२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
सभापति गगन थापासँग आज भएको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका हुन्।
कोइरालाको सचिवालयका अनुसार उनले पार्टीभित्रको एकताका लागि आफूले गर्नुपर्ने त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन्। जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए।
भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान, पार्टी एकता तथा आसन्न महाधिवेशनका विषयमा छलफल भएको बताइएको छ। दुई नेताबीच हालै बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे पनि कुराकानी भएको थियो।
विशेषगरी रसुवा, नुवाकोट र धादिङमा बाढीपछि उत्पन्न अवस्थाका बारेमा जानकारी आदानप्रदान भएको जनाइएको छ।
पार्टीभित्र महाधिवेशनको कार्यतालिका र नेतृत्वका विषयमा फरक धारणा देखिरहेका बेला सभापति थापा र नेता कोइरालाबीच भएको भेटलाई कांग्रेसमा सहमतिको प्रयासका रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij