Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ई–पासपोर्टको लागि अनलाइन आवेदन दिन कठिनाई, यस्ता छन् कारण

ई–पासपोर्टको लागि अनलाइन आवेदन दिन कठिनाई, यस्ता छन् कारण


  • 7.8K
    Shares

    ई–पासपोर्टको लागि अनलाइन आवेदन दिन कठिनाई, यस्ता छन् कारण

    काठमाडौँ । सेवाग्राहीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि अनलाइन आवेदन दिन निकै कठिन र झन्झटिलो रहेको गुनासो गरेका छन्। तर, परराष्ट्र मन्त्रालयअन्र्तगतको केन्द्रीय राहदानी विभागले ती गुनासो सम्बोधनका लागि ठोस कदम चाल्न सकेको छैन।  

    सेवाग्राहीले अहिले राहदानीका लागि अनलाइन आवेदन दिन समय पाउन निकै कठिन भइरहेको गुनासो गरेका छन्। अहिले विद्युतीय राहदानीका लागि आवेदन दिन विभागको वेबसाइट nepalpassport.gov.np मा गएर मिति र समय बुकिङ गर्नुपर्ने हुन्छ। जसले छिटो फर्म भरेर बुकिङ गर्न सक्यो, उसको पालो पहिला आउँछ।

    दैनिक सयौँ सेवाग्राहीले विद्युतीय राहदानीका लागि अनलाइन मार्फत् समय बुकिङ गर्न चाहेका छन्। तर विभागले चाहीँ प्राविधिक कारण देखाउँदै हरेक दिन एक सय भन्दा कम संख्यामा राहदानीका लागि बुकिङ खुला गरिरहेको छ। 

    जसका कारण सेवाग्राहीलाई असहज भइरहेको छ। हाल सेवाग्राहीले अनलाइन मार्फत् १५ दिनपछिका लागि समय बुकिङ गर्न सक्छन्।  राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले दुई साताभित्र अनलाइन बुकिङ आवेदन सहज हुने बताए। 

    ‘अबको दुई साताभित्र अनलाइन बुकिङमार्फत् राहदानीका लागि आवेदन दिने काम सहज बनाउँदैछौँ। त्यसका लागि हामी लागिपरेका छौँ,’ अर्यालले नेपालखबरसँग भने। अर्यालले १५ दिनपछि दैनिक तीन सय सेवाग्राहीको अनलाइन आवेदन दिनसक्ने व्यवस्था गरिने बताए। उनले मंसिर १५ गतेपछि अनलाइन बुकिङ संख्या उल्लेख्य रुपमा बढ्ने दाबी गरे।
      
    विभागले मंसिर १ गतेदेखि अत्याधुनिक विद्युतीय राहदानी जारी गर्न थालेको थियो। विद्युतीय राहदानी त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट मात्र जारी भइरहेको छ।

    काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट पनि ई–पासपोर्ट दिइने 
    विभागका महानिर्देशक अर्यालले आगामी बुधबारदेखि ललितपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने काम थाल्न लागिएको बताए। त्यसैगरी मंसिर तेश्रो साताबाट काठमाडौँ र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि विद्युतीय राहदानी वितरण गर्ने काम सुरु गर्ने तयारी रहेको उनले बताए। 

    विभागले ग्लोबल टेन्डरमार्फत् छनोट गरी फ्रान्सेली कम्पनी आइडेमियासँग २० लाख प्रति विद्युतीय राहदानी बुकलेट छपाइका लागि सम्झौता गरेको थियो। जसमध्ये ९ लाख प्रति चाँडै नेपाल ल्याउने विभागको तयारी छ। 

    ई–पासपोर्टका लागि कसरी आवेदन दिने? 
    विभागको वेबसाइटमा गएर विद्युतीय राहदानीको लागि निवेदन Apply for ePassport भन्ने बटन थिची प्रिइनरोलमेन्ट पोर्टल मार्फत फारम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नुपर्नेछ। 

    विभागले प्रिइनरोल गर्नुअघि सेवाग्राहीले आफ्ना सक्कल कागजपत्र जस्तैः नागरिकताको प्रमाणपत्र, पुरानो मेसिन रिडेबल राहदानी लिएको भए त्यसको फोटो भएको पृष्ठ, शैक्षिक प्रमाणपत्र अनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्र स्क्यान गरेर तयारी अवस्थामा राख्न अनुरोध गरेको छ। 

    राष्ट्रिय परिचयपत्र अनिवार्य 
    १६ वर्षमाथिका र नेपालमा निवेदन दिने सेवाग्राहीहरुका हकमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य रुपमा आवश्यक पर्ने विभागले जनाएको छ। देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिई तुरुन्त राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने हुनाले राष्ट्रिय परिचयपत्र लिन समेत बिभागले आग्रह गरेको छ। 

    विद्युतीय राहदानी उपत्यकाबाहिरबाट तत्काल वितरण नहुने 
    उपत्यका बाहिरबाट भने तत्काल विद्युतीय राहदानी वितरण नहुने राहदानी विभागले जनाएको छ। त्यस्तै उपत्यका बाहिरबाट पनि विद्युतीय राहदानीको आवेदन दिने समेत सम्भव नरहेको विभागका महानिर्देशक अर्यालले बताए। 

    मोबाइलबाट राहदानीका लागि फोटो नखिच्न आग्रह 
    विभागले मोबाइल वा क्यामेराले खिचेको तस्विरको साइज ठूलो हुने, नमिलेको हुने तथा अनावश्यक ब्याकग्राउन्ड आएको हुन सक्ने हुनाले स्क्यानरको प्रयोग गरेर सक्कल कागजजात नै स्क्यान गर्न आग्रह गरेको छ। नागरिकताको अगाडि र पछाडि छुट्टाछुट्टै स्क्यान गर्न विभागले आग्रह गरेको छ।

    ‘करिब ३०० डीपीआई (डट पर इन्च) र ४०० केबी भन्दा कम हुने गरेर स्क्यान गर्यो भने साइज मिल्छ। धेरै नै कालो खालको डकुमेन्ट छ भने सोभन्दा कम डीपीआई गरेर स्क्यान गर्न सकिन्छ। फोटोकपीबाट स्क्यान गरेको कागजात मान्य हुने छैन,’ विभागले एक सूचना जारी गर्र्दै भनेको छ। 

    आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्ला, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगमा राहदानीको लागि निवेदन दिन सकिने विभागले जनाएको छ। 

    फारम भरिसकेपछि मिति समय र निवेदन दिने ठाउँ छनोट गर्नुपर्नेछ। भरिसकेको फारम प्रिन्ट गर्दा आफूले बुक गरेको मिति र समय त्यसैमा प्रिन्ट हुने विभागले जनाएको छ। 

    आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु तथा विदेशस्थित नियोगमा जानु पर्दछ। तोकिएको मिति र समयमा गएमा धेरै लाइन बस्न तथा कुर्न नपर्ने विभागले जनाएको छ। 

    अनलाइनमार्फत् मिति र समय बुक नगरी जाने सेवाग्राहीहरुको हकमा निवेदन लिन नसकिने विभागले जनाएको छ। फर्म भर्दा जन्म मिति, नाम आदि विवरण दोहोर्याइ हेरेर कुनै गल्ती नगर्न विभागले आग्रह गरेको छ। 

    ‘आफूले गलत विवरण राखेर फारम भरेमा र राहदानी पुनः बनाउनु परेमा राहदानी नियमावलीअनुसार थप दस्तुर लाग्ने हुन्छ। अतः फारम भर्ने भराउने कार्य गर्दा विशेष सावधानी अपनाउनु हुन अनुरोध छ,’ विभागले सूचनामा भनेको छ। 

    पुस पहिलो साता उपत्यका बाहिरबाट विद्युतीय राहदानीको लागि निवेदन लिन सुरु गर्ने तयारी रहेको विभागले जनाएको छ। 

    विद्युतीय राहदानी जारी भइसके पनि जरुरी परेको अवस्थामा कारण र प्रमाणसहित आएमा विभागले अहिले पनि मेसिन रिडेबल राहदानीको लागि निवेदन दिन सकिने बताएको छ। जरुरी परेको छैन भने केही दिन धैर्य गर्न विभागले आग्रह गरेको छ। 

     

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १७:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij