२०८२ माघ १५ गते बिहिवार
सरकार नबन्दै र बनेपछि झन् बिबादै बिबादमा जेलिएको गण्डकी प्रदेश सरकारले एक महिना भइसक्दा पनि मन्त्रीमण्डल बिस्तार गर्न सकेको छैन । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल माओवादीबाट मन्त्रीको नाम आएलगत्तै पूर्णता दिने पक्षमा छन् ।
आज माओवादीसँग निर्णायक वार्ता गर्ने मन्त्रीमण्डललाई पूर्णता दिने योजना रहेको सरकारका प्रवक्ता एवं सामाजिक विकासमन्त्री कुमार खड्काले बताए ।
‘आज साँझ माओवादी र नेपाली कांग्रेसबीच वार्ताको तयारी छ । त्यसलाई निर्णायक वार्ता नै भनेका छौँ,’ उनले भने, ‘कुरा मिलिहाल्यो भने आज वा भोलि बिहानसम्म पूर्णता पाउँछ ।’
गत २९ जेठमा गठबन्धनका चार र एक स्वतन्त्र सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता पोखरेल मुख्यमन्त्री बनेका थिए ।
११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले चार, जनता समाजवादी पार्टीले दुई र स्वतन्त्र सांसद राजीव गुरुङले एउटा मन्त्रालय पाउने सहमति छ । अहिले जसपालाई एउटा मात्रै मन्त्रालय दिएर कांग्रेस थप एक मन्त्रालय लिने पक्षमा छ ।
कांग्रेस, माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए । जनमोर्चाले सरकारमा सहभागी नहुने बताइसकेको छ ।
मुख्यमन्त्रीसँगै २९ जेठमा शपथ लिएका कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद गुरुङले मन्त्रालयको जिम्मेवारी लिइसकेका छन् । तर, एक महिनाभन्दा बढी भइसक्दा पनि मन्त्रीमण्डलले पूर्णता दिन नसकेको भनेर आलोचना भइरहेको छ ।
आज साँझसम्म माओवादीबाट मन्त्रीको टुंगो नलागे कांग्रेसकै सांसदलाई मन्त्री नियुक्त गर्ने योजनामा मुख्यमन्त्री पोखरेल रहेको उनीनिकटले बताए । त्यसरी नियुक्ति भएमा तत्काल कुनै जिम्मेवारी पाउने छैनन् ।
जसपालाई एउटामात्रै मन्त्रालय दिनेबारे जसपाका केन्द्रीय नेतासँग सहमति भएको र त्यहीअनुसार अघि बढ्ने सरकारका प्रवक्ता खड्का बताउँछन् । यसबारे यहाँका सांसद भने जानकार छैनन् । सम्झौताअनुसार जसपाबाट धनमाया लामा मन्त्री सरकारमा जान बाँकी छ ।
सहमति तोडिए प्रदेश सभामा दुई सांसद रहेको जसपाले दुई मन्त्री पाउने भनिएकोमा एउटा मात्रै मन्त्रालय पाउने छ । त्यस्तो भएमा कांग्रेस र माओवादीबाट तीनरतीन र जसपाबाट एक जना सरकारमा सहभागी भएपछि मन्त्रीमण्डलले पूर्णता पाउँछ ।
कांग्रेस र माओवादीमा एकाधबाहेक सबै सांसद मन्त्रीका आकांक्षी छन् । कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगिए पनि सार्वजनिक गरिएको छैन । कांग्रेसबाट कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने चर्चा छ । त्यसबाहेक पार्टीका सिनियर नेता तनहुँका दोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कँडेलको पनि सम्भावना रहेको कांग्रेसनिकट स्रोतले बतायो ।
यसबाहेक स्याङ्जाका मेखलाल श्रेष्ठ र गोरखाका प्रकाशचन्द्र दवाडीको नाम पनि चर्चामा छ । मुख्यमन्त्रीकहाँ मन्त्रीका लागि महिला सांसदको नाम नआएकाले अन्तिमसम्म नाम नफेरिए कांग्रेसबाट सरकारमा पुरूष मात्रै हुने पक्का छ ।
माओवादीबाट रामजी बराल जीवन मन्त्री बन्ने निश्चित छ । पहिल्यै भौतिक पूर्वाधार मन्त्रालयका दाबेदार रहे पनि दलबीच कुरा नमिल्दा पहिलो चरणमा उनले शपथ लिएनन् । माओवादीबाट बागलुङका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक थापा मन्त्री बन्ने चर्चा छ ।
‘यही तीन नामबारे केन्द्रमा छलफल भएको सुनेको छु । बाहिर देखाउने एउटा, भित्र अरू पनि हुन सक्छ,’ माओवादीका एक सांसद भन्छन्, ‘आकांक्षी सबै भएकाले अन्तिमसम्म को बन्छ भन्न सकिँदैन ।’ संघ सरकारमा २०७४ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री रहेकी आशा कोइराला र हाल प्रदेशको अर्थ तथा विकास समिति सभापति रहेका दीपक कोइरालाको पनि नाम चर्चामा छ ।
‘पार्टी अध्यक्षले सिधै यो मान्छेलाई मन्त्री बनाउन भनेर यहाँ नभन्दासम्म केही हुँदैन । आज बेलुकासम्म हुन्छ भन्ने कुरा छ,’ माओवादीका अर्का सांसदले भने । एक महिनाअघि नै कांग्रेस र माओवादीले पार्टी केन्द्रीय नेतृत्वलाई मन्त्री टुंग्याउने जिम्मा दिएका थिए । सुरूमा कांग्रेस र माओवादीबीच भौतिक पूर्वाधार विकास मन्त्रालय कसले लिने भन्नेमा सहमति जुटेको थिएन । त्यसपछि यो जिम्मा पनि पार्टीका शीर्ष नेतालाई दिइयो । मन्त्रालय कसले कुन पाउने भन्ने पनि टुंगिन बाँकी छ ।
सामाजिक विकासमा कांग्रेसका कुमार खड्का, स्वास्थ्य तथा जनसंख्यामा माओवादीकी मधुमाया अधिकारी गुरुङ, ऊर्जा जलस्रोत तथा खानेपानीमा जसपाका हरिशरण आचार्य र युवा तथा खेलकुदमा स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री छन् । अस्थायी भनिएकाले हाल मन्त्री रहेकाको जिम्मेवारी हेरफेर हुने पक्का छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij