२०८२ माघ १२ गते सोमवार
इटहरी । शनिबार बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा श्रीमान, श्रीमती नै मृत फेला परेका हुन् ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भइ हाल तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई मृत फेला परेका हुन् ।
‘रातको अन्दाजी ११ बजे स्थानीय खार्साला खोलामा माछा मार्न जाने क्रममा करेन्ट लागेको अनुमान गरिएको छ,’ उनले भने, ‘तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा करेन्ट लगाइ माछा मार्न जाँदा करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनका अनुसार शर्मिलाको शरीरमा करेन्ट लागेर नीलडाम छ । मजदुरी गर्दै आएका उनीहरुका तीन वर्षीया छोरी छन् । माछा मार्न जाँदा बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij