२०८३ कार्तिक ३ गते मंगलवार
१. वर्षमा एक दिन मात्र खुल्ने ऐतिहासिक तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध तलेजु भवानीको मन्दिर बडादशैँको महानवमीका अवसरमा आज सर्वसाधारणका लागि खुला गरिएसँगै बिहानैदेखि हजारौँ भक्तजनको बाक्लो घुइँचो लागेको छ । वर्षभरि बन्द रहने यो मन्दिर परम्पराअनुसार वर्षको एक दिन मात्र सर्वसाधारणको दर्शनका लागि खुला गरिने भएकाले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालुहरू दर्शनका लागि पुगेका छन् ।
२. बडादशैँको अवसरमा शीतल निवासमा राष्ट्रपतिद्वारा नवकन्या पूजन, परम्पराको निरन्तरता
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा नवदुर्गाको अवतारका रूपमा नौ जना कन्या (नवकन्या) को विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित विशेष धार्मिक अनुष्ठानमा राष्ट्रपति पौडेल तथा प्रथम महिला सबिता पौडेलले परम्परागत विधिअनुसार नवकन्याहरूको गोडा धोएर, टीका लगाइदिएर दक्षिणा तथा उपहार प्रदान गर्नुभएको हो । नेपालीहरूको महान चाड बडादशैँका अवसरमा राष्ट्रप्रमुखबाट नवदुर्गास्वरुप नवकन्याको पूजाअर्चना गर्ने लामो परम्परा रहिआएको छ ।
३. देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष
नेपाल प्रहरीले दशैँ, तिहार, छठ तथा नेपाल संवत लगायतका चाडपर्वहरूलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडबाडका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा दुर्घटना न्युनिकरणका लागि सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।
४. दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिएः नेपाल प्रहरी
काठमाडौं उपत्यकाबाट बडा दशैँ मनाउन १० लाखभन्दा बढी नागरिक आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । बडा दशैँको महानवमीका दिनसम्म उपत्यकाबाट सार्वजनिक बस, निजी सवारी तथा दुई पाङ्ग्रे साधनमार्फत बाहिरिने नागरिकको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
५. चालु वर्ष विपद्बाट ३८६ जनाको मृत्यु हुँदा सबैभन्दा धेरै ज्यान सर्पदंशले लियो
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको अकालमा ज्यान गएको छ । प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंश (सर्पको टोकाइ) बाट भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ ।
६. चाडपर्वमा यात्रुको सहजता र सुरक्षाका लागि चौबीसै घण्टा प्रहरी परिचालन, मापसे–लापसे र कालोबजारीविरुद्ध कडा निगरानी
चाडपर्वका बेला घर फर्कने यात्रुहरूको सुरक्षा, सहज आवागमन तथा सम्भावित ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर २४ सै घण्टा उच्च सुरक्षा सतर्कतासहित प्रहरी परिचालन गरेको छ । लामो दूरीका यात्रुवाहक सवारीसाधनका चालकहरूको प्रस्थान बिन्दुमै मादक पदार्थ तथा लागूऔषध सेवन (मापसे–लापसे) परीक्षणदेखि राजमार्गका होटलहरूमा हुने कालोबजारी नियन्त्रणसम्मका कार्य कडाइका साथ अगाडि बढाइएको प्रहरीले जनाएको हो ।
७. चाडपर्व लक्षित ‘प्रोएक्टिभ’ सुरक्षा रणनीति प्रभावकारी, ठूला दुर्घटना र अपराधमा कमी
चाडपर्व केन्द्रित ‘प्रोएक्टिभ पोलिसिङ’ तथा आधुनिक प्रविधिको सघन उपयोगका कारण यस वर्षको बडादशैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको र ठूला आपराधिक घटनाहरू नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सिन्धुलीको सुनकोशी नदीमा भएको एउटा यात्रुवाहक सुमो दुर्घटनाबाहेक यस अवधिमा ठूलो जनधनको क्षति हुनेगरी अन्य गम्भीर घटना नभएको स्पष्ट पार्नुभएको हो ।
८. काठमाडौंका शक्तिपीठमा दशैंको रौनकताः रातो रङ्ग, दियोको ज्योति र अटल आस्था
शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाको आकाश नीलो र कञ्चन बनेको छ । कासका फूलहरू बताससँगै हल्लिरहेका छन् भने बिहानको चिसो हावामा मन्दिरका घण्ट र शंखध्वनि गुञ्जिन थालेका छन् । नेपालीहरूको महान राष्ट्रिय चाड बडादशैं (विजयादशमी तथा नवरात्र) को अवसरमा काठमाडौंका ऐतिहासिक तथा पौराणिक शक्तिपीठहरू नयाँ दुलहीझैं सिँगारिएका छन् ।
९.ऐतिहासिक परम्परा कायमै राख्दै नेपाली सेनाद्वारा विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न
नेपाली सेनाले बडादशैँको अवसर पारेर आफ्ना विभिन्न पृतना, गण, गुल्म तथा ऐतिहासिक कोतहरूमा परम्परागत विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न गरेको छ । राष्ट्रिय सुरक्षा र शक्तिको प्रतीकका रूपमा लिइने हातहतियार, तोप तथा पल्टनको पहिचान झल्काउने निशान झण्डाको विधिवत पूजाआराधना गर्दै सेनाले शताब्दीयौँ पुरानो सैन्य परम्परालाई निरन्तरता दिएको हो । दशैँको महाअष्टमी र महानवमीको विशेष तिथि पारेर काठमाडौं उपत्यकास्थित सैनिक मुख्यालय, ऐतिहासिक हनुमानढोका दशैँ घर, विभिन्न पृतना तथा देशभरका सैनिक युनिटहरूमा मौलो पूजाको विशेष अनुष्ठान सञ्चालन गरिएको हो ।
१०. अमेरिकी पत्रकार र युरोपेली कुटनीतिज्ञमाथि आक्रमणः वेस्ट बैंकबाट १० जना पक्राउ
इजरायली सुरक्षा फौजले अधीकृत वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कुटनीतिज्ञहरूमाथि भएको साङ्घातिक आक्रमणको आरोपमा १० जना संदिग्धलाई पक्राउ गरेको छ । सप्ताहन्तमा भएका यी हिंसात्मक घटनाहरूको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इजरायली प्रहरीले सोमवार औपचारिक जानकारी दिएको छ।इजरायली प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू अमेरिकी पत्रिका ‘द वासिङ्टन पोस्ट’ की फोटो पत्रकार हाइडी लेभिन र वेस्ट बैंकको तायबेह गाउँ पुगेका युरोपेली कूटनीतिज्ञहरूमाथि भएको छुट्टाछुट्टै आक्रमणमा संलग्न रहेको आरोप छ ।
११. उत्तरी यमनमा साउदी नेतृत्वको सम्भावित हवाई आक्रमणः १० जनाको मृत्यु, २३ घाइते
उत्तरी यमनको सादा प्रान्तमा आईतवार भएको एक संदिग्ध साउदी हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । हुथी विद्रोही नियन्त्रित अल–मसिराह टेलिभिजनका अनुसार एक आवासीय घरलाई लक्षित गरी गरिएको उक्त बमबारीमा मारिने तथा घाइते हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् । यमनको उत्तरी प्रान्त सादास्थित एक आवासीय क्षेत्रमा आईतवार घातक हवाई आक्रमण भएको विवरण सार्वजनिक भएको छ ।
१२. केन्यामा इबोला संक्रमितको संख्या आठ पुग्यो, अस्पतालका सहयोगीमा पनि संक्रमण पुष्टि
केन्यामा एक अस्पताल सहयोगीमा इबोला भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या आठ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४९ वर्षीय ती पुरुषमा ज्वरो, टाउको दुखाइ र मांसपेशी दुख्ने लक्षण देखिएपछि गरिएको परीक्षणमा ‘बुन्डिबुग्यो स्ट्रेन’ को इबोला पुष्टि भएको हो । केन्याको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. प्याट्रिक अमोथले स्थानीय सिटिजन टिभीसँग कुरा गर्दै नयाँ संक्रमित व्यक्तिलाई तुरुन्तै आइसोलेसनमा राखिएको र उपचार प्रक्रिया शुरु गरिएको जानकारी दिनुभएको छ । आईतवार परीक्षण गरिएका ३८ जनामध्ये ती सहयोगीको नतिजा मात्र पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
१३. क्षेत्रीय तनावको समाधान सैन्य होइन कुटनीतिक हुनुपर्छः इरान र रुस
इरान र रुसले मध्यपूर्व तथा समग्र क्षेत्रीय समस्याहरूको समाधान सैन्य शक्तिबाट सम्भव नहुने भन्दै कुटनीतिक संवादलाई नै मुख्य माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । तेहरान भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको द्विपक्षीय वार्तापछि सोमवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सो धारणा सार्वजनिक गरेका हुन् । इरानी सरकारी समाचार संस्था इर्नाकाअनुसार दुई देशका विदेशमन्त्रीहरूबीच मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्था, द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत समीक्षा भएको थियो ।
१४. जैविक विविधता महासन्धि (कोप–१७) आर्मेनियामा शुरुः कुन्मिङ–मोन्ट्रियल सम्झौताको पहिलो विश्वव्यापी समीक्षा हुने
जैविक विविधता महासन्धि (सीबीडी) का पक्ष राष्ट्रहरूको १७ औं सम्मेलन (कोप–१७) आइतबारदेखि आर्मेनियाको राजधानी येरेभानमा औपचारिक रूपमा शुरु भएको छ । सन् २०२२ मा पारित ऐतिहासिक ‘कुन्मिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क’ (केएमजीबीएफ) को कार्यान्वयन अवस्थाबारे विश्वव्यापी समीक्षा गर्ने प्रमुख कार्यसूचीका साथ सम्मेलन प्रारम्भ भएको हो । सम्मेलनको उद्घाटन गर्दै आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना प्रतिवद्धताहरूलाई ठोस कार्य र मापनयोग्य नतिजामा रूपान्तरण गर्न आग्रह गर्नुभयो ।
१५. दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागी प्रकरणः कम्पनीका प्रमुखलाई चार वर्ष कैदको अन्तिम फैसला
दक्षिण कोरियाको सर्वोच्च अदालतले सन् २०२४ मा २३ जना श्रमिकको ज्यान लिने गरी भएको भीषण कारखाना आगलागी घटनामा लिथियम ब्याट्री उत्पादक कम्पनी ‘एरिसल’का प्रमुख कार्यकारी अधिकृत (सिइओ) पार्क सुन–क्वानलाई चार वर्षको जेल सजाय तोक्ने उच्च अदालतको फैसला मङ्गलवार अन्तिम रूपमा सदर गरेको छ । राजधानी सोलबाट करिव ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासङस्थित एरिसलको कारखानामा सन् २०२४ जुन २४ मा लिथियम ब्याट्री विस्फोट हुँदा भीषण आगलागी भएको थियो ।
१६. भारतको पञ्जावमा अनियन्त्रित कारको ठक्करबाट आठ श्रमिकको मृत्यु, १३ घाइते
भारतको उत्तरी राज्य पञ्जावको संगरुर जिल्लामा तिब्र गतिको एक कारले किच्दा आठ जना श्रमिकको ज्यान गएको छ भने अन्य १३ जना गम्भीर घाइते भएका छन् । पञ्जावको राजधानी चण्डिगढबाट करिव १६४ किलोमिटर दक्षिण–पश्चिममा पर्ने अलिसेर गाउँनजिक कामको सिलसिलामा सडक किनारमा विश्राम गरिरहेका मजदुरहरूमाथि उक्त अनियन्त्रित कार बजारिन पुगेको स्थानीय प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरूकाअनुसार दुर्घटना हुनुअघि तिब्र गतिमा रहेको उक्त कारले सुरुमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
१७. युद्धकालीन सैन्य कमाण्ड अमेरिकाबाट शिघ्र फिर्ता ल्याउन दक्षिण कोरिया दृढ
दक्षिण कोरियाले युद्धकालीन अवस्थामा आफ्नै सेना परिचालन गर्ने कमाण्ड (ओपकन) संयुक्त राज्य अमेरिकाबाट यथाशिघ्र फिर्ता लिने प्रतिवद्धता पुनः दोहो¥याएको छ । राष्ट्रिय सार्वभौमसत्ताको पूर्ण प्रत्याभूतिका लागि आफ्नो सैन्य नियन्त्रण आफैँसँग हुनुपर्ने अडान राख्दै दक्षिण कोरियाले तोकिएको समयतालिका अगावै यो प्रक्रिया टुङ्ग्याउन आफू पूर्ण सक्षम रहेको जनाएको छ । राजधानी सोलमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दक्षिण कोरियाली नेतृत्वले युद्धकालीन परिचालन नियन्त्रण (ओपकन) फिर्ता ल्याउने विषय राष्ट्रिय प्राथमिकतामा रहेको स्पष्ट पारेको छ ।
१८. महानवमी पर्व श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैः कोतमा विशेष हर्षबढाइँ, वर्षमा एक पटक तलेजु भवानी खुला
बडादशैँ अर्थात शारदीय दुर्गापक्षको नवौँ दिन आज आश्विन शुक्ल नवमीका अवसरमा देशभर शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरी महानवमी पर्व भव्य रूपमा मनाइँदै छ । यस विशेष दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न ब्यारेक तथा ऐतिहासिक कोतहरूमा परम्परागत हातहतियार र निशानको विशेष पूजाआजाका साथै हर्षबढाइँ गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका प्रमुख शक्तिपीठ, कोतघर तथा घरघरमा देवीको पूजा–आराधना भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij