Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चालु आर्थिक वर्षको सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन, राति १२ बजेपछि प्रणाली बन्द हुँदै

चालु आर्थिक वर्षको सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन, राति १२ बजेपछि प्रणाली बन्द हुँदै


  • 1.5K
    Shares

    चालु आर्थिक वर्षको सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन, राति १२ बजेपछि प्रणाली बन्द हुँदै
    images

    काठमाडौं । आर्थिक वर्ष २०८२\८३ को बजेट अन्तर्गत सरकारी निकायहरूले गर्ने सम्पूर्ण भुक्तानीको आज अन्तिम दिन रहेको छ। प्रचलित कानुनी व्यवस्था अनुसार हरेक असार २५ गतेसम्म भुक्तानी गरिसक्नुपर्ने प्रावधान बमोजिम आज बिहीबार राति १२ बजेसम्म सबै सरकारी कार्यालयले डिजिटल प्रणालीमार्फत भुक्तानी सम्पन्न गरिसक्नुपर्ने भएको हो।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था अनुसार आज राति १२ बजेपछि चालु आर्थिक वर्षको सम्पूर्ण भुक्तानी प्रणाली स्वतः रोकिने उप महालेखा नियन्त्रक ओम प्रसाद रिजालले जानकारी दिएका छन्। यो व्यवस्था स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी तीनवटै तहका सम्पूर्ण सरकारी निकायहरूको हकमा समान रूपमा लागु हुनेछ। आजभित्र भुक्तानी हुन नसकेका बिल वा दायित्वहरूको रकम फ्रिज हुने र त्यसका लागि आगामी आर्थिक वर्षको नयाँ बजेटको व्यवस्था पर्खनुपर्ने रिजालले बताएका छन्।

    बुधबारसम्मको बजेट खर्च विवरणस्महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बुधबार (असार २४ गते) सम्म सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च गरिसकेको छ। यो कुल वार्षिक बजेटको ७८ प्रतिशत बराबर हो।

    बजेट खर्चको शीर्षकगत विवरण यस प्रकार छ :

    • चालुतर्फ: विनियोजित ११ खर्ब ८० अर्ब ९८ करोडमध्ये १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ (८७.२५ प्रतिशत) खर्च।
    • पुँजीगत (विकास) तर्फ: विनियोजित ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाखमध्ये मात्र १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ (४० प्रतिशत) खर्च।
    • वित्तीय व्यवस्थातर्फ: विनियोजित ३ खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ (९०.१७ प्रतिशत) खर्च।

    आज बिहीबार राति १२ बजेसम्म हुने अन्तिम भुक्तानीको सम्पूर्ण विवरण भने भोलि शुक्रबार मात्रै स्पष्ट हुनेछ।

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १३:२०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij