२०८३ आश्विन १ गते बिहिवार
काठमाडौँ । काठमाडौँको शान्तिनगरमा मोटरसाइकलमा आएको एउटा समूहले साथमै बोकेको झोला लुटेर फरार भयो। बिहान अन्दाजी ४ बजेको थियो।
काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरमा ती जाहेरवाला आफ्नो कोठाबाट रकम राखेको झोला लिएर होलसेल तरकारी पसलतर्फ जाँदै थिए। मोटरसाइकलमा आएका दुई जनाले उनलाई सोधे, ‘पेप्सिकोला कताबाट जान्छ?’ उनीहरूलाई बाटो बताएर अगाडि बढ्दै थिए।
मोटरसाइकलको पछाडी रहेका व्यक्तिले उनलाई लडाई लछार पछार गरी घाँटीमा लगाएको साढे २ तोला बराबरको सुनको सिक्री लुटेर मोटरसाइकल चढी फरार भए। त्यसको दुई दिनपछि असार १५ गते काठमाडौँको कोटेश्वरमा बिहान ३ बजेतिर अर्का पीडितले ग्यारेजमा गाडी पार्किङ गरेर घरतर्फ जाँदै थिए।
नरेफाँट निलोपुल नजिक सडकमा अपरिचित व्यक्तिहरूले ‘जडीबुटी जाने बाटो बताइदिनुहोस्’ भने। जाहेरवालाले बाटो बताएर अगाडि जाँदै थिए। बाटो सोध्ने समूहका १ जना व्यक्तिले पछाडिबाट लडाएर लछारपछार तथा कुटपिट समेत गरी उनले लगाएको ३ तोला बराबरको सुनको सिक्री लुटपाट गरेर मोटरसाइकलमा चढी फरार भए।
त्यहिदिन बेलुका ८ बजेतिर काभ्रेपलान्चोक, धुलिखेल नगरपालिका २ बनेपामा अर्को घटना घट्यो।
सेतीदेवी दुग्ध सहकारी गाई फार्म नजिकै दूध लिन जाँदै गरेका व्यक्तिलाई पछाडीबाट मुख छोपे, घाँटीमा समातेर बोल्न दिएनन्। त्यसपछि लछार पछार तथा कुटपिट गरी घाँटीमा लगाएको १ तोला २० लाल बराबरको सुनको सिक्री लुटेर मोटरसाइकलमा फरार भए। साउन ७ गते दिउँसो साढे १ बजे धापासी हाईट मन्दिर नजिकै हिँडिरहेको अवस्थामा ६६ वर्षीया महिलाको एक तोलाको सुनको सिक्री लुटपाट भयो।
उनले लगाएको सुनको सिक्री मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले लछार पछार पारेर लुटी मोटरसाइकलमा फरार भए। यी श्रृंखलावद्ध घटना घटाउने समूह पहिचान गर्दै काठमाडौँ प्रहरीले मुख्य अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यकामा श्रृंखलावद्ध लुटपाटमा कर्मा समूहको संलग्नता रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले यो समूहका नाइके सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ का ३४ वर्षीय कर्मा तामाङसहित ५ जनालाई पक्राउ गरेको छ। कार्यालय प्रमुख एसएसपी दीलिप घिमिरेका अनुसार उनीहरूले नै सुनका सिक्री लगायत गरगहना श्रृंखलावद्ध रुपमा लुटपाट गरेको पाइएको छ।
लुटपाटमा संलग्न पाँच जना कास्की, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकका हुन्। काभ्रेका ३० वर्षीय प्रतिमान गोले, काभ्रेकै पनौती नागरपालिकाका ३० वर्षीय पासाङ घिसिङ, काभ्रेपलान्चोकको धुलीखेल नगरपालिका १० का ३० वर्षीय प्रतिमान गोले, कास्कीका २९ वर्षीय आले गुरुङ, काभ्रेको भुम्लुका ३६ वर्षीय मनोज तामाङ र मुख्य नाइके भनिएका कर्मा पक्राउ परेका छन्। उनीहरु यसअघि पनि पटक पटक आपराधीक घटनामा संलग्न रहेको खुलेको छ।
प्रतिमान गुरुङ लुटपाट गर्न जाँदा मोटरसाइकल चलाउँथे। उनी यसअघि पनि पक्राउ परेर जेनजी आन्दोलनको समयमा फरार भएका थिए। तर प्रहरीले उनलाई पुनः पक्राउ गरेको थियो। नक्खु कारागारबाट तीन साता पहिले मात्रै छुटेका उनी पुनः लुटपाटमा सक्रीय भएको पाइएको छ। उनीविरुद्ध यसअघि २०८२ जेठ ४ गते महाराजगन्ज वृत्तबाट र साउन ४ गते ललितपुरको चापागाउँबाट डाँका चोरी मुद्दा चलेको थियो।
पासाङ घिसिङले २० वटाभन्दा बढी मोटरसाइकल चोरी सकेको प्रहरीलाई बताएका छन्। कर्मा समूहलाई लुटपाटमा आवश्यक पर्ने मोटरसाइकल उनले नै उपलब्ध गराउँदै आएका थिए। उनीविरुद्ध यसअघि चार वटा मुद्दा प्रहरी वृत्त बौद्धबाट डाँका चोरीमै चलिसकेको छ। २०७९ भदौ ५ गते र अरु तीन वटा छुट्टा छुट्टै मुद्दा भदौ १९ गते चलेको थियो।
आले गुरुङ कास्कीको सारङकोट घर भइ हाल बौद्ध बस्दै आएका थिए। उनी लुटपाटमा जाँदा कुटपिट गर्न परे त्यसठाउँमा पुग्ने गरेको प्रहरीको दाबी छ। मनोज तामाङ सुन पसले हुन्। कर्मा समूहले लुटेका सुन मनोजले किन्ने गरेको खुलेको छ। उनको बनेपामा सुन पसल छ।
यो समूहका नाइके हुन् कर्मा तामाङ। उनी पेशाले सवारी चालक हुन्। तर यसअघि ९ पटक डाँका चोरीकै मुद्दामा पक्राउ परिसकेका थिए। उनको घर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ हो। यसअघि उनीविरुद्ध २०७९ भदौ ५ गते एउटा, भदौ १९ गते चार वटा मुद्दा प्रहरी वृत्त बौद्धबाट चलेकमो थियो।
२०८० साउन २४ गते प्रहरी वृत्त ठिमीबाट, २०८२ भदौ ३ गते स्वयम्भूबाट, २०८० भदौ ११ गते सातदोबाटो वृत्तबाट र २०८२ भदौ ५ गते स्वयम्भूबाट डाँका चोरी मुद्दा दर्ता भएको खुलेको छ। डाँका चोरीकै मुद्दामा अनुसन्धान चलिरहँदा उनी भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए।
त्यसपछि उनी मोटरसाइकल र सुनका सिक्री लुटपाटमा संलग्न रहेको खुलेको छ।
यसरी हान्यो प्रहरीले गोली
काठमाडौँ प्रहरीले उपत्यकामा गुण्डागर्दी, चोरी, लुटपाट लगायतका घटनाको प्रोफाइलिङ गरेर अनुसन्धान सुरु गरेको थियो। विश्लेषण गर्दा काठमाडौँ उपत्यकामा लुटपाट मच्चाउन कर्मा समूह सक्रिय रहेको खुल्यो।
त्यसपछि काठमाडौँ प्रहरीले कर्मा र उनको समूहका सदस्यलाई खोजी गर्न सुरु गरेको थियो। अनुसन्धानका क्रममा काठमाडौँको कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका सिक्री लुटपाटका घटनामा संलग्न चार जनाको पहिचान भएको थियो।
साउन १५ गते शुक्रबार काभ्रेपलान्चोकको बनेपाबाट लुटपाटमा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको थियो। कर्मा भने फरार थिए। सो समूहका नाइके कर्मा तामाङको बसोबास र आवतजावतको सम्भावित स्थान प्रहरीले आकलन गर्यो। साउन १६ गते शनिबार राति १०ः२५ बजे काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १३ चुनिखेल, गाम्चास्थित पानी ट्याङ्की नजिक कर्मा तामाङलाई फेला पारेको प्रहरीको दाबी छ।
कर्मालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली समेत हानेको थियो। एसएसपी घिमिरेका अनुसार उनले प्रहरी टोलीलाई खुकुरीले आक्रमण प्रयास गरेपछि सुरुमा दुई राउन्ड हवाई फायर गरेको र त्यतिगर्दा पनि आक्रमण प्रयास गर्दै मोटरसाइकलमा भाग्न खोजेपछि गोली प्रहार गरेको प्रहरीको दाबी छ।
कर्माको घुँडामुनी गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको छ। यस्तै प्रहरीले उनको साथबाट खुकुरी, मोटरसाइकलको विभिन्न नम्बर प्लेट ५ थान, चोर्न प्रयोग गर्ने औजारहरु, मास्टर की बरामद गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij