२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा भर्चुअल करेन्सीले कानूनी मान्यता नपाएको भन्दै कारोबार नगर्न चेतावनी दिएको छ ।
छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीको कारोबार र विभिन्न कोषमा लगानी गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।
‘भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड वान, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले उक्त कारोबार गर्दा सर्वसाधारण ठगिने, पूँजी पलायन हुने भन्दै कारोबारमा संलग्नलाई कानुनी अनुसार कारबाही गर्ने केन्द्रिय बैंकले आफ्नो सूचनामा भनेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij