२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औँ वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लागू हुने जानकारी बैंकले दिएको छ।
सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव अनुसार असार मसान्तसम्मको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ। यसका साथै कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश गरी कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ लाभांश प्रस्ताव गरिएको छ।
विसं २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गरी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ। बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij