२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह) लाई मंगलबार नवलपुर लगिएको छ।
नाबालिग बलात्कार अभियोगमा अनुसन्धान गर्न तनहुँबाट पललाई नवलपुर लगेको नवलपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरीले बताए।
१७ वर्षीय नाबालिग गायिकालाई पटकरपटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर प्रहरीमा पीडित परिवारले उजुरी दिएका थिए।
नवलपुर प्रहरीमा दिएको उजुरीमा नाबालिग गायिकालाई गीतको म्युजिक भिडिओ सुटिङका क्रममा पलले गत चैत ७ गते गैंडाकोटमा बलात्कार गरेको उल्लेख छ।
उजुरीमा आरोपित पलले एकै दिनमा सकिने म्युजिक भिडिओ सुटिङको काम लम्ब्याएर दुई दिन लगाएको र होटलमा मादक पदार्थ खुवाएर बलात्कार गरेको उल्लेख छ।
पीडित नाबालिगका तर्फबाट परिवारले फागुन १६ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए। त्यही दिन पीडित नाबालिगको भरतपुरमा स्वास्थ्य परीक्षण गरेको नवलपुर प्रहरीले जनाएको छ।
यता, तनहुँ प्रहरीले पनि पलविरूद्ध अनुसन्धानको काम जारी रहेको बताएको छ। तनहुँ र नवलपुरबाट एकैसाथ अनुसन्धान अघि बढाएको नवलपुर प्रहरीले जनाएको छ।
नाबालिगले तनहुँ प्रहरीमा गत ११ गते पलविरूद्ध बलात्कार उजुरी दिएका थिए। उजुरी परेपछि फरार भएका पल १५ गते तनहुँ प्रहरीसमक्ष पुगेर आत्मसमर्पण गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij