२०८३ भाद्र ३१ गते बुधवार
काठमाडौं । पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।
अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको हो। घटनाको २४ घण्टाभन्दा कम समयमै उनलाई बर्वुड स्थानीय अदालतमा उपस्थित गराइएको थियो।
मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडस्थित ड्राइभवेमा बालिका खेलिरहेको अवस्थामा कारले ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई तत्काल वेस्टमिड अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा केही घण्टापछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि अधिकारीलाई अनिवार्य परीक्षणका लागि अस्पताल लगिएको थियो। त्यसपछि उनलाई प्रहरी स्टेसनमा लगेर मुद्दा चलाइएको थियो। उनी अहिले जमानतमा रहेका छन् र आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ।
अदालतमा अधिकारीले आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकार गरेको प्रतिक्रिया दिएका छैनन्। अदालतबाट बाहिरिने क्रममा उनले कागजले आफ्नो अनुहार छोप्ने प्रयास गरेको रिपोर्टमा उल्लेख छ।
उनका वकिल ड्यानी इडले घटनालाई अत्यन्तै दुःखद भएको बताएका छन्। उनका अनुसार अधिकारी घटनापछि तनावमा रहेका छन् र परिवार तथा घटनाबाट प्रभावित पक्षको अवस्थाबारे चिन्तित छन्।
अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप हालसम्म प्रमाणित भएको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij