२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । काठमाडौंको टोखा क्षेत्रमा एक दम्पत्तिको घरभित्रै शव फेला परेको छ। ललितपुरका स्थायी ठेगाना भएका उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरीको शव फेला परेको हो।
उनीहरु टोखाको एक हाउजिङमा भाडामा बस्दै आएका थिए। दुवै जना इन्जिनियर हुन। उमेश ३ महिना अघि मात्रै अमेरिकाबाट नेपाल आएका थिए। भने अबको ५ दिने अर्थात १४ जनवरीमा अमेरिका उड्ने तयारी गरिरहेका थिए।
आफन्तका अनुसार उनीहरुको सम्बन्ध राम्रै थियो। तर, शनिबार उमेशको शव खाँटमा सुतेको अवस्थामा र सुदीक्षाको पासोमा झुण्डिएको अवस्थामा शव फेला पर्यो। प्रहरीले घटनाबारे शुक्रबार राति ९ बजे मृतक सुदीक्षाका आफन्तबाट जानकारी पाएको थियो।
घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थल पुगेर बिहान २ बजे दुबैको शव मुचुल्का गरेर पोष्टमार्टमका लागि उठाएको थियो। प्रहरीले प्रारम्भीक अनुसन्धानमा घटना श्रीमान–श्रीमतीको आपसी झगडाका कारण भएको दाबी गरेको छ।
पोष्टमार्टमका लागि उनीहरुको शव शिक्षण अस्पतालमा राखिएको छ। जानकारी नै नदिई हतार गरेर रातिनै शव उठाएको भन्दै उमेशका आफन्तले आशंका व्यक्त गरेका छन्।
उमेशका आफन्तका अनुसार उमेशको शव सडने अवस्थामा र उनको शरिरभरि निलाडाम र रगत लतपतिएको फेला परेको हो। तर बुहारी सुदीक्षाको शव भने ताजै अवस्थामा रहेको छ।
घटनास्थलमा ढोका बन्द अवस्थामा रहेपनि पछाडीको ढोका फोडेर कोही प्रहरी पुग्नुअघि नै प्रवेश गरेको जस्तो देखिएको समेत आशंका गरिएको छ।
प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान थालेको छ। घटनाबारे जानकारी दिने सुदीक्षाकी सहोदर दिदीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij