नलीखुट्टामा टाँसिएको जुका निकालेर डर भगाइदिएँ । 

                    पानीसँगै जुकाको पनि वर्षा हुन थाल्यो  । आस्थाको पनि शरीरभरि जुका देखिन थाल्यो  । उनी संयमित भएर आफ्नो जुका टिप्छिन् । म पनि कहाँ अछुत रहन सकेँ र । जुका टिप्दै फ्याँक्दै ।

                    लाङटाङको यात्रापछि जुकासँग मेरो मित्रता बढेको थियो । त्यतिबेलाका मेरा यात्राका सहयात्री गीता रेग्मी र प्रभा बरालले मेरो जुका फोविया आतङ्कको भिडियो खिचेर प्रस्तुत गरेपछि त म छक्कै परेँको थिएँ ।  उनीहरूसँग भेट हुदाँ जुकाको प्रसङ्ग निस्किन्छ । जाबो जुकासँग कत्ति डराएछु जस्तै लाग्ने । रमाइलो लाग्छ विगतलाई सम्झँदा ।

                    अव म निडर भइसकेको छु ।  जुकाको स्पर्शलाई सहजै स्वीकार्ने मेरो बानी बनिसकेको छ । सधैँ डराएर जुका फोविया बन्नु पनि त भएन नि ।

                    मुलखर्कबाट हिँडेको चार घण्टा भइसक्दा चिसापानीको अत्तोपत्तो छैन । भिजेका शरीर लुगलुग काम्दै जुकाको टोकाइ सहदै लम्किदै छौँ ।

                    “वाह ! अब बस्ती भेटिने भयो ।” खुसीले कराइन्  आस्था ।

                    उनले भनिन्– बाइकको आवाज आइरहेको छ । बस्ती पनि भेटिएला नि त । ”

                    सही थियो उनको कुरा । मनमा खुसीका तरङ्गहरु तरङ्गित भए । रमाउदै पाइला चाल्यौँ हामीले  ।

    20200318_152914.jpg

                    दश मिनेट हिँडेपछि गाडी गुडने कच्ची मुलबाटो भेटियो । ओहो, अब भने बाँचियो जस्तै लाग्यो । भगवान्लाई धन्यवाद दिएँ । दुइवटा बाइक र तिनका चालक सडकको मध्यभागमा हिलोमा गाडिन्थे र बल्लबल्ल उठ्थे  । फेरि पछारिन्थे । निकैबेरको प्रयासपछि हिलोबाट उम्के । तर बाइक भने उठाउन सकेनन् । उठाउने प्रयास गर्दा फेरि पछारिन्थे । हामी मुकदर्शक बनेर हेरिरहयौँ । टिठ लाग्दो भए पनि सहयोग गर्न सक्ने अवस्था थिएन हाम्रो ।

                    पुगियो चिसापानी ।

                    नुवाकोट र सिन्धुपाल्चोकको सिमाना हो चिसापानी । सडकको एउटा किनार नुवाकोट र अर्को किनार सिन्धुपाल्चोक । दुई जिल्लाको भुभागलाई सडकले छुट्याइदिएको छ  । गोँसाईकुण्ड जाने र आउने यात्रीहरू बास बस्ने जङ्सन हो यो ।

                    ०७२ सालको महाभुकम्पले खण्डहर बनेका भग्नावशेषहरु थिए यत्रतत्र । भुकम्पले थचक्क बसेका संरचनाहरु देख्खा नमिठो लाग्यो मलाई । धेरैबेर हेर्न सकिनँ मैले ती दृश्य ।

                    मूलखर्कका होटल साहुले फोन गरीदिएका थिए हामी आउदै छौं भनेर लाक्पा दोर्जे होटलका साहुलाई । बाटोसम्म स्वागत गर्न आए उनी ।

                    “धेरै ढिलो पो गर्नुभयो त ?” हामीलाई भेट्नेबित्तिकै सोधनी गरे ।

                    “बाटो अति अप्ठयारो रहेछ ।” हाम्रो जवाफ ।

                    “माथिल्लो बाटो पो आउनु भएको ?”

                    “हजुर । ” ।

                    “तल्लो गाडी गुडने बाटो आउनु पथ्र्यो नि । अहिले त कोही पनि हिडदैनन् त्यो बाटो ।”

                    थाहा भयो, बाटो भुलेर पो रहेछ ढिला भएको । मानिस नहिँडेकोले बाटोभरी उमे्रको रहेछ ढड्डी घाँस र सिस्नु ।

                    उनी भन्थे– “हामी केटा मानिस त अहिले त्यो बाटो हिँडन डराउछौ ।”               

                    केटा मान्छे हिँड्न डराउने ठाउँमा हिँड्दा ठूलै बहादुरी गरेको अनुभूति भयो मलाई । जे होस्, चिसापनी २,१०० मिटर छिचोलेकोमा युद्ध जितेजस्तै  भएको थियो ।

                    “हामी हिमालको दर्शन गर्न आएका छौँ कताबाट राम्रौसँग हिमाल देखिन्छ ? साहुजीलाई सोध्यौँ ।

                    “छतबाट । तपाइँहरु बस्ने  कोठाको झ्यालबाट पनि देखिन्छ ।  तर मौसम चाहिँ खुलेको हुनुपर्छ ।”

                    आस्थाले नाचगान गर्नपर्छ भनेकी थिई । मनले चाहे पनि थाकेको शरीरले मानेन नाचगान गर्न । आठ नबज्दै निद्रादेवीको शरणमा पुग्यौँ हामी ।

                    भोलिपल्ट ।

                    बिहान ६ बजे ब्यूझेर झ्याल खोलेँ । बाक्लो हुस्सु पो लागेको रहेछ । हिमाल हेर्ने सपना तुहियो भन्ने लाग्यो मलाई । मौसम हो, खुल्न पनि त सक्ला नि ! थोरै आशावादी पनि थिएँ म ।

                    सात बजेतिर डाइनिङमा भेट भयो हामी तीनै जनाको । साहुजीले कालो चिया ल्याइदिए । चिसो ठाउँमा तातो मसलेदार चिया पिउँदाको मज्जा नै बेग्लै ।

                    “चिया त निकै स्वादिलो छ । के मसला राख्नुभएको हो ?” मैले सोधेँ ।

                    “यो गोप्य कुरा अरुलाई भन्यो भने चियाको स्वादनै हराउछ रे हजुर ।”

                    मसलाको नाम भनेनन् उनले । लाग्यो– ठिकै छ । नभने के भो त ! मिठो चिया पिइहल्यौँ क्या रे !

                    बाहिर बाक्लो हुस्सु लागिरहेको थियो । त्यहीबेला खिन्नताको तुवालो मडारिरहको थियो हाम्रो मनभित्र  । यहाँसम्म आएर हिमाल हेर्न पाईएन भने त ब्यर्थ नै  हुने भयो । मनमा यस्तैयस्तै कुरा खेलिरहेको थियो ।

                    केहीबेरपछि होटल साहुजीले भने– “बाहिर हुस्सु हटदै छ । उनका कुरा सुनेपछि हाम्रो मनको तुवालो पनि स्वाट्टै हट्यो ।

                    हामी हिमाल हेर्ने लालसाले हुरुरु बाहिर निस्क्यिौँ । निकैबेरको प्रतिक्षापछि हिमदेवता मुस्कुराउँदै हामीलाइ दर्शन दिन थाले । हामी मन्त्रमुग्ध हुँदै खुसीले बेसरी चिच्यायौँ । मनोहारी हिमालको सौन्दर्यमा डुबुल्की मारिरह्यौँ ।

    View-from-Chisapani-1.jpg

                    होटल साहुजीले हिमाल चिनाउँदै गए– ल हेर्नुस् ! उः त्यो गणेश हिमाल । त्यो लाङटाङ त्यो दोर्जे लाक्पा । त्यो  गौरी–शङ्कर हिमाल । हामी मोहित भयौँ हिमालहरूको दृश्य हेरेर । मैले एकनासले हिमाललाई हेरिरहँदा हठात् गाउँन पुगेँ गायक रामकृष्ण ढकालको कालजयी गीत –

                    “बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस्”

                    यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ..।”

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - ०९:१८:३८ बजे
    प्रतिक्रिया

    सरस्वती अर्याल

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij