२०८२ माघ १५ गते बिहिवार
नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता माधवकुमार नेपालसहितका ११ जनामाथि पार्टीले गरेको कारबाही स्वतः फुकुवा भएको छ। महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि नेताहरुमाथि गरिएको कारबाही निष्प्रभावी भएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई नेकपा एमालेले पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो ।
आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको स्थायी मिति सदस्य बनेका छन् । उनीहरू केन्द्रीय सदस्य भने रहने छैनन् ।
यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।
त्यस्तै नेकपा एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने भएको छ ।
राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने जानकारी गराएका हुन् ।
मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij