२०८२ भाद्र ११ गते बुधवार
स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन्”, अधिकारीले भने ।
अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको तर स्वास्थ्यकर्मी भने नआइपुगेको अधिकारीले बताए । स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता छ ।
चिसो बढेपछि रुघाखोकी र भाइरल ज्वरोजस्ता स्वास्थ्य समस्या कैदीबन्दीमा देखिन थालेको अधिकारीले जानकारी दिए । उनका अनुसार विभिन्न रोगका कारण दैनिक चारपाँच कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल लैजाने गरिएको छ । कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणका लागि लैजाने गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij