२०८३ कार्तिक ३ गते सोमवार
काठमाडौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ ।
‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशसम्म पुर्याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरणमा महत्वपूर्ण योगदान दिने मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए।
रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनि उनको भनाइ छ । सार्वजनिक भएको कार्यतालिका अनुसार रथयात्रा यही कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम–गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुगेर रात्रि विश्राम गर्नेछ । कात्तिक ९ गते पञ्चकोट–बागलुङ बजार, मालढुङ्गा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।
कात्तिक १० गते पोखराबाट दमौली–डुम्रे–मुग्लिन–धादिङ– थानकोट–कलङ्की–स्वयम्भू–बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij