२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८२\८३ मा करिब ४ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा ठूलो मात्रामा डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धनलगायतका पेट्रोलियम पदार्थ आयात भएको हो।
तथ्यांकअनुसार नेपालमा आयात हुने इन्धनमध्ये डिजेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। गत आर्थिक वर्षमा १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको १३ लाख ९३ हजार ३३४ किलोलिटर डिजेल आयात भएको छ। डिजेल आयातबाट मात्रै सरकारले ५७ अर्ब ७० करोड ३९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
डिजेलपछि सबैभन्दा बढी आयात हुने इन्धनमा पेट्रोल रहेको छ। विभागका अनुसार ७७ अर्ब २६ करोड ५० लाख ११ हजार रुपैयाँ बराबरको ७ लाख ५१ हजार ६४२ किलोलिटर पेट्रोल आयात भएको छ।
यस्तै, नेपाली भान्सामा प्रयोग हुने एलपी ग्यासको आयात पनि उच्च देखिएको छ। एक वर्षमा ६० अर्ब २८ करोड ६ लाख २४ हजार रुपैयाँ बराबरको करिब ५ लाख २० हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ। ग्यास आयातबाट सरकारले ११ अर्ब २४ करोड २६ लाख ८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।
यसैगरी, हवाई इन्धन ९एटीएफ० २६ अर्ब ६४ करोड ५० लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको छ। यसको परिमाण २ लाख १३ हजार ६४३ किलोलिटर रहेको छ। एटीएफबाट सरकारले ३ अर्ब ९७ करोड ९ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यस्तै, ६७ करोड ७४ लाख ४३ हजार रुपैयाँ बराबरको ६ हजार ९२८ किलोलिटर मट्टितेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
पेट्रोलियम पदार्थबाहेक नेपालले १७ अर्ब ९८ करोड १५ लाख रुपैयाँ बराबरको कोइला समेत आयात गरेको छ। करिब १ अर्ब ३३ करोड १ लाख ७३ हजार केजी कोइला आयातबाट सरकारले ४ अर्ब ९ करोड ३७ लाख रुपैयाँ राजस्व उठाएको छ।
नेपालमा खपत हुने अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात हुने गरेको छ। तर विशेष प्रकारका इन्धन, लुब्रिकेन्ट्स र बेस आयल भने अस्ट्रेलिया, चीन, बहराइन, कतार, सिंगापुर र इटालीलगायत मुलुकबाट समेत आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij