Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अब वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

अब वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य


  • 1.3K
    Shares

    अब वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै नेपाली नागरिकको हकमा वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरेको हो।

    नयाँ व्यवस्थाअनुसार अब भुक्तानी सेवा प्रदायक संस्थाले वालेट खोल्ने क्रममा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट विवरण यकिन गरी ग्राहक पहिचान प्रक्रिया पूरा गर्नुपर्नेछ।

    राष्ट्र बैंकले वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न निश्चित समयसीमा पनि तोकेको छ। जसअनुसार २०८३ असोज मसान्तभित्र वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्र विवरण भएरनभएको स्वघोषणा लिनुपर्नेछ।

    राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा सोही समयभित्र मोबाइल एप वा अन्य माध्यमबाट वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

    राष्ट्रिय परिचयपत्र नलिएका नागरिकलाई भने परिचयपत्र लिएपछि ग्राहक पहिचान विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउनुपर्नेछ।

    विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइन माध्यमबाट वालेट खोल्न सक्ने व्यवस्था पनि कायम गरिएको छ। तर नेपाल फर्किएपछि ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।

    यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकले ग्राहक पहिचान प्रक्रिया थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन यस्तो व्यवस्था लागू गरेको जनाएको छ। यसअघि वालेट खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था थिएन।  

    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १७:१२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij