२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आइतबार अविरल वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेशका तराईदेखि पहाडी क्षेत्रसम्म वर्षा जारी छ।
धनगढी, अत्तरिया र महेन्द्रनगरलगायत तराईका क्षेत्रमा वर्षा भइरहेको छ भने पहाडी जिल्लामा पनि लगातार पानी परिरहेको छ। वर्षासँगै पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा बाढीको जोखिम बढेको छ।
बाजुरामा अविरल वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। वर्षासँगै आएको पहिरोले केही स्थानमा घरमा समेत क्षति पुगेको जनाइएको छ।
लगातारको वर्षाका कारण तराईका नदी तथा तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको सम्भावना उच्च रहेको स्थानीय प्रशासनले जनाएको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij