२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजबाट निषेधाज्ञा खुकुलो भएको छ ।
आजबाट निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ भने पसल पनि फरक–फरक दिनमा फरक–फरक खोल्न पाइने निर्णय गरेको छ ।
यस्तो छ सूची –
औषधि पसल– जुनसुकै समयमा खोल्न पाइने पाइने छ ।
प्रत्येक दिन, बिहान ११ बजेसम्म खोल्न पाइने– खाद्यान्न, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेशनरी खोल्न पाइने निर्णयमा उल्लेख छ ।
सोमबार, बुधबार र शुक्रबार– डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ खोल्न सकिने व्यवस्था छ ।
आइतबार, मंगलबार र बिहीबार– सुनचाँदा पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल खोल्न पाइने छ ।
दैनिक दिउँसोमात्रै खोल्न पाइने– हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) बिहान ११ देखि ६ बजेसम्म मात्रै खोल्न पाइने छ ।
अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
वर्कशप दैनिक बेलुका ७ बजेसम्म खोल्न पाइने छ ।
यता, स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले भने निषेधाज्ञा केही खुकुलो भए पनि कोभिड–१९ संक्रमणको चक्र अझै नतोडिएको बताएको छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा जारी निषेधाज्ञा आजबाट केही खुकुलो बनाउने निर्णय गरिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको चक्र अझै नतोडिएको स्पष्ट पारेको हो ।
“कोभिड–१९ को संक्रमणको जोखिम कायमै छ, त्यसैले अत्यावश्यक नपरून्जेल अझै पनि घरबाहिर ननिस्कौं । निस्कनै परे सधै मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका सबै स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरौं,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “याद राखौं तपाइँ हाम्रो हेलचेक्रयाइँ कोभिङ–१९ संक्रमण फेरि फैलने कारण नबनोस् ।”
पछिल्ला केही साता यता कोरोना संक्रमणको दरमा केही कमी भने आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij