२०८२ भाद्र १६ गते सोमवार
नियात्राकार राजेन्द्रमान डङ्गोलको बहुचर्चित नियात्राकृति 'पैतालामा हिउँ, आँखामा हिमाल'को मन्थन तथा परिचर्चा कार्यक्रम राजधानीमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. रमेश भट्टराईले अनुभवका जीवन्त तस्वीर खिचिएको भन्दै यात्रा लेखनको नयाँ शैलीका रूपमा चित्रित गर्नुभयो । तथ्यलाई वर्तमानसँग जोड्न सके आगामी कृति थप परिष्कृत बन्ने उहाँको राय थियो। नियात्राकारले आफू उभिएको भूमि प्रस्ट पारे कृति थप उत्कृष्ट बन्ने उहाँले तर्क गर्नुभयो।
त्यसरी नै प्रगतिवादी कवि,समालोचक तथा आख्यानकार केशव पुडासैनी 'बिमल'ले नियात्राकार स्वयम् प्राकृतिक र सामाजिक पाटोको द्रष्टा र भोक्ता हुने हुनाले उसले इमानदार र जिम्मेवारीपूर्वक आफूलाई उभ्याउनुपर्ने जिकिर गर्नुभयो। नियात्राकार आफैँ श्रमजीवी वर्गको व्यक्ति भएकाले भुइँमान्छेको चस्माद्वारा हेर्दा पनि नियात्रा उदाहरणीय भएको उहाँको तर्क थियो। स्रष्टाले पाठकलाई आफू सँगसँगै यात्रा गराउन सफल भएकाले नियात्रा सबल भएको अर्की प्रगतिशील कवि तथा समालोचक डा.बिन्दु शर्माको दाबी थियो। सीमान्तकृत वर्गको समस्या उठानले कृतिको कद बढेको राय राख्दै काव्यिक र सान्दर्भिक शब्द चयनले कृतिको ओज बढेको उहाँले बताउनुभयो। त्यसरी नै नियात्राकार तथा समालोचक डा. रजनी ढकालले नियात्राकृति भूगोल र भावको यात्राको दोभान भएको प्रस्ट्याउनु भयो। उहाँले कैयन् मक्किएका सामाजिक नीति, नियमविरूद्ध तीखो व्यङ्ग्य प्रहार गरेर समाजलाई झकझक्याउन कृति सफल भएको दलिल पेस गर्नुभयो भने कवि तथा नियात्राकार भीष्म उप्रेतीले नेपाली नेपालीबीच भएको सम्वाद नेपाली भाषामै पस्कनु उपयुक्त भएको दाबी गर्नुभयो ।
प्रकृतिलाई मानवीकरण गरिएको यो कृतिले नेपाल चिनाउन सक्ने ल्याकत राख्ने कवि, गीतकार तथा समालोचक डा. गीता त्रिपाठीको कथन थियो । पर्यटन व्यवसायी बोधराज भण्डारीले पठन संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै स्थान परिचय ,आञ्चलिक कला, संस्कृति र धर्मबारे पुस्तकमा बोधगम्य ढङ्गबाट सामग्री पस्कनु प्रशंसनीय काम भएको स्पष्ट पार्नुभयो। अर्थतन्त्रका तीन खम्बामध्ये एउटा सबल खम्बा पर्यटनप्रति स्वयम् सरकार उदासीन भएका बेला साहित्यकारहरू यसप्रति सम्वेदनशील भएकामा सन्तोष व्यक्त गर्दै अर्थतन्त्र, साहित्य र पर्यटनलाई जोड्नसके देशले आर्थिक विकासमा फड्को मार्ने कार्यक्रम आयोजक तथा प्रायोजक राजेन्द्र सापकोटाको जिकिर थियो । नियात्राकार पवन आलोकले नियात्रा नवीन सोच र दृष्टिकोणका साथ आएकामा नियात्राकार डङ्गोललाई बधाई ज्ञापन गर्नुभयो ।
पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीले यो नियात्राकृति अध्ययन गर्न पैँतालीस लाखभन्दा बढी पर्यटन क्षेत्रसँग प्रत्यक्ष-परोक्ष सम्बद्ध सरोकारवालाहरूलाई आग्रह गर्नुभयो। नियात्राकार राजेन्द्रमान डङ्गोलले कार्यक्रम आफ्ना लागि विशेष पुरस्कार प्राप्त भएझैँ लागेको भन्दै आगामी कृति प्रकाशनपूर्व नै यस्ता खाले अन्तरक्रिया र मन्थनको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कवि तथा समीक्षक माधव घिमिरे 'अटल'ले कृतिकारको साङ्गोपाङ्ग परिचय दिनुभयो । प्रकाशन संस्था फिनिक्सका गणेश सुवेदीले उपल्लो थलो र हरियो साइकलपछि उत्कृष्ट लागेकैले 'पैतालामा हिउँ, आँखामा हिमाल' कृति प्रकाशन गर्न आफू तत्पर भएको अवगत गराउनु भयो । कार्यक्रमको सहजीकरण तथा समापन कवि तथा रेडियोकर्मी लक्ष्मी रूम्बाले गर्नुभएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij