२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० सदस्यीय ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरेको छ ।
एमाले सचिव महेश बस्नेतको संयोजकत्वमा गठित समितिले प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत सामग्री संकलन, ढुवानी, वितरण तथा पुनःस्थापनाका काम अघि बढाउनेछ ।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एमालेले विभिन्न जिल्लाको संयोजनको जिम्मेवारीसमेत तोकेको छ । जसअनुसार रसुवाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई दिइएको छ ।
त्यस्तै, केन्द्रीय तहमा संघीय सरकारसँग समन्वय गर्ने जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ । प्रचारप्रसारको संयोजन नीरज आचार्य, आर्थिक व्यवस्थापन डा. भीष्म अधिकारी, स्वयंसेवक परिचालन विनोद श्रेष्ठ, कार्यालय व्यवस्थापन नारायण सिलवाल तथा राहत संकलनको संयोजन कैलाश ढुंगेलले गर्नेछन् ।
समितिले विभिन्न जनसंगठन तथा पार्टीका कमिटीहरूलाई परिचालन गरी राहत तथा उद्धार अभियान सञ्चालन गर्ने एमालेले जनाएको छ । प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी सरकारी निकाय, स्थानीय तह तथा पार्टीका सबै तहका कमिटीसँग समन्वय गरेर राहत सामग्री संकलन, ढुवानी र वितरण गरिनेछ ।
एमालेले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई समेत प्रत्यक्ष रूपमा उद्धार तथा राहत कार्यमा जोडिन निर्देशन दिएको छ ।
विपद्मा परेका नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्दै एमालेको केन्द्रीय उद्धार तथा राहत टोली भोलि बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ प्रस्थान गर्ने तयारीमा रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विपद्को कठिन घडीमा सम्पूर्ण पार्टी पङ्क्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी हातहरूलाई उद्धार र राहत अभियानमा एकजुट हुन आह्वान गरेका छन् ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij