२०८३ कार्तिक ३ गते मंगलवार
काठमाडौं । अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले हालै ५ करोड अमेरिकी डलर मूल्यको १८ क्यारेट सुन र चार हजार चार सयभन्दा बढी हिरा जडित फ्यान्टेसी ‘ब्रा’ लगाएर भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा डेब्यु गरेकी छन् । वर्षौंदेखि यस शोको मुख्य आकर्षण रहँदै आएको यो ब्रा लगाउने अवसरलाई मोडलको करियरको ठूलो उपलब्धि मानिन्छ ।
२९ वर्षीया जेनरलाई यो अवसर दिएपछि फेशन जगतमा दुई थरीका प्रतिक्रिया आएका छन् । केही प्रशंसकहरू खुसी भए पनि धेरैले अनुभवी सुपरमोडलको सट्टा उनलाई छनोट गरिएको भन्दै ब्रान्डको आलोचना गरेका छन् ।
विज्ञहरूका अनुसार यो पूर्ण रूपमा योजनाबद्ध मार्केटिङ रणनीति हो । परम्परागत मोडलहरूभन्दा पनि जसले धेरै मानिसको ध्यान खिच्न सक्छ उसैलाई प्राथमिकता दिने यो नयाँ युगको सुरुवात हो । कार्दसियन परिवारको सदस्य र सोसल मिडियाको प्रभावका कारण युवा पुस्तामाझ अत्यधिक लोकप्रिय रहेकी जेनरलाई उनको सांस्कृतिक प्रभाव र मनोरञ्जन क्षेत्रको भूमिकाकै कारण छनोट गरिएको कम्पनीका प्रमुख क्रिएटिभ अफिसर एडम सेलम्यानले बताएका छन् ।
तर, परम्परागत मोडलिङ र प्रतिष्ठित ग्ल्यामरलाई रुचाउने दर्शकहरूले भने यसलाई वास्तविक प्रतिभामाथिको अपमान र परम्पराप्रतिको विश्वासघातको रूपमा लिएका छन् । कतिपयले त यो शो इन्फ्लुएन्सरहरूको तमासामा परिणत भएको समेत टिप्पणी गरेका छन् ।
यसअघि सन् २०१८ मा लैङ्गिक विभेद र विविधताको कमीका कारण बन्द भएको यो शो सन् २०२४ देखि सबै महिलाको उत्सव मनाउने प्रतिबद्धतासहित पुनः सुरु गरिएको थियो । ज्याकोब एन्ड कम्पनीसँगको सहकार्यमा १५ जना कलाकारले एक हजार घण्टाभन्दा बढी लगाएर बनाएको यो अहिलेसम्मकै सबैभन्दा महँगो ब्रा हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij