२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राजधानीका तीनवटा प्रतिष्ठित सञ्चार माध्यमका कार्यालयको मुख्य गेटमा आज बिहानै शंकास्पद सवारी साधनहरू फेला परेका छन्।
कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको मुख्य गेटैमा शंकास्पद रूपमा सवारी साधनहरू पार्किङ गरेर व्यक्तिहरू सम्पर्कबिहीन भएपछि प्रहरीले व्यापक अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको बुद्धनगरस्थित कार्यालय र हिमालयन टेलिभिजनको पुरानो बानेश्वरस्थित कार्यालयको गेटअगाडि गाडीहरू बेवारिसे अवस्थामा भेटिएका हुन्।
ती गाडीहरू कार्यालयभित्र गाडीहरू जान-आउन पूर्ण रूपमा बाधा पुग्ने गरी गेटमै अड्याएर छाडिएको पाइएको छ। अचम्मको कुरा त, बेवारिसे छाडिएका ती गाडीहरूमा चाबीसमेत नभएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी पवन भट्टराईले प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेर ती सवारी साधनहरूको प्राविधिक जाँच र सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।
ती गाडीहरू कसले र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्नेबारे वरपरका सीसीटीभी फुटेज र अन्य प्राविधिक प्रमाणका आधारमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। सञ्चार गृहका गेटमै यसरी सवारी साधन राखेर सञ्चार माध्यमको आवतजावत ठप्प पार्ने प्रयास गरिएपछि सञ्चार क्षेत्र र नागरिक समाजमा यसलाई गम्भीरताका साथ हेरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij