Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

एक नम्बरमै शाखा अधिकृतमा नाम निकालेका सुशीलका यस्ता छन् लोकसेवा सूत्र 

एक नम्बरमै शाखा अधिकृतमा नाम निकालेका सुशीलका यस्ता छन् लोकसेवा सूत्र 


  • 124.2K
    Shares

    एक नम्बरमै शाखा अधिकृतमा नाम निकालेका सुशीलका यस्ता छन् लोकसेवा सूत्र 
    images

    सुशील लम्साल

    लोकसेवा लगाव 

    म हुर्केको ठाउँमा अग्रजहरूको प्रभावले घरपरिवारको चाहना निजामती कर्मचारी होस् भन्ने नै थियो । सेन्ट लरेन्स कलेज चाबहिलमा स्नातक पढ्दै गर्दा पूर्ण छात्रवृत्ति पाएको थिएँ । जसलाई कायम गर्न बिबिएसका प्रत्येक वर्षमा प्रथम श्रेणी ल्याई कलेजको प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गर्नुपर्ने बाध्यता थियो । 

    ‘पार्टटाइम’ जागिर गर्ने भएका कारण तत्काल लोकसेवा पढ्ने सोच बनाएको थिइनँ । सानैदेखि सँगै पढ्नुभएका दाइ (मामाका छोरा) लोकसेवा तयारी गर्न काठमाडौं आई मेरै कोठामा बस्नुभयो । 

    लोकसेवा आयोगको एकीकृत परीक्षामा ‘आइक्यू’, गणित र विज्ञान विषयसमेत थप भएका कारण दाइले परीक्षा दिन प्रेरित गर्नुभयो । बिहान कलेजबाट फर्केपछि दिनको एक घन्टा दाइले बिहानदेखि पढेका विषयहरू दोहोर्‍याएर पढेँ । 

    फलतः ०६८ सालमा खरिदारमा पहिलो नम्बरमै सिफारिस भएँ । त्यसलगत्तै नायब सुब्बामा पनि नयाँ पाठ्यक्रम लागू भएपछि ०६९ सालमा चौथो नम्बरमा सिफारिस भएँ । ०७१ मा शाखा अधिकृतको परीक्षा दिई एक नम्बरमै सिफारिस भएँ । 

    सफलताको रहस्य  
    मेरो सफलतामा धेरै पक्षले काम गरेको छ । यसमा सानैदेखिको शैक्षिक पृष्ठभूमि प्रमुख हो । गणित, विज्ञान र ‘आइक्यू’मा तुलनात्मक हिसाबले राम्रो दख्खल भएका कारण अन्य पेपरलाई अलि ध्यान दिने समय पाएँ । 

    पढ्दा गम्भीरताका साथ पढेँ । अन्यभन्दा कसरी फरक रूपले प्रस्तुति दिन सकिन्छ भन्नेमा पनि ध्यान दिएँ । आफूलाई सजिलो लागेका विषयवस्तुलाई ‘क्यास’ गर्दै कमजोर भएको विषयमा जोड दिएँ । परीक्षामा प्रश्नले मागेको कुरा प्रस्ट हुन अंग्रेजी र नेपाली दुवैमा उत्तर दिएँ । एउटा प्रश्न अंग्रेजीमा र नेपालीमा फरक भएका कारण नोट लेखी अंग्रेजीलाई आधार बनाई लेखेँ । यसले सकारात्मक भूमिका खेल्यो । 

    लोकसेवा सूत्र 
    लोकसेवामा सफलताको कुनै वैज्ञानिक सूत्र छैन । नाम निकाल्न कोसिस गर्ने व्यक्ति रचनात्मक र सिर्जनात्मक हुन जरुरी हुन्छ । नियमित पढ्ने, पत्रपत्रिका पढ्न नछुटाउने, हरेक घटनासँग अपडेट हुने, नियम कानुन एवं संविधानका बारेमा विस्तृत जानकारी लिनेजस्ता कुरा परीक्षा दिने सबैका लागि आवश्यक हुन् । समय व्यवस्थापन गर्ने बानीको विकास अत्यन्त जरुरी हुन्छ । मिहिनेत सबैले गर्छन्, तर त्यो मिहिनेत सही समय र विषयमा गर्नुपर्दछ । लेख्न सबैले लेख्छन्, तर आफ्नो प्रस्तुतीकरण अरूका भन्दा विशिष्ट हुनुपर्दछ । 

    लोकसेवामा सफलताको कुनै वैज्ञानिक सूत्र छैन । नाम निकाल्न कोसिस गर्ने व्यक्ति रचनात्मक र सिर्जनात्मक हुन जरुरी हुन्छ । 

    परीक्षा तयारी 
    विषयगत प्रश्नको तयारी गर्दा सुरुमा प्रत्येक विषयको परिचय, विकासक्रम, महŒव, कमजोर पक्ष, सबल पक्ष, समस्या, चुनौती, नेपालमा त्यसको अवस्था आदिका बारेमा अध्ययन गरेँ । यस्तै, एउटा पुस्तकलाई आधार बनाई अन्य पुस्तक तथा विभिन्न लेखबाट प्राप्त थप जानकारीलाई सोही आधार पुस्तकमा टिपोट गरेँ, तर छुट्टै नोट बनाइनँ । विषयगत प्रश्नको घोकेर भन्दा बुझेर पढ्ने प्रयास गरेँ । प्रश्नको उत्तर लेख्ने अभ्यास गर्दा सुरुमा किताबबाट पढ्दै–लेख्दै, त्यसपछि हेर्दै–लेख्दै र अन्त्यमा नहेरी लेख्दै गर्ने गरेँ ।

    वस्तुगत प्रश्नको उत्तर सम्झन सजिलोका लागि कुनै वस्तुसँग तुलना गर्ने, छोटकरी रूप बनाउने, सूत्र बनाउने गरेँ । विभिन्न कथा, नाटक, चलचित्रका पात्र आदिसँग तुलना गर्ने र वस्तुगत प्रश्नहरू जोडेर नयाँ कथा सिर्जना गर्ने प्रयाससमेत गरेँ । सामान्य ज्ञानका लागि ‘रिभिजन’ चाहिने हुँदा २–४ दिनमा पुनः दोहोर्याएर अध्ययन गर्ने गरेँ । यस्तै, मिति याद गर्न आफ्नो नजिकका नातेदारको जन्म, मृत्युलगायत विभिन्न घटनासँग दाँज्ने, सोही मितिमा घटेका घटनालाई ‘गु्रपिङ’ गर्ने, मितिलाई घट्दो र बढ्दो क्रममा मिलाएर पढ्नेजस्ता कार्य गरेँ ।

    मेरो सुझाब
    आफ्ना अग्रजसँग सल्लाह लिनुहोला । अध्ययन गर्दा आफूलाई सजिलो लाग्ने विधि अपनाउनुहोला । बजारमा निस्केका सबै किताबको पछि नलाग्नुहोला । आधिकारिक तथ्यांकहरूमा अद्यावधिक भइरहनुहोला । समय व्यवस्थापन गर्न सिक्नुहोला । लोकसेवा परीक्षालाई विकल्पको रूपमा हलुका तरिकाले नलिई पहिलो प्राथमिकतामा राखी मिहिनेत गरे सफलता सुनिश्चित छ ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १३:३९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij