Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उपत्यकाको ग्यास आपूर्ति सहज बनाउन भोलिदेखि २ सय ट्रक परिचालन गरिने

उपत्यकाको ग्यास आपूर्ति सहज बनाउन भोलिदेखि २ सय ट्रक परिचालन गरिने


  • 1.5K
    Shares

    उपत्यकाको ग्यास आपूर्ति सहज बनाउन भोलिदेखि २ सय ट्रक परिचालन गरिने
    images

    काठमाडौं । बाढीपहिरोका कारण नागढुंगा–मुग्लिन सडक खण्ड अवरुद्ध भएसँगै काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुने जोखिम बढेपछि सरकारले वैकल्पिक आपूर्ति व्यवस्था मिलाएको छ ।उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन बिहीबारदेखि दैनिक २ सय वटा ट्रक परिचालन गरिने भएको हो । 

    ठूला ग्यास बुलेट काठमाडौं भित्रिन नसकेपछि खाली सिलिन्डर तराईका उद्योगमा पठाएर ग्यास भरेर ल्याउने व्यवस्था गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार दैनिक १ सय ट्रकले काठमाडौं उपत्यकाबाट खाली सिलिन्डर तराई लैजानेछन् भने १ सय ट्रकले भरिएका सिलिन्डर काठमाडौं ल्याउनेछन् ।

    नागढुंगा–मुग्लिन सडक बन्द हुँदा काठमाडौं, काभ्रे र धादिङका १८ वटा ग्यास उद्योगमा बुलेट पुग्न सकेका छैनन् । त्यसैले हेटौँडा, चितवन, नवलपरासी र वीरगन्जका उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक सडकमार्फत उपत्यकामा ल्याउन लागिएको हो ।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार बिहीबारदेखि दैनिक करिब २ सय ट्रक पूर्ण क्षमतामा परिचालन हुनेछन् । केही ट्रकले बुधबारदेखि नै सिलिन्डर ओसार्न सुरु गरिसकेका छन् ।

    बुलेट चालकहरूको स्थलगत अध्ययनले कान्ति लोकपथ र त्रिभुवन राजपथ साँघुरो तथा जोखिमयुक्त रहेकाले ठूला बुलेट काठमाडौं ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको थियो । त्यसपछि तराईमै बुलेटबाट ग्यास अनलोड गरी १५ टन क्षमताका साना तथा मझौला ट्रकमार्फत उपत्यकामा ल्याउने निर्णय गरिएको हो ।

    वैकल्पिक सडकमा ग्यास बोकेका ट्रकको सहज आवागमनका लागि स्थानीय प्रशासन, सडक डिभिजन र सुरक्षा निकायले आवश्यक सहजीकरण गर्ने भएका छन् ।

    ढुवानीमा कालोबजारी तथा मनपरी भाडा असुली रोक्न निश्चित भाडादरसमेत तोकिएको छ । हेटौँडाबाट काठमाडौंसम्म खाली सिलिन्डर लैजाने र ग्यास भरेर ल्याउने गरी १२ चक्के ट्रकको दुईतर्फी भाडा ८० हजार रुपैयाँ तोकिएको छ । चितवनबाट ९३ हजार, वीरगन्ज/कलैयाबाट ९५ हजार र नवलपुरबाट ९८ हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

    उद्योगीहरूले दैनिक २ सय ट्रक पूर्ण रूपमा परिचालन भएपछि काठमाडौं उपत्यकामा देखिन सक्ने ग्यास अभाव र कृत्रिम मूल्यवृद्धिको जोखिम धेरै हदसम्म कम हुने बताएका छन् ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १६:३६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij