Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

आज दिनभरको १८ खबर एकै ठाउँमा

आज दिनभरको १८ खबर एकै ठाउँमा


  • 148
    Shares

    आज दिनभरको १८ खबर एकै ठाउँमा
    images

    १. बडादशैँको समापन नजिकिएसँगै उपत्यकामा फर्किँदै चहलपहल, असन र न्युरोडका बजारमा उपभोक्ता बाक्लिए

    नेपालीहरूको महान चाड बडादशैँ समापनतर्फ धकेलिँदै गर्दा सुनसान बनेको संघीय राजधानी काठमाडौं उपत्यका पुनः सामान्य दैनिकी र व्यावसायिक लयमा फर्किन थालेको छ । मुख्य चाडपर्व मनाउन गाउँघर पुगेका नागरिकहरू राजधानी भित्रिने क्रम बढेसँगै असन, इन्द्रचोक, न्युरोड लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको हो । 

    २. बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो

    नेपालीहरूको महान चाड बडादशैँ समापनको संघारमा पुगेसँगै गृहजिल्ला तथा गाउँघर पुगेर टीका–आशीर्वाद ग्रहण गरेका सर्वसाधारणहरू आफ्नो नियमित कर्मथलो काठमाडौं उपत्यका फर्किन थालेका छन् । दशैँको सार्वजनिक बिदा सकिन लागेकाले काठमाडौं भित्रिने प्रमुख नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु तथा जगातीतर्फ यात्रुवाहक सवारीसाधन र यात्रुहरूको उल्लेख्य चाप देखिएको हो । दशैँको मुख्य दिन विजयादशमी तथा त्यसपछिका दिनहरूमा मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी रहेकै बेला आईतवारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय क्रमशः खुल्न थाल्ने भएकाले राजधानी फर्किनेहरूको ताँती लागेको हो ।

    ३. प्रचण्डको चेतावनीः इतिहासको भुमिकालाई अवमूल्यन गर्न खोजियो, मुलुकमा फेरि नयाँ परिस्थिति बन्छ

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गर्नुभएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै संयोजक दाहालले तत्कालीन जनयुद्धको स्मरण गर्दै जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गर्नुभएको हो । 

    ४. नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपिएलका खेल प्रभावित हुनसक्ने

    जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । 

    ५. नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ शुरुः आत्मसमीक्षासहित गाउँ पस्दै

    नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने औपचारिक घोषणा गर्नुभयो । 

    ६. देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति परिस्थिति चुनौतिपूर्णः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति परिस्थिति चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको जागरण अभियानको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सबै नेपालीले असहज परिस्थितिको सामना गरिरहेको बताउनु भयो । साथै विश्व परिस्थिति पनि सहन नरहेको भन्दै रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन तथा इजरायल, अमेरिका र इरानबीचका युद्ध र युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेका बताउनु भयो । 

    ७. दशैँपछि राजधानी फर्किए उपभोक्ताः कालीमाटी तरकारी बजारमा बढ्यो चहलपहल र कारोबार

    बडादशैँ मनाउन आ–आफ्नो गृहजिल्ला पुगेका नागरिकहरू कर्मथलो काठमाडौं उपत्यका फर्किएसँगै यहाँको प्रमुख कृषि उपज केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारिक चहलपहल ह्वात्तै बढेको छ । दशैँका कारण केही दिन सुनसान प्रायः बनेको थोक तथा खुद्रा बजारमा उपभोक्ता र खुद्रा व्यापारीको चाप बढ्न थालेपछि कारोबार पुरानै लयमा फर्किन थालेको हो । दशैँको मुख्य दिनहरूमा उपत्यका प्रायः खाली हुँदा तरकारीको माग र आपूर्ति दुवै न्युन बिन्दुमा झरेको थियो । 

    ८. एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गर्नुभएको हो । 

    ९.अस्ट्रेलियामा विद्युतीय स्कुटर दुर्घटनाबाट अस्पताल भर्ना हुनेको संख्या तीन गुणाभन्दा बढी

    अस्ट्रेलियामा विद्युतीय स्कुटर (ई–स्कुटर) दुर्घटनामा परी घाइते हुने र अस्पताल भर्ना हुनेको संख्या सन् २०१९ यता तीन गुणाभन्दा बढीले वृद्धि भएको सरकारी प्रतिवेदनले देखाएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू) ले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सन् २०२४–२५ मा विद्युतीय स्कुटरबाट लडेर घाइते भएका ४ हजार ८९ जना अस्पताल भर्ना भएका थिए । यो संख्या सन् २०१९–२० मा अस्पताल भर्ना भएका १ हजार २९१ जनाको तुलनामा २१६.७ प्रतिशतले बढी हो । 

    १०. इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न क्षेत्रीय र युरोपेली देशको आग्रह, होर्मुज जलडमरूमध्य खुला गर्न आह्वान

    क्षेत्रीय तथा युरोपका आठ देशले इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न आग्रह गर्दै होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन आह्वान गरेका छन् । शुक्रवार टर्कीको इस्तानबुलमा भएको आठ देशका विदेशमन्त्रीहरूको बैठकमा इरानमाथि सैन्य कारबाहीको विरोध गर्दै क्षेत्रीय द्वन्द्व थप फैलिन नदिन संवाद र कुटनीतिक पहलमा जोड दिइएको हो । बैठकमा क्षेत्रीय चार देश टर्की, इजिप्ट, पाकिस्तान र साउदी अरेबियाका साथै युरोपेली चार देश बेलायत, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्री सहभागी थिए । 

    ११. चीनको सिजाङमा ७ म्याग्निच्युडको भूकम्पपछि उद्धार जारी, १६ जनाको मृत्यु, ७६ घाइते

    दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ । नाग्छु शहरअन्तर्गत बाछेन काउन्टीमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेका मानिसको खोजी गर्न अग्नि नियन्त्रक तथा उद्धारकर्मीले तालिमप्राप्त कुकुरसहित खोजी गरिरहेका छन् । स्थानीय अधिकारीहरूका अनुसार शुक्रवारसम्म भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । भूकम्प प्रभावित गाउँहरूमा उद्धार टोलीले तीन चरणमा खोजी कार्य पूरा गरिसकेको छ । 

    १२. जलवायु नीतिको कार्यान्वयनमा केन्द्रित हुनेछ कोप–३१ः टर्कीकी उपविदेशमन्त्री

    संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) जलवायु नीतिको ठोस कार्यान्वयनमा केन्द्रित हुने टर्कीकी उपविदेशमन्त्री बेरिस एकिन्चीले बताउनुभएको छ । आगामी संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धतालाई व्यवहारमा उतार्न सम्मेलनले प्राथमिकता दिने बताउनु भयो । पेरिस सम्झौताको दोस्रो दशकमा नयाँ निर्णयका लागि वार्ता गर्नुभन्दा पनि यसअघि गरिएका प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने अपेक्षा बढिरहेको उल्लेख गर्दै उहाँले कोप–३१ लाई ‘कार्यान्वयन सम्मेलन’ का रूपमा अघि बढाइने जानकारी दिनुभयो । 

    १३. दक्षिणी जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली प्रहार, ७ जनाको मृत्यु, ३४ घाइते

    जोर्डनको दक्षिणी प्रान्त काराकस्थित एक चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोली प्रहारमा परी सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार शुक्रवार भएको उक्त घटनामा हतियारधारी व्यक्तिहरूले चर्चभित्र गोली चलाएका थिए । निर्देशनालयका प्रवक्ताले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको जानकारी दिँदै घटनाबारे गहन अनुसन्धान भइरहेको बताएका छन् । 

    १४. युक्रेनको ओलेस्कीमा रुस र युक्रेनबीच अस्थायी युद्धविरामको सहमति

    रुसी सेनाको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनी शहर ओलेस्कीमा मानवीय सहायता सामग्री पु¥याउन र सर्वसाधारणको उद्धार गर्न रुस तथा युक्रेन अस्थायी युद्धविरामका लागि सहमत भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार यो युद्धविराम आगामी अक्टोबर २९ तारिखदेखि लागू हुनेछ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दुवै मुलुक ओलेस्की क्षेत्रमा सबै प्रकारका सैन्य कारबाहीहरू अस्थायी रूपमा रोक्न सहमत भएका हुन् । यस सहमतिले तोकिएको सुरक्षित मार्गमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न र अत्यावश्यक मानवीय सहायता भित्र्याउन मार्गप्रशस्त गर्नेछ । 

    १५. सीमा रेखाबारे उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको प्रश्ताव

    दक्षिण कोरियाले सीमा क्षेत्रमा पर्ने जमिनको सैन्य सीमारेखा स्पष्ट रूपमा पहिचान गर्न, सैन्य सञ्चार सम्पर्क पुनःस्थापना गर्न तथा आकस्मिक झडप रोक्ने उपायबारे छलफल गर्न उत्तर कोरियासँग सैन्य वार्ताको औपचारिक प्रश्ताव गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार उत्तर कोरिया अर्थात प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अधिकारीहरूसमक्ष अन्तरकोरियाली सैन्य संवादका लागि प्रश्ताव अघि सारेको हो । दक्षिण कोरियाका उपरक्षामन्त्री किम होङ–चोलले जमिनको सैन्य सीमारेखाको वास्तविक स्थान दुवै पक्षले आपसी सहमतिमा पुष्टि गर्नुपर्ने, सैन्य सञ्चार सम्पर्क पुनःस्थापना गर्नुपर्ने र सीमावर्ती क्षेत्रमा हुनसक्ने आकस्मिक झडप रोक्न आवश्यक उपायबारे छलफल गर्नुपर्ने बताउनु भयो । 

    १६. ६ महिनाभित्र जानकी आँखा अस्पतालको अवस्था सुर्धाछौँ ः मनिष झा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधार गरी व्यवस्थित बनाउने बताउनुभएको छ । अस्पतालको निरीक्षण गर्दै सांसद झाले अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र आर्थिक सुशासनमा सुधार गरी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने बताउनुभएको हो । जनकपुरधामको पहिचानसँग जोडिएको जानकी आँखा अस्पतालमा पर्याप्त भौतिक संरचना र आर्थिक स्रोत हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उहाँले बताउनु भयो । अस्पतालमा करिव २२ करोड रुपैयाँ कोषमा रहेको उल्लेख गर्दै उहाँले उक्त रकम पूर्वाधार स्तरोन्नति र सेवा विस्तारमा उपयोग गर्ने बताउनु भयो । 

    १७. देशको स्वाभिमानमा आँच पु¥याउने काम हुँदा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पु¥याउने काम हुँदा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उहाँले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताउनुभएको हो । उहाँले राष्ट्रियताबारे जनचेतना र जागरण अभिवृद्धि गर्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । राष्ट्रियता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनजीविकाका सवाल आफूहरुको प्राथमिकतामा रहेको उहाँको भनाई छ ।

    १८. पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिनुभएको छ । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उहाँले विगत ३५ वर्षमा केही भएन भन्नेहरुलाईलाई उक्त चुनौती दिनुभएको हो । उहाँले मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताउनु भयो । तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरु तयार रहेको उहाँको भनाई छ । उहाँले २०४७ सालपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीका नेतृत्वले सरकारमा रहँदा गरेका कामको विवरण सार्वजनिक गर्ने पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :कार्तिक ७ २०८३ शनिवार - १९:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij