२०८२ भाद्र ९ गते सोमवार
नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएको छ। सहरी क्षेत्रलाई लक्ष्य गरी व्यवसायीद्वारा खरिद २२ वटा माइक्रोबस बुधबार नेपाल भित्र्याइएका हुन्। ती माइक्रोबस १२ सिट क्षमताका हुन्।
चीनबाट दिनप्रतिदिन सवारीसाधन आयात भइरहेको जानकारी दिँदै रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको बताए।
दसैँअगावै सयवटा विद्युतीय कार आयात गरिएको थियो भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालयले जनाएको छ।
माइक्रोबसका पाङ्ग्रा साना भएका कारण कच्ची सडकमा गुडाएर काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले बताएका छन्। रसुवागढीदेखि गल्छीसम्मका सडकमा धेरै खाल्डा भएकाले साना र होचा सवारीसाधन गुडाउन गाह्रो हुने गरेको छ।
दसैँअगाडि आयात भएका सानाखाले केही सवारीसाधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सारमै थन्किएका छन्।विद्युतीय सवारीसाधनको आयातले प्रदूषणको घट्ने र सहरी क्षेत्रको वातावरण स्वच्छ हुने अपेक्षा गरिएको छ। पेट्रोलियम पदार्थबाट चल्ने यात्रुवाहक गाडी क्रमशः घट्दै जाने बताइएको छ।
विद्युतीय सवारीसाधनमा रहने ब्याट्री एकपटक चार्ज गरेपछि ४ घण्टासम्म पुग्ने भएकाले आवाज पनि नआउने जनाइएको छ।आर्थिक वर्ष २०७७र७८ साउनदेखि अहिलेसम्म ९ सयभन्दा बढी सानाठूला सवारीसाधन आयात भएको भन्सार कार्यालयले जानकारी दिएको छ।
आयातीत सवारीसाधनबाट नियमानुसार भन्सार शुल्कबापत ६५ करोड रुपैयाँभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन्। रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij