२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना प्रदेश सांसदहरूमाथि लगाएको ‘बिकेको’ आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।
प्रदेश अध्यक्ष विक्रमबहादुर थापाले हस्ताक्षर गरेको पत्रमा बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने पार्टीका निर्वाचित सांसदलाई लक्षित गरी ‘भेडा–बाख्राजस्तै बिके’ तथा ‘अर्काको ओछ्यान तताउन गए’ जस्ता अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाइएको छ।
प्रदेश समितिले ‘को बिक्यो ?’, ‘कति रकममा बिक्यो ?’, ‘कसले किन्यो ?’, ‘कहिले, कहाँ र कसरी लेनदेन भयो ?’ र ‘त्यसको प्रमाण के हो ?’ भन्दै अध्यक्ष लिङ्देनलाई २४ घण्टाभित्र प्रमाण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ।
आरोप प्रमाणित भए सम्बन्धित व्यक्तिमाथि पार्टी विधानअनुसार कारबाही गर्न र प्रमाण प्रस्तुत गर्न नसके अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना गर्न समितिले माग गरेको छ।
त्यस्तै, प्रदेश समितिले कोशी प्रदेशमा सभामुख पद कायम राख्ने तथा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विगतका निर्णयको प्रसङ्ग उठाउँदै राजनीतिक निर्णयमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएको छ।
समितिले पार्टीभित्र फरक मत राख्ने नेता–कार्यकर्तामाथि व्यक्तिगत लाञ्छना लगाउने प्रवृत्ति अन्त्य गर्न, विधि र विधानअनुसार पारदर्शिता कायम गर्न तथा बागमती प्रदेशका सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन पनि माग गरेको छ।
प्रदेश समितिले अन्त्यमा ‘आरोप होइन, प्रमाण देखाऊ’ भन्दै प्रमाण भए दोषीमाथि कारबाही र प्रमाण नभए आरोप फिर्ता लिएर सार्वजनिक माफी माग्न आग्रह गरेको छ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij