२०८२ भाद्र १ गते आइतवार
आजबाट नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु भएको छ। विशेषगरी नेपालका नेवार समुदायले नेपाल संवतको नयाँ वर्षलाई विशेषरुपमा मनाउने गर्छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् पनि हो। यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ।
लिच्छविकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएका हुन्। नेपाल संवत ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ। यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना गरिएको छैन।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी यो संवत्को शुरुआत गरेका हुन्। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धर बताउँछन्। ‘लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो,’ उनले भने, ‘लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो।’
लामो समयदेखि नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत भएकाले २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो। कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ को अवसरमा शुभकामना सन्देश दिएकी छन्। सन्देशमा समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले पनि शुभकामना सन्देश दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij