२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । कि एडभरटाईजिङले यही सोमबारबाट नेपाली टेलिभिजनमार्फत हास्य प्रधान कार्यक्रम ‘कमेडी क्लब च्याम्पियन’ ल्याउने भएको छ । यस अघि की ले नेपाल टेलिभिजन मार्फत दुई वर्ष भन्दा लामो समय देखि कलाकार जितु नेपालसँग मिलेर मुन्द्रेको कमेडी क्लब सञ्चालन गर्दै आएको थियो । सोही क्रममा मुन्द्रेको कमेडी क्लब च्याम्पियनबाट फुलन्देकी आमालाई अर्को कार्यक्रममा अनुबन्धित गराएपछि मुन्द्रेको कमेडी क्लब बन्द भएको हो ।
अहिले मुन्द्रेको कमेडी क्लब नयाँ स्वरुपमा आउने तयारी हुँदैछ । यता कमेडी क्लब च्याम्पियन यही सोमबारबाट आउने भएपछि यसको प्रतिस्पर्धा मुन्द्रेको कमेडी क्लबसँग हुने भएको छ ।
दुई महिना अघि मुन्द्रेको कमेडी क्लब भन्द भएपछि कि एड्भरटाइजिङले स्ट्यान्डप कमेडी कार्यक्रम ‘कमेडी क्लब च्याम्पियन’ नेपाल टेलिभिजनबाट ल्याउन लागेको हो । मुन्द्रेको कमेडी क्लबका मुख्य मध्य एक कलाकार उमेश राई (फुलन्देकी आमा) अब कमेडी क्लब च्याम्पियनमा हुनेछन् । आफ्नो कारणले मुन्द्रको कमेडी क्लब बन्द नभएको र आफु माथि यो आरोप मात्र लगाएको फुलन्देकी आमाले कमेडी क्लब च्याम्पियनको पत्रकार भेटघाटमा प्रस्ट्याएका छन् ।
कमेडी क्लब च्याम्पियनको जिम्मा कमेडी च्याम्पियन टिमले लिएको छ । कमेडी च्याम्पियनको विभिन्न सिजनमा सहभागी भएका कलाकारहरु मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की, कैलास कार्कीको स्ट्यान्डप कमेडी अब कमेडी क्लब च्याम्पियनमा देख्न पाईने भएको छ ।
यो कार्यक्रमको निर्देशन विशाल भण्डारीले गर्दैछन्,‘हास्य प्रधान कार्यक्रमको लागि कमेडी च्याम्पियनबाट हाम्रा कलाकारहरुले दर्शकको मन जितिसकेका छन् । उनीहरुले कस्तो प्रहसन गर्छन भन्ने कुरा दर्शकलाई राम्ररी थाहा नै छ ।’ आफुहरुले कमेडी क्लब च्याम्पियनबाट त्यो भन्दा राम्रो प्रहसन गरेर दर्शकलाई अझ मनोरञ्जन दिने पनि निर्देशक भण्डारीले पत्रकार भेटघाटमा बताए ।
आफ्नो कार्यक्रमको नाम कमेडी क्लब च्याम्पियन भए पनि यस अघि प्रशारण भएको मुन्द्रेको कमेडी क्लब भन्दा यो कार्यक्रम केही फरक हुने पनि भण्डारीले बताएका छन् । यो कार्यक्रमलाई अब मुन्द्रेको कमेडी क्लब भन्दा अझ रोचक र प्रभावशाली बनाउने की एड्भरटाईजिङका सञ्चालकहरुले पत्रकार भेटघाटमा बताएका छन् ।
यता आफ्नो ब्रान्ड बनेको फुलन्देकी आमाको भूमिका कमेडी क्लब च्याम्पियनबाट निरन्तर आउने कलाकार उमेश राईले बताए,‘अब म फुलन्देकी आमा मात्र हैन, यो कार्यक्रममा फुलन्देको बाउको रुपमा पनि प्रस्तुत हुनेछु र दर्शकले मलाई विविध चरित्रमा देख्नु हुनेछ ।’ उनले पत्रकारसँग भने ।
कलाकार सुमन कार्कीले पनि यो कार्यक्रम आफुहरुका लागि चुनौती भएको बताए । चुनौतीलाई सजिलै पार गर्दै सकेसम्म उत्कृष्ट प्रस्तुति दिने प्रयास आफुहरुको रहने उनको दाबी छ ।
यता नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले अब हरेक सोमबार बेलुका ८ः५० बजेबाट नेपाल टेलिभिजनमा एक उत्कृष्ट कार्यक्रमको रुपमा कमेडी क्लब च्याम्पियन आउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।
यसरी नेपाल टेलिभिजनबाट हास्य प्रधान कार्यक्रम कमेडी क्लब च्याम्पियन आउँदै गर्दा कलाकार जितु नेपाल फेरी मुन्द्रेको कमेडी क्लव नै ल्याउने तयारीमा छन् । आफ्नो कार्यक्रम कुन टेलिभिजनबाट प्रशारण हुने भन्ने’bout अर्को साता खुलासा गर्ने उनले बताएका छन् ।
जितुका अनुसार अब मुन्द्रेको कमेडी क्लबको निर्देशन दिनेश डिसीले गर्ने भएका छन् । यो कार्यक्रम छायाँकनको लागि काठमाडौंको पेप्सिकोलामा नयाँ सेट बनाउने काम भईरहेको छ । सेट निर्माण सकिनासाथ कार्यक्रमको निर्माण सुरु हुने पनि उनले बताएका छन् । फुलन्देकी आमा बाहेक यो कार्यक्रममा जितु, करिश्मा मानन्धर सहित बाँकी पुरानै टिम हुनेछन् ।
यसपटकबाट केही अन्य हास्य कलाकार पनि थपिने उनले बताएका छन् । कार्यक्रमको नाम मुन्द्रेको कमेडी क्लब नै हुने र शैलीमा केही परिवर्तन हुने पनि कलाकार जितु नेपालले जानकारी गराए । मुन्द्रेको कमेडी क्लबको आफ्नै फरक शैली रहेकाले अन्य कमेडी कार्यक्रमसँग प्रतिस्पर्धा नहुने पनि उनले जिकिर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij