Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाली साहित्यकार समुहको प्रशिक्षण १०० औँ अंक रचनात्मक कार्यक्रम भव्य रुपमा सम्पन्न

नेपाली साहित्यकार समुहको प्रशिक्षण १०० औँ अंक रचनात्मक कार्यक्रम भव्य रुपमा सम्पन्न


  • 25.6K
    Shares

    • images
    नेपाली साहित्यकार समुहको प्रशिक्षण १०० औँ अंक रचनात्मक कार्यक्रम भव्य रुपमा सम्पन्न
    images

    बिश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरूलाई सामाजिक संजालमा जोडेर म्यासेन्जर मार्फत निरन्तर अभ्यास गराईरहेको नेपाली साहित्यकार समुहका संयोजक बिनोद स्पन्दनको संयोजनमा सुरुवात भएको नेपाली साहित्यकार समुहले प्रशिक्षणको १०० औँ पाईला टेकेको अवसरमा गत सोमबार हप्ताभरी प्रशिक्षण गराउँदै आएको ८ वटै विधा एकै दिन अभ्यास गराएर रचनात्मक रुपमा मनाएको छ । बिभिन्न विधाका ख्यातिप्राप्त नेपाली अग्रज प्रशिक्षकबाट दैनिक प्रशिक्षण दिँदै अभ्यास गराउँदै आएको नेपाली साहित्यकार समुहले नेपाली भाषा र साहित्यको बाटोलाई मजबुत बनाउँदै दरिलो खम्बाहरु थप्ने कार्य गरिरहेको छ । यस समुहको फेसबुकमा हालसम्म करिब २००० नेपाली साहित्यकारहरू जोडिनु भएको छ भने २५० जना नेपाली साहित्यकार फेसबुक म्यासेन्जरमा अभ्यासरत छन् । नेपाली भाषा र साहित्यको लागि यस समुह अत्यन्तै फलदायी हुने प्रशिक्षक तथा अभ्यासकर्ताहरू बताउँछन् ।

    आफ्ना हरेक व्यस्ततालाई पन्छाउँदै निस्शूल्क प्रशिक्षणका लागि अनवरत रुपमा खटिरहनु हुने अग्रज प्रशिक्षकहरू प्रति यस समुहका परिकल्पनाकार स्पन्दन विनोद लगायत अभ्यासकर्ताहरूले आभार सहित हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

    त्यस्तै अग्रज प्रशिक्षकहरूले अभ्यासमा निरन्तर लागि परेर आफ्ना सिर्जनाहरू पस्कन सधैँ तल्लीन रहनुहुने श्रष्टाहरुलाई हार्दिक धन्यवाद ! बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् । अत्यन्तै अनुशासित, सभ्य र लगनशील भएर अभ्यास गर्ने-गराउने यस समुह नेपाली साहित्य जगतकै उदारणीय रहेकोले छोटो समयमा धेरै नेपाली भाषी साहित्यकारहरूको मन जित्न सफल भएको छ । 

    बिशेषत: नेपाली भाषा साहित्यमा बाटो बिराएर अन्यौलमा परेका प्रतिभावान सर्जकहरूलाई सही मार्ग दर्शन गराउने उद्धेश्यले संचालनमा आएको यो समुह कुनै संस्थाको रुपमा दर्ता नभएर आम नेपाली साहित्यकारहरूको साझा चौतारीको रुपमा प्रिय बनेको छ । बिश्वका कुना कुनामा रहेका नेपाली भाषी अग्रज साहित्यकारहरूको अवस्था अवलोकन गरी सम्मान तथा सहयोग गर्ने, सर्जकहरूलाई आर्थीक, सामाजीक तथा शैक्षिक सहयोग गर्ने, प्रेरक पुरस्कार तथा सम्मान दिने र नेपाली भाषा साहित्यको विकासमा अतुलनिय योगदान दिँदै नेपाली भाषा साहित्य अन्तर्राष्ट्रीय बजारमा स्थापित गर्ने भावी योजना लिएर संचालन गरिएको यस समुहले अहिले राष्ट्रिय भावनाले निस्वार्थ साहित्य साधना गर्ने नेपाली साहित्यकारहरूलाई जोड्ने काम गरिरहेको यस समुहका परिकल्पनाकार स्पन्दन बिनोदको भनाई छ । कोरोना कहरपछि निकट भविष्यमा नै यस समुहले आम नेपाली साहित्यकारहरूको रोहवरमा धेरै ऐतिहासिक कार्य गर्ने जानकारी गराएका छन् ।

     

    1.jpeg

    १००औँ अंकलाई पनि भर्चुअल जुम मार्फत प्रविधिको प्रयोग गरेर बिश्वभरका साहित्यकारहरूलाई समेटेर सम्मानका साथ भव्य कार्यक्रम गर्ने योजना भए पनि परिकल्पनाकार स्पन्दन विनोदको स्वास्थ अवस्था अनुकुल नरहेका कारण सम्भव नभएको र पछाडि सारिएको समायोजनकर्ता कमला महतको भनाई छ । कमला महतले स्पन्दन विनोद अस्वस्थ भएपछि यस समुहमा रचना समायोजन साथै समुह सञ्चालनका विविध गतिबिधिहरुमा सहयोग गर्दै आउनु भएको छ । यसरी नै यस समुहमा अभ्यास गरिएका रचना शुष्मा आचार्य अंशु, सिर्जना खनाल, अमर त्यागी, विविधा भारती, र ओम कुमारी रानाभाटले पनि समय समयमा अभ्यास समायोजन गरिसकेका छन्। अभ्यासमा सहभागी सर्जकहरूले यति धेरै विधामा प्रत्येक दिन अग्रज साहित्यकारबाट अभ्यास गराउने सम्भवतः पहिलो, यस समुहमा आफूहरू जोडिन पाऊँदा अत्यन्तै भाग्यमानी र सुरक्षित महसूस गरेको र अगाडि बढ्ने अवसर प्राप्त गरेको भन्दै संयोजक तथा प्रशिक्षकहरूलाई हृदयदेखि नै धन्यवाद दिएका छन् । 

    स्पन्दन विनोदको संयोजन रहेको यस समुहमा अग्रज प्रशिक्षकहरुमा गजल विद्वच्छिरोमणी घनश्याम न्यौपाने परिश्रमी (गजल प्रशिक्षण), कवि माधव बियोगी तथा कवि हरि प्रसाद रिमाल (छन्द कविता प्रशिक्षण), कवि कलानिधि दाहाल (गद्य कविता प्रशिक्षण), कोपिलाकार गिरिराज डल्लाकोटी (कोपिला प्रशिक्षण), हाइजिन प्रकाश पौडेल माइला तथा हाइजिन पुरु सुबेदी (जापानी शुत्रका कविता हाइकुर सेन्यू प्रशिक्षण), बाछिटा प्रवर्तक अमर त्यागी (बाछिटा प्रशिक्षण), गीतकार सुनिल संगम (गीत प्रशिक्षण) र मुक्तककार सुनिल अधिकारी तथा प्रकाश गफाडी (मुक्तक प्रशिक्षण) रहेका छन् । यसरी हरेक हप्ता हरेक दिन विविध विधामा निरन्तर प्रशिक्षण रहेको समुहको म्यासेन्जरमा प्रशिक्षकहरू बाहेक पनि धेरै ख्यातिप्राप्त अग्रज नेपाली साहित्यकारहरू जोडिएका छन् । 

    स्पन्दन विनोद भन्नुहुन्छ- ‘हामी नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो मातृभाषा र मातृभूमिलाई अगाध माया र श्रद्धा गर्दछौ । त्यसैले हामी आफ्नो मातृभूमि, मातृभाषा र यससँग जोडिएका ब्यक्तित्वहरूलाई मनबाटै पूजा गर्दछौँ। आदर गर्दछौँ। अग्रजको सम्मान विना हाम्रो सँस्कार पुस्तान्तरण हुन सक्दैन। भर्खर जन्मिएको बालकको मुस्कान र बृद्ध मानिसको मुस्कानमा फरक होला तर मुस्कानले बोलेको खुशी यौटै हुन्छ, भाव यौटै हुन्छ । त्यसैले हरेक अग्रज, हरेक अनुजको सम्मान गर्दै यो यस्तो समुह परिकल्पना गरिएको छ, जहाँ हामी केही सिमित ९२५० व्यक्तिहरू म्यासेन्जरमा अभ्यासरत छौँ र फेसबुकमा हजारौँ जोडिएका छौँ । यो समुहबाट (फेसुकबाट) हजारौँले लाभ लिईरहनु भएको छ भन्ने आशा गरेको छु । सर्वप्रथम, हालसम्म यो कुनै संस्था हैन र सबै नेपाली भाषी साहित्यकारहरूको हक, हित र अधिकारको लागि लड्ने , खुशी र दुस्खमा साथ दिने चौतारी हो, जसलाई हामी सबैले आफ्नो साझा घर सोचेर साथ दिईरहेका छौँ । यौटा बिश्वबिद्यालयमा जसरी हप्तैभरी नेपाली भाषा साहित्यको शिक्षा दिईन्छ, त्यसै गरी यस समुहमा बिभिन्न विधाका विद्वान प्रशिक्षक ज्यूहरूले आफ्नो अमुल्य समय आफ्नो भाषा , साहित्य र देशका लागि विना शूल्क समर्पण गर्नु भएको छ। कुनै दिन देशले अनि अभ्यस्त मनहरूले त्यो योगदानको मूल्य चुकाउँनेछ । यसको लागि तमाम नेपालीहरूका तर्फबाट म लगायत सबै अभ्यासकर्ताहरू नतमस्तक भै नमन गर्दछौँ ।

    आदरणीय गुरुवरहरूलाई हार्दिक धन्यवाद !’ त्यसो त धेरै नेपाली सर्जकका प्रिय, अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष समेत रहेका स्पन्दन विनोद दुई दशक अघिबाट निरन्तर नेपाली साहित्य साधनामा सक्रिय नाम हो । 

    उहाँ अगाडि भन्नु हुन्छ- ‘हाम्रो यो प्रयासले एक जना मात्र असल नेपाली साहित्यकार जन्मनु भयो भने पनि हाम्रो भाषा, हाम्रो देश बाँचिरहनेछ । समय अनुरुप यस समुहबाट स्वतन्त्र रुपमा यसका उद्धेश्यहरू अगाडि बढ्नेछन्। यस समुहमा बिभिन्न विधाका ज्ञाताहरू अभ्यास पनि गरिरहनु भएको छ र कतिपय जोडिन सक्नु भएको छैन पनि, त्यसैले अभ्यास गर्दैमा अपमान नसोच्नु होला । सम्पूर्ण सर्जकको कलमको सम्मानले नेपाली स्वाभिमान उच्च बनाउँछ। तसर्थ हामी सबैको समान रुपमा सम्मान गर्दछौँ ।’ नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा अतुलनीय योगदान दिने यस समुह हरेक पाइलामा सबैँको बिश्वास जितेर निरन्तर अगाडि बढोस् , हाम्रो पनि शुभकामना ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १३:३८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij