२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीलाई आधुनिक, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित आगामी पाँच वर्षका लागि फिनटेक रणनीतिको खाका सार्वजनिक गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले वित्तीय समावेशीकरण, वित्तीय पहुँच विस्तार तथा दिगो आर्थिक विकासलाई टेवा पुर्याउने लक्ष्यसहित रणनीति अघि सारेको हो।
रणनीतिमा नीतिगत सुधार, प्रभावकारी नियमन, भरपर्दो डिजिटल पूर्वाधार तथा सरोकारवालाबीच सहकार्यमार्फत फिनटेक प्रविधि र डिजिटल वित्तीय सेवाको विकास गर्ने लक्ष्य राखिएको छ।
राष्ट्र बैंकका अनुसार रणनीतिले डिजिटल वित्तीय सेवाको पहुँच विस्तार, स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन, वित्तीय सेवाका विकल्प वृद्धि, जोखिम न्यूनीकरण तथा नवप्रवर्तनमार्फत सेवाको लागत घटाउने विषयलाई प्राथमिकता दिएको छ।
रणनीति कार्यान्वयनका लागि डिजिटल पूर्वाधारको आधुनिकीकरण, आधुनिक नियमन तथा सुपरीवेक्षण प्रविधिको विकास र फिनटेकमैत्री नीतिगत तथा कानुनी व्यवस्था निर्माणलाई मुख्य आधार बनाइएको छ। साइबर सुरक्षासहित सुरक्षित र भरपर्दो डिजिटल प्रणाली विकासमा समेत जोड दिइएको छ।
रणनीतिले फिनटेक कम्पनी, अनुमतिप्राप्त वित्तीय संस्था तथा डिजिटल सेवा प्रयोगकर्तालाई समेटेको छ। साना तथा मझौला उद्यम, ग्रामीण क्षेत्र, महिला, युवा, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध व्यक्तिलाई विशेष प्राथमिकतामा राखिएको राष्ट्र बैंकले जनाएको छ।
रणनीति कार्यान्वयनपछि नेपालमा सुरक्षित, समावेशी, नवप्रवर्तनकारी र अन्तरआबद्ध डिजिटल वित्तीय प्रणाली विकास हुने राष्ट्र बैंकको विश्वास छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij