२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने र यहाँबाट बाहिर लैजाने सम्बन्धमा नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघिको सूचनालाई परिमार्जन गरेको छ।
विदेशी विनिमय ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को व्यवस्थाका आधारमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार यो जानकारी गराएको हो।
बैंकद्वारा जारी सूचनाअनुसार अब नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउनेछन्। भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५,००० बराबरको रकमसम्म घोषणाबिना ल्याउन र लैजान पाइने व्यवस्था छ।
तर, ५,००० अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा वा सो बराबरको भारतीय रुपैयाँ ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्नेछ। विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत सोही सीमा लागू हुने बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले यो नयाँ सूचना राजपत्रमा प्रकाशित भएपछि यसअघि २०८२ भदौ १० गते प्रकाशित सूचनालाई खारेज गरेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij