२०८२ भाद्र १० गते मंगलवार
आजको यस १०० औं श्रृंखला बिशेष सम्यूक्त अभ्यास विविध विधाका रचनाहरु सिर्जना गर्नु हुने आदरणीय अग्रज गुरुवर्ग तथा सम्पूर्ण श्रष्टाहरुलाई हार्दिक धन्यवाद।
समायोजन : कमला महत
एक सय (१००)औं श्रृंखला विशेष
तियाली
शुभकामना
यो पेजलाई सयौं श्रृंखलाको करोडौं शुभकामना
मिलेर अघि बढौँ है गुरु चेला हामी सब जना
जोगाई राखौँ युगौँ देखिको साहित्य नेपाली पना
(दुर्गा क्षेत्री)
आज यो नेपाली साहित्यकार ग्रुपमा भएका अभ्यासहरुको सतक पूरा भएको अवसरमा सम्पूर्ण ग्रुपसदस्यहरु, संकलक तथा सहजकर्ताहरु तथा आदरणीय गुरुवर्गमा हार्दिक बधाई तथा धन्यवाद अर्पण गर्दछु । साथै यसै उपलक्षमा एकडाली कोपिलाहरु राख्दछु ।
कोपिला
१)
भोलि के के हुन्छ के थाहा
रमाउन र हाँस्न नसाँचे है मायाले
को हाँस्छ को रुन्छ के थाहा
२)
कहिलेकाहीँ रिसाउने कोही छैन
सुख साँट्ने मान्छेको त भयो कुरै छाडौँ
मसँग दुख बिसाउने कोही छैन
३)
भ्रष्टाचारीले तान्ने गाँजामा बदलियौ
तुहिएर गयो त्यसै वर्षौँवर्षको मेहनत
सत्तामा पुगेपछि राजामा बदलियौ
४)
बल्ल पो पाएँ थाहा कति राम्रो
प्रकृति पुरुष मालीका अनुपम सृजनाहरु
कोपिला डाली आहा ! कति राम्रो
५)
सँगसँगै हिँडेपछि साथी भन्नुपर्छ
जिन्दगीको यात्रा रमाइलोसँग काट्ने होभने
अरुलाई आफूभन्दा माथि भन्नुपर्छ
गिरिराज डल्लाकोटी
-------------------------------------------------
एक डाली कोपिला
अँधेरी रातमा जूनको चाह हुन्छ
समाजमा संस्कार र संस्कृति भुल्दै गए पनि
हर मान्छे सँग गुनको चाह हुन्छ
मनका दुई चार शब्द कोर्नु छ
नवीनतम विधा कोपिला बारे केही बुझी
विस्तारै साहित्यमा रङ्ग भर्नु छ
प्रीतको दियो बालेको राम्रो
बिना सङ्कोच साथ आत्मीयता जानेर
शुभ पाइला चालेको राम्रो
भेट हुँदा बोल्दिनौ कि के थाहा
बर्षौँ देखि दुस्ख पीडा झेल्दै बसिरहेकी
पीर व्यथा खोल्दिनौ कि के थाहा
हिजो दिलमा सजाउँला भन्थ्यौ
शंकटका दिनहरु शंकटमै बित्न थाले
दुस्खमा हात समाउँला भन्थ्यौ
कमला महत
-------------------------------------------------
"गद्य कविता"
लद्दाख !
सलाम छ तिमीलाई
कलानिधि दाहाल
यौटा अकिञ्चन
कञ्चन
अमुक
उदार
शान्त
कुहिरोसँग
कुहिरोले
माटोसँग
माटोले
पहाडसँग
पहाडले
र जम्मैसँग
जम्मैले
लुकामारी खेल्दै
काउकुती लगाउँदै
घुम्टो उघारेर
घामसँग
घाम फैलाएर
घुम्टोसँग
सुनसानमा
तर
सारमा
सारमा
तर
सुनसानमा
तृप्तरअतृप्त
अतृप्तरतृप्त
चाहनाका
असङ्ख्य
बिस्कुन सुकेर
बिस्कुन ओसिएर
मान्छेभन्दा धेरै टाढा
सुदूरको क्षितिजमा
रहस्यका झिलिमिली
झिल्कासँग
असङ्ख्य झिल्काका
झिलिमिली रहस्यसँग
सृष्टिको चोखो मुस्कान
साटिरहेकी लद्दाख !
तिम्रा
कोमलरकञ्चन खेलहरू
भत्किएका छन् अहिले
तिम्रा स्वस्फुर्त
अन्तरा अन्तराहरू
चकित भएका छन् अहिले
दुई अतिवादी
जङ्गली आस्थाका
सेनाले
बुट बजारेका छन्
तिम्रा छातीमा
एउटा
माथिबाट उफ्रन्छ तल
अर्को तलबाट
चिथोरिन्छ माथि
-रामको नाममा
-सीताको नाममा
कपुर सल्काएर
वासना छर्नुपर्ने
एउटा
धार्मिक अतिवादी पण्डा
राफाल चढेर
तिम्रा छातीमा
क्षेप्यास्त्र छाडिरहेछ
-कार्लमाक्र्सको नाममा
-एञ्जेल्सको नाममा
विराट् विश्व
साझा सम्पतिको
चौडा चिन्तन जन्मेर
कल्पवृक्ष फैलनु पर्नेमा
अर्को
निरङ्कुश साम्यवादी शासक
बाक्लो सिरक ओढेर
चिनूक अनुसन्धानको
पछिल्तिर
जगुवार विमानका पङ्खामुनि
छुपेर
दिन होस्
वा रात
जाडो होस्
वा प्रचण्ड बाफ
मारक क्षेप्यास्त्रका
निशाना दागिरहेछ
हेर्यौ भने तिनलाई
आँखा झिल्किन्छन्
-बारुदले
चुपचाप
लम्पसार पर्यौ भने
छाती चिरिन्छन्
-बुटका काँटीले
-क्षेप्यास्त्रका प्रहारले
बम
र बन्दुक त
पचाई सके
-तिम्रा छातीले
-तिम्रा तनमन दुवैले
राडारका निशाना
माथिबाट ताकिदै
कहिले
-चितायानले
बाल्छ आगो
तिम्रा बरफमा
कहिले
जमीन ट्र्याङ्करले
निशाना ताक्छ
तिम्रो
हिउँजस्तो पग्लने शरीरमा
लद्दाख !
धार्मिक अतिवादी पण्डा
र निरङ्कुश साम्यवादी मुण्डाका बिच
तिमी
-चिथोरिएर भए पनि
-फहरिएर भए पनि
-मरेर भए पनि
-मारी बाँचेर भए पनि
उद्दीप्त !
उद्दाम !!
मानवताकी शिखर
सधैँ
सौम्य !
सधैँ
शान्त !!
सधैँ
मानवताको बुध्दविश्वासमा
धार्मिक अतिवादका पण्डा
र निरङ्कुश साक्यवादी
अतिवादका
बुख्याँचा मुण्डासँग
विजयको
लुकामारी खेलिरहिछ्यौ
बादल ओढेर
-बादलमै
पहाड अग्लेर
-पहाडमै
बरफ चिस्याएर
-बरफमै
पत्थर जमाएर
-पत्थरमै
हिमाल पगालेर
-हिमालमै
----------------------
---------------------------
"प्रकृति र मान्छे"
सौन्दर्यकी
खानी
दुर्लभ क्षणहरूमा पनि
चर्म चक्षु
तथा
दिव्य चक्षुले
अनुभव गर्न सकिने
तिमी प्रकृति
आहा !
अनि
म
मान्छे
सौभाग्यले
तिम्रा यी अनुपम
आभाहरुमा
रम्नुको आनन्द !
स्वयं सृष्टिकर्ता ब्रम्हा
र
पालनकर्ता
विष्णु समेत
पटक
पटक
धर्तीमा
अवतरणका
मौकाहरु
हेरिरहेकाछन्
र त
कहिले
अमृत वर्षा
कहिले
करोडौँ ध्वनीहरू
गुञ्जित भएकाछन् ।
तिमी
विविध
अलंकारहरूले
सुशोभित
केवल
यो अनुभव
म गरिरहेछु ।
हरेक दिन
हरेक साँझ
मनको बगैँचामा
सुन्दर फूलहरू
फुल्ने गर्छ
अनि
म जीवनको
रङ्ग घोलेर
तिम्रो साथमा
रमाउन चाहन्छु ।
जीवन
मार्गका काँढाहरु
पन्छाउँदै
सुकीलो
सपनाहरू देख्न चाहन्छु ।
तिमी र म
अन्योन्याश्रित
सम्बन्धमा बाँधिएका
युगौँयुग सम्म
तिम्रो स्वच्छन्दतामा
रम्दै
म आफूलाई
तिमीमा
समाहित गर्न चाहन्छु
यो विषाक्त
भूमरीबाट
दिनको उज्यालो सँगै
सन्ताप
मेट्न चाहन्छु
तिम्रै स्वाभिमानका
फाँटहरूमा
आनन्दले निदाउँन चाहन्छु
म त
नदी जस्तै
कञ्चन
तिम्रो गर्भमा
गर्वले रम्ने
जिजीविषा लिएर
बाँचेको छु
केवल
तिमी र म
धन्य तिमी !
तिमी छौ
र
त म छु !
कमला महत
-------------------
---------------------
---------
सबै नेपालीको जय होस् । हामी नेपाल भित्र र बहिर रहेका नेपाली मिली नेपाली पहिचानलाई विश्वका हरेक समुदायमा युग युग सम्म जीवन्त र दिगो राख्न सकौं ।
यो बिनोद स्पनदन जीको संयोजनमा सुरुवात भएको नेपाली साहित्यकार समूहलाई १०० औं अंक पुगेको अवसरमा हार्दिक बधाई छ ।
हाइकु
-------------------
मानव चेष्टा
कृत्रिम प्रकृतिको
नरसंहार
यन्त्र भित्रको
कृत्रिम बुद्धिमत्ता
प्रकृति रुदै
डुङ्गाको आगो
मानब सभ्यताको
नबिर्सौं गुन
प्रकृति मायाँ
कृतिम यन्त्रबाट
लाउँने छैन
ऋण तिरोस
मानव प्रकृतिको
दूधको भारा
पुरु सुबेदी
-------------------
धाराको पानी
पोखरीमा पोखियो
रित्तो जवानी ।
तल पोखरी
माथि दुई टाँकुरा
तिर्खालु आँखा ।
गहिरो कुवा
पहाडको खोचमा
अप्ठ्यारो बाटो ।
असलो माछो
छट्पटाइ रहेछ
पोखरी खोज्दै ।
बाँझो खेतमा
उमार्नु छ आँकुरा
चुनौती रोप्दै
रित्तो ताप्केमा
अनिकाल पाक्दैछ
चिसो चुलोमा !
घामको झुल्को
कोठा भित्र छिरेछ
तमासा हेर्न ।
नदी किनार
परस्पर विरोधी
हुन्न मिलन ।
वादल भित्र
लुकेको त्यो घामले
बाटो बिरायो ।
कस्तो अचम्म
लुकामारी खेल्दैछ
आगो र पानी ।
वासुदेव ठकुरी
-------------------
उदासी पन
शान्तिको खोजी गर्दै
विवेकी मन
बञ्जर धर्ती
दविएका आवाज
अध्यात्म अर्ति
मौसमी छल
याम विशेष घाम
सुगन्धि पल
यो दीपावली
कोरोनाको कहर
खै खुशीयाली
आँखाको आँसु
विवस दिनहरु
सुखको सामु
कमला महत
-------------------
-------------------
बाछिटाहरू
-------------------।
ईर्ष्यालु
मानिस सर्प
विषालु
धूर्तता
बाजको कृत्य
मूर्तता
पार्श्वमा
हिंसाको जालो
विश्वमा
भद्रता
व्यक्तित्व शैल
शुभ्रता
आँधीको
नृत्य बस्तीमा
व्याधिको
चिन्तामा
डुब्नेको यात्रा
चितामा
अमर त्यागी
-------------------
-------------------
जूनको
छ शीतलता
गुनको
श्रद्धाले
ढाकिन्छ दोष
पर्दाले
आशाको
अमर प्रेम
प्यासको
विकृति
जीवन दृष्टि
सुकृति
धनको
अन्तर द्वार
मनको
जीतको
कर्तव्य पथ
हितको
कमला महत
-------------------
-------------------
"बाछिटा"
विवाह
बन्धन जन्म
सम्बन्ध
प्रीतको
सुरत एक्का
जीतको
मेवाको
सुस्वादु प्राप्ति
सेवाको
मायाको
रुप शीतल
छायाको
यौवन
फुल्दा रङ्गिन
जीवन
धर्तीमा
शोभित सारा
प्तमारी
।
चन्चल
मनको माया
हल्चल
विकृति
बन्दैछ आज
संस्कृति
निर्दोष
फूलको बास्ना
सन्तोष
समाज
स्वसभ्यताको
आवाज
विवाह
सुसभ्यताको
प्रवाह
रहर
पुरा नहुँदा
कहर
वन्दना जोशी
-------------------
-------------------
छ्न्द कविता
शिखरिणी - छन्द
य म न स भ ल गु
(सद्भाव)
सदा मानूँ मान्ने जन म नबनूँ तुच्छ मनको
नहूँ चर्को बोल्ने अधम शठ वा दम्भ धनको
बनून् वासन्तीझैँ सुमधुर सफा शब्द सगर
सबैमा देखाऊँ नियमित म सद्भाव लहर।।१
पढूँ लेखूँ देखूँ सुमधुर सबै काव्य लहर
बनूँ काव्यश्लाघी सरल र सफा कञ्चन शिर
पिऊँ पढ्दा पढ्दै सकल रसिला काव्यसुषमा
नहोस् आत्मश्लाघा नियमित रहूँ काव्य घरमा।।२
बुझूँ हेर्दा हेर्दै कमसल सबै अब्बल बनून्
बसूँ गम्दै पढ्दै अमर कविता व्यञ्जन न हुन्
मिठो मानी चाखूँ रसमय सुधा प्राप्त ललना
अझै ऊर्जा आओस् हरपल बुझूँ वेद सुषमा।।३
नथाकोस् उम्दा होस् सललल बगून् शब्द लहर
बनून् आभा जस्तै झरर झरना सौम्य प्रहर
बनूँँ पढ्दा मौनी तपरत लतावृक्ष सरिको
बनूँ व्याख्या गर्दा हिमशिखरका वायु सरिको।।४
सबै प्राणीलाई विनयसित राखूँ म ममता
ननाघूँ आस्था यो विचलित नहूँ सभ्य दृढता
बनोस् प्यारो लागोस् भुवन दिलसद्भाव भरियोस्
नहोस् ग्लानी भागोस् परपर सरोस् चिन्तन झुमोस्।५
हरिप्रसाद रिमाल
-------------------
छन्द वसन्ततिलका
जो भ्रष्ट छ त भ्रष्ट छन्
यो संविधान अनुसार चलेन देश ।
यो राजनीति हुन गो किन आज ठेस ।
सोझा मनुष्य तिर मात्र चले छ चेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(१)
यो राजनीति किन हुन्छ सदा जुधाई ।
ठूलो भयो पद यहाँ मनको रुवाई ।
धान्ने छ जो पद निदाल बनी अडेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस।
(२)
व्यापार झैं हुन गयो अब राजनीति ।
मान्छे समेत किन बेच गरिन्छ साथी ।
गोटी समान जब सांसद बन्छ चेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(३)
ल्यायौँ नि तन्त्र उपयुक्त भनेर खोक्थे ।
नानाथरी गफ गरेर बजेट तोक्थे ।
जे तन्त्र मन्त्र जपियो न कुनै छ बेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(४)
कैले निकास म गरौँ छ करोड खास ।
त्यै हात पार्दछु छिटो अनि बन्छ बास ।
भन्दै सदा नजर बन्न गयो चरेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(५)
जोगी कमण्डलु लिदै कति घुम्न जान्छन् ।
भर्दै कमण्डलु कतातिर बाड्न लान्छन् ।
थप्दै गए ऋण यहाँ ऋण बोक्छ देश ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(६)
तोयानाथ सुवेदी
-------------------
-------------------
नारी
म नारी धराकी छहारी अमूल्य
बुझेमा म साँच्चै हिरा रत्नतुल्य ।
म संसार एक्लै हिँडेकी छु बोकी
गरी सृष्टि नौलो रहेकी छु चोखी ।।
म आमा र काकी भएकी छु तिम्री
म पत्नी कसैकी र बैनी हुँ राम्री ।
म नाता बिनाकी रहेकी कहाँ छु
म पीयूष छर्दै छु आफू जहाँ छु ।।
अझै हेप्न खोज्छन् जहिल्यै मलाई
कहाँबाट होला र मेरो भलाइ ।
ममा छैन इच्छा कुनै क्रान्ति गर्ने
यहाँ यत्न हुन्छन् सधैँ बाध्य पार्ने ।।
मिलन कुमार ढुङ्गाना, झापा
-------------------
-------------------
छन्दः शालिनी
शीर्षकस् विद्यार्थी
विद्यार्थी हौँ, देशका कर्मवीर
खोली बाटो भर्न सक्छौँ विचार
बुझ्छौँ हामी , राष्ट्रको मर्मलाई
देऊ विद्या , शारदे नित्य आई
(१)
खोजी आफ्नै, देशमा शीप आज
झुल्छन् आभा, नित्य प्यारा मिठास
कालो मैलो, दूर गर्दै रमाई
देऊ विद्या , शारदे नित्य आई
(२)
ज्ञानी बन्दै, द्वार खोल्छौँ सुरम्य
गाँस्दै माला ज्ञानको यो सुमान्य
हेर्छन् तारा दिव्यतामा रमाई
देऊ विद्या , शारदे नित्य आई
(३)
सारा जाग्दै सत्यतामा रमेर
आँखा खुल्ने श्रेष्ठ चाला बुझेर
विद्या नै हो विश्वमा शक्तिदायी
देऊ विद्या शारदे नित्य आई
( ४)
कमला महत
-------------------
-------------------
"मुक्तक"
============
के दियो के लियो जिन्दगीले, त्यसमा कबै चासो राखिएन
हिसाबमा कमजोर भएपनि, बाँकी कसैको नासो राखिएन
एउटै कुरा सिकें मैले, खुशी जति बाँड्यो उति बढ्छ भन्ने
सुखमा साथ दिन नसकेपनि कसैको दुस्खमा हाँसो राखिएन !
सुनिल अधिकारी
अहिलेको मान्छे चाहिँदा आफूलाई अष्टवक्र भई झुक्छ
अरुको अहिलेको मान्छे चाहिँदा आफूलाई अष्टवक्र भई झुक्छ
अरुको गर्जो टार्नु पर्दा त स्वयम् मुसोको प्वालभित्र लुक्छ
विराट विश्वलाई मुठ्ठीमा राख्न असफल प्रयत्न गर्दै
भीडमा आफूलाई प्रस्तुत गर्दा चुटेको कपासझैं फुक्छ ।
कल्पना दाहाल
समय अनुसार नयाँ युग नयाँ ज्ञान बढाउनु पर्छ
भुल्नु हुन्न हाम्रो संस्कार र संस्कृति पढाउनु पर्छ
साँच्चै हाम्रा भावी सन्तति असल बनाउने हो भने
आयातित विकृति र विसंगतिको वलि चढाउनु पर्छ
कमला महत
खुसी दिन नसके पनि दुस्ख कसैलाई दिएकी छैन
खियाएँ दस नङ्ग्रा, सित्तैमा कसैको लिएकी छैन
स्वाभिमान सबैभन्दा ठूलो ईश्वर ठानी पूजा गर्छु ,
कसैकोअहंकारको अघि घुँडा टेकेर जिएकी छैन ।
निरू गौतम
जीवनको चौघेरामा तिम्रो बाटो हेर्दै आएँ
बीच बाटो काँडैकाँडा घुम्ती मोड फिर्दै आएँ
सम्बन्धको तगारोमा रैछ भोटे ताल्चा यहाँ
उच नीच कुसंस्कार कुरीति म झेल्दै आएँ
मीरा ज्ञवाली
खुलेर बाच्न नपाउने कस्तो संसार बनायो !
टाढाको हार नजिको चोखो प्यार बनायो !
शब्दको प्रहारले मुटु जलाउछ दिनहु मेरो !
बोलीमा चक्कुको जस्तै धारिलो धार बनायो !
जुन फूल रोजे तेसमा किन धार भगवान !
फूलको बनायौ धारिलो हतियार भगवान !
जिन्दगीमा नमर्न सके न बाच्न सके आज !
मलाई किन चाहियो उज्यालो संसार भगवान !
विविधा भारती
मनलाई अमिलो र धमिलो नपारॅौ !
गुलियो र मिठो भाव मनमा सारॅौ !!
जगतको भलाई गरेर यो जीवनलाई ,
सत्कर्मले जीवन र यो मन सुन्दर पारॅौ
शोभा
============
गीत :
आँखामा बस्न यो जिन्दगीमा हजार सपना आए गए
राम्रा सपना अधुरा रहे नराम्रा सपना पुरा भए
गल्तीहरु नै नहुने भए म पनि यहा देउता हुन्थें
चाहेको सबै पुगेको भए भाग्यमानीमा एउटा हुन्थें
मनमा बस्न यो जिन्दगीमा हजार चाहना आए गए
राम्रा चाहाना अधुरा रहे नराम्रा चाहाना पुरा भए
मान्छेको मन हिमाल जस्तो कहिले कहीं अग्ली दिन्छ
पत्थर बन्छु भन्दा पनि त कहिले फेरी पग्ली दिन्छ
कल्पना जस्ता यो जिन्दगीमा हजार कहानी आए गए
राम्रा कहानी अधुरा रहे नराम्रा कहानी पुरा भए
सुनिल संगम
पर्खी बसेॅ तिमीलाई सप्तकोशी तीर
एकैछिन ढिला हुॅदा मनमा लाग्ने पिर
निर्मोहिको याद बल्झी दुख्ने सधैॅ दिल
देखाउॅन नमिल्ने यो बनेको छ खिल
बोली तिम्रो कोइलीको गुन्ज्यो चिर चिर
एकैछिन ढिला हुॅदा मनमा लाग्ने पिर
दन्कियो झन् दनदनी भै दिलभित्र ज्वाला
भरिदेऊ तिमी आई दिलको प्रेम प्याला
तड्पिएको सधैॅ छु म आउॅन तिमीनिर
एकैछिन ढिला हुदा मनमा लाग्ने पिर
पर्खी बसेॅ तिमीलाई सप्तकोशी तीर
एकैछिन ढिला हुॅदा मनमा लाग्ने पिर
विन्दा पराजुली बराल
मेरो माया फूलै फूल तिम्रो भुलै भुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
भैयो भेट दोबाटोमा खुसी भयौँ दुवै
मेरो माया अन्धभक्ति चिन्छु भन्छौ खुबै
वारि म छु पारि माया मर्स्याङ्दीमा पुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
हरायो नि मेरो माया खोजेँ तिरै तिर
आगो बल्यो मन ढल्यो भित्रभित्रै पिर
तिम्रो नामको सिँदुरले सजाइदेऊ शिर
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
सँगै बसौँ सँगै हाँसौँ जिन्दगी यो साँचौँ
दुःख सुख आधा आधा बाँटी बाँटी बाँचौँ
हाँस्दाखेरि हाँसिदिने रुँदा रुने रुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
मेरो माया फूलै फूल तिम्रो भुलै भुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
ओमकुमारी रानाभाट
"गजल"
बहर : समीम मुसद्दस् सालिम
रुक्न : 12212 12212 12212
कोही फूल बेच्ने कोही छ बेच्ने पानी अझै।
चुलो बाल्न बेच्नु पर्ने ~~ कतै जवानी अझै।।
अझै कति दिने हो पीडा ~ मलाई दे जिन्दगी।
बचतमा छ बॉंकी मेरो ~~ थोरै खरानी अझै।।
फोटोबाट निस्कि धर्तीको हाल बेहाल भो।
नबस रमिते जस्तो भगवान जानीजानी अझै।।
भुल्यो भनि नभन्नु परदेशीले कतै देश पनि।
यो छाती चिरेर हेर्नुस् छ कति निशानी अझै।।
कलम थाके, थाके लेख्ने र पढ्ने सारा यहॉं।
मेरो सुरु भएको नै छैन यो कहानी अझै।।
बुवाले भने यो सारा जगत देखाउनु भयो।
न मैले बुझें मेरो बाको त्यो लगानी अझै।।
अमरदेव बास्तोला
-------------------
-------------------
अर्कान : 221 2122 221 2122
बहर : मुजारे
आशाहरू कुरेका कैयौं बगरहरु छन्
खोज्दै खुशी चुमेका हेर्ने रहरहरु छन्
यो साथ बस्नु पर्ने छ बाचा जिन्दगीको
गाह्रो छ भुल्न पीडा धेरै कहरहरु छन्
बेथाहरू अझै छन् बाँकी भुलेरआऊ
विश्वास खोजिएका कोसौ सफरहरु छन्
बोलेर हेर सच्चा विद्वेषभाव त्यागी
निष्काम चाहनाका धेरै जहरहरु छन्
उस्तै छ चाहना यो प्रेमिल छ जल्छ मन यो
बुझ्नै नचाहने दिल दोषी नजरहरु छन्
कमला महत
-------------------
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij