Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

स्वास्थ्य सामग्री लिएर गएकी महिला स्वास्थ्यकर्मीको शव जंगलमा फेला, हत्याको आशंका

स्वास्थ्य सामग्री लिएर गएकी महिला स्वास्थ्यकर्मीको शव जंगलमा फेला, हत्याको आशंका


  • 8.1K
    Shares

    स्वास्थ्य सामग्री लिएर गएकी महिला स्वास्थ्यकर्मीको शव जंगलमा फेला,  हत्याको आशंका
    images

    डडेल्धुरा । परशुराम–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत कर्मचारी २६ वर्षीया अस्मितादेवी धामीको शव चार दिनपछि फेला परेको छ । शव शनिबार परशुराम–९ को हट्वानी सामुदायिक वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

    अस्मिता असार २ मा कार्यालयबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन् । उनको शरिरभरि ठूल–ठूला नीलडाम रहेको, नाक र बंगारा भाँचिएको वडा नम्बर ८ का अध्यक्ष गोविन्द बोहोराले बताए ।

    ‘नाकको डाँडी पुरै भाँचिएको छ भने एकापट्टिको बांगारा भाँचिएको छ, घटनाको प्रकृति हेर्दा वीभत्स हत्या नै हो,’ बोहराले भने, ‘घटनाको सत्यतथ्य छानविन हुनुपर्छ ।’

    उनको शव मुलबाटोदेखि ६० देखि ७० मिटरको दूरीमा फेला परेको छ । त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स र केही माथि चप्पल फेला परेको घटना स्थल पुगेका पत्रकारले बताए । उनीसँग भएको मोबाइल भने भेटिएको छैन ।

    घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्द नेतृत्वको टोली घटना स्थल पुगेर शव पोष्ट मार्टमका लागि जोगबुडा अस्पताल ल्याइएको छ । शवको पोष्टमार्टम आइतबार गरिँदैछ । घटनाको थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालसहित सरकारी वकिलको टिम समेत जोगबुडा पुगेको छ।

    एकाएक सम्पर्कविहीन

    दुई छोरीकी आमा अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भए पनि कोभिडको खोप लगाउने अभियानका कारण एक दिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भए पनि घर पुग्ने गर्थिन् ।

    सधैं दोस्रो दिन जसरी पनि घर पुग्ने अस्मिता दोस्रो दिनसम्म पनि घर नपुगेपछि घरपरिवारले खोजी गरेका थिए । सुरुमा कार्यालयमा फोन गर्दा कार्यालयका प्रमुखले अघिल्लो दिन जोगबुडा अस्पताल गएको र दोस्रो दिन कार्यालय नआएको बताएका थिए ।

    ‘त्यसपछि जोगबुडा अस्पताल र आफन्तहरुकोमा खोजी भयो र त्यसै क्रममा मलाई पनि फोन आयो,’ वडा अध्यक्ष बोहराले भने, ‘दोस्रो दिनको कार्यालय समयपछि आफन्तहरूकोमा खोजी गरियो ।’

    तेस्रो दिन गाँउबाट टोली निर्माण गरी खोजी सुरु गरिएको र बाटोमा कहीं कतै नदेखेपछि चौथो दिन प्रहरीलाई समेत खोजीका लागि अनुरोध गरेर सीमाचौकी तातापानी र जोगबुडा ईलाका प्रहरी कार्यालयको टोली समेत खोजी गर्दै गर्दा स्थानीयको टोलीले हट्वानी सामुदायिक वनमा शव फेला पारेको अध्यक्ष बोहरा बताउँछन् ।

    के भन्छ प्रहरी ?

    प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ। प्रहरीले पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने जनाएको छ ।

    शनिबार राति १० बजेतिर शव जंगलबाट जोगबुढा अस्पतालमा ल्याइएको र आइतबार दिउँसोसम्ममा पोष्टमार्टम हुने इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

    दोषीमाथि कडा कारवाही गर्न माग

    महिला स्वास्थ्य कर्मचारीको हत्या भएको घटनाको चाँडो छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

    अधिकारकर्मी राजनीतिकर्मीदेखि स्थानीयले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । डडेल्धुराको प्रदेश ‘क’ क्षेत्रबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री पठानसिंह बोहराले घटनाको घोर भर्त्सना गर्दै घटनामा जोसुकै संलग्न भए पनि निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

    नगर प्रमुख भीमबहादुर साउदले दिन दहाडै यसरी नेपाल सरकारको कर्मचारीमाथि गरिएको हत्या अमानवीय, दुर्भाग्यपूर्ण, अकल्पनीय भएको बताएका छन् । उनले घटनाप्रति घोर भर्त्सना गर्दै तत्काल नेपाल प्रहरीलाई घटनाको सत्य तथ्य र निश्पक्ष अनुसन्धान गरी दोषी पत्ता लगाई हदैसम्मको कारबाही र पीडितको उचित न्यायको माग गरेका छन् । 

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - ११:०५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij