२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौँ । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएपछि बैंकहरु राष्ट्र बैंकको कारवाहीमा पर्ने भएका छन्। मर्जरको कारण बैंकका शेयरधनी भने मारमा पर्ने भएका छन्। मर्जरमा जाने सम्झौता गरेको करिव ९ महिनापछि मर्जर भाँडिदा बैंकहरु कारवाहीमा पर्ने भएका हुन्। नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्वीजिसन विनियमावली अनुसार मर्जर भाँडिएपछि बैंकहरु कारवाहीमा पर्ने छन्।
शुक्रबार हिमालयन बैंकको साधारण सभामा मर्जर सम्बन्धि एजेण्डा पास हुन नसक्दा दुई बैंकको मर्जर भाँडिने अवस्थामा पुगेको हो। मर्जरको लागि कायम स्वाप रेशियोमा चित्त नबुझेपछि सभामा मर्जर सम्वन्धि एजेन्डा अघि नै बढ्न सकेन। यसले गर्दा अव दुई बैंकको मर्जर भाँडिने निश्चित भएको छ। सभामा ३० प्रतिशतभन्दा बढी शेयरधनीले मर्जरको विपक्षमा भोट हालेपछि उनीहरुको मर्जर भाँडिने भएको छ।
मर्जर भाँडिएपछि अव विनियमावलीमा भएको व्यवस्था अनुसार कारवाही हुने छ। अब मर्जर भाँडिए पछि बैंकहरुले प्रस्तावित नगद लाभांश शेयरधनीलाई वितरण गर्न नपाउने,बैंकहरुले थप शाखा विस्तारमा समेत राेक लाग्ने लगायतका कारवाही हुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्।
मर्जरको कारण अहिले दुवै बैंकको शेयर कारोबार रोक्का छ भने अव बैंकले आफनो नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांशमा समेत रोक लगाउने छ। यसले गर्दा बैंकका शेयरधनीलाई भने थप मार पर्ने भएको छ।
यसैगरी राष्ट्र बैंकबाट पाउने नियामकीय सुविधा हिमालयन बैंकले पाउने छैन। गत बैशाखदेखि हिमालयन बैंकको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार समेत फुकुवा हुने छैन ।
अव बैंकहरुले अर्को बैंक खोजेर मर्जरमा गएर मर्जर सम्पन्न भएपछि मात्रै यी कारवाही फुकुवा हुने छ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकले गत बैशाखमा नै मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका थिए। बैंकहरुलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ। अहिले मर्जर सम्झौता भएको ९ महिनापछि दुई बैंक अलग हुने भएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij