Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बजेटपछि विद्युतीय गाडीको भाऊ घट्यो, कुनको मूल्य कति पुग्यो ?

बजेटपछि विद्युतीय गाडीको भाऊ घट्यो, कुनको मूल्य कति पुग्यो ?


  • 11.4K
    Shares

    • images
    बजेटपछि विद्युतीय  गाडीको भाऊ घट्यो, कुनको मूल्य कति पुग्यो ?
    images

    काठमाडौं । सरकारले बजेटमार्फत अन्त:शुल्क पूरै र भन्सार घटाएपछि विभिन्न कम्पनीका गाडी बिक्रेताले विद्युतीय गाडीको मूल्य निर्धारण गरेका छन् ।

    सरकारको निर्णयले सबै गाडीको मूल्य घटेको छ । मूल्य घटेपछि भन्सारमा होल्ड भएका विभिन्न गाडी छुटाउने प्रक्रिया समेत सुरु भइसकेको छ भने शोरुममा एक वर्षदेखि थन्किएको गाडी पनि बिक्री हुने अपेक्षामा बिक्रेता छन् । अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले अन्त:शुल्क र भन्सार बढाएका कारण एक वर्षदेखि विद्युतीय गाडीको बिक्री ठप्प थियो । बजेटपछि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी हुण्डाईले सबै विद्युतीय गाडीको मूल्य निर्धारण गरेको छ।

    कम्पनीका निर्देशक निराकार श्रेष्ठका अनुसार कोना सय किलोवाटको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको छ । डेढ सय किलोवाटको कोनाको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ छ । कर बढेका कारण ५० वटा कोना भन्सारमा एक वर्षदेखि थन्किएका थिए ।

    महिन्द्राको विद्युतीय गाडी बिक्री गर्दै आएको अग्नि इनर्जीले बजेटपछि इटुओ प्लस गाडीको मूल्य घट्ने जनाएको छ । ‘अन्त:शुल्क घटेपछि हामीले बेच्दै आएको महिन्द्रा इटुओ प्लस र इ-भेरिटोको मूल्य घट्छ । तर हामीले कति घट्छ भन्ने हिसाब गरिरहेका छौ,’ कम्पनीका वरिष्ठ कार्यकारी प्रवन्धक प्रमोद भण्डारीले भने ।

    इटुओ प्लस १९ किलोवाट र  इ-भेरिटो ३२ किलोवाटको हो । अन्तस्शुल्क घटेसँगै कम्पनीले एक सय ४० किलोमिटर क्षमताको इ-केयुभी भित्र्याउने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार हाल उत्पादन भइरहेको यो गाडी आउँदो पाँच महिनाभित्र नेपाली बजारमा सार्वजनिक हुनेछ ।

    कियाको विद्युतीय गाडी बिक्री गर्दै आएको कन्टिनेन्टल एशोसिएट्सले बजेटपछि निरोको मूल्य सार्वजनिक गरेको छ । निरोको नयाँ मूल्य ६९ लाख ६९ हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ । कम्पनीका उपमहाप्रवन्धक अनिश लामिछानेले नयाँ बजेटपछि विद्युतीय गाडीको मूल्य घटेको बताउँदै यसले बिक्री बढाउने अपेक्षा रहेको बताए ।  

    उनका अनुसार  कम्पनीले आउँदो सन् २०२२ मा नेपाली बजारमा कियाको इभी-६ सार्वजनिक गर्ने योजना बनाएको छ । अन्त:शुल्क घटाएपछि विद्युतीय सवारीसाधनको बजार प्रवर्द्धनमा  थप टेवा पुग्ने टेस्ला गाडी भित्र्याउँदै आएको अरिती इन्टरनेशनलले जनाएको छ । करिब एक वर्ष अगाडि यो कम्पनीले नेपालमा टेस्ला मोडल-३ सिरिजको गाडी नेपाल भित्र्याएर बिक्री सुरु गरेको थियो ।

    'सरकारले थोरै क्षमता भएको गाडीलाई धेरै र धेरै क्षमता भएको गाडी लाई कम छुटको व्यवस्था गरिदिएको छ। क्षमता भएकालाई धेरै छुट दिइएको कारण अब विद्युतीय गाडीको बजार बढ्ने देखिएको छ,' कम्पनीका प्रबन्धक विनोद श्रेष्ठले भने ।

    उनका अनुसार यस अघि एक करोड २५ लाख रुपैयाँमा बिक्री गर्दै आएको टेस्ला मोडल-३ को बजार मूल्य करिब ९० लाख रुपैयाँमा पाइनेछ । उनका अनुसार करिब एक वर्षभित्र कम्पनीले १५ थान गाडी बिक्री गरिसकेको छ ।

    विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न कम्पनीले हालसम्म काठमाडौंमा चारवटा, विराटनगर, भरतपुर लगायत क्षेत्रमा चार्जिङ स्टेशन तयार गरिसकेको उनले जानकारी दिए । कम्पनीले नक्सालमा अन्तर्राष्ट्रिय स्तरको सेल्स एण्ड सर्भिससहितको शोरुम तयार गर्दैछ । नक्सालमा एक पटकमा सातवटा गाडी एकैपटक चार्ज गर्न सकिने व्यवस्था रहने उनले जानकारी दिए ।

    एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजीका विद्युतीय गाडीको मूल्य निर्धारण गरेको छ । कम्पनीका महाप्रबन्धक सचिन अर्यालले एमजी जेडएसको मूल्य ५० लाख ९० हजार रुपैयाँ निर्धारण गरेको बताए । यसअघि यो गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ थियो ।  

    टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा टिगोर ल्याउने छ । कम्पनीले दुई वर्ष अगाडि नाडा अटो शोमा विद्युतीय गाडी ‘टाटा टिगोर’ प्रदर्शनीमा राखेको थियो । मुलुकमा विद्युतीय गाडीलाई पुनः बढावा दिइने भएपछि कम्पनीले छिट्टै इभी सेगमेन्टका टिगोर र नेक्सन भित्र्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । कम्पनीले यतिखेर इभीको बिक्री सुरु गर्नका लागि गृहकार्य सुरु गरिसकेको उनले जानकारी दिए । 

    'यी दुई गाडी जतिसक्दो छिटो ल्याउनका लागि गृहकार्य गरिरहेका छौं । ग्राहकले गाडी अर्डर गरेलगत्तै समयमै पाउने किसिमले वर्कआउट गरिरहेका छौं । यतिखेर चार्जिङ स्टेशन, जनशक्ति तालिम, आफ्टर सेल्स सर्भिस लगायत तयारी गरिरहेका छौं,' सीइओ श्रेष्ठले भने । प्रविधि विकास अनुसार पर्फर्मेन्स विस्तार हुँदै गएको अवस्थामा निकट भविष्यमा विद्युतीय गाडीको हिस्सा बढ्ने उनको प्रक्षेपण छ ।

    चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सको विद्युतीय गाडी पनि नेपाल आउँदैछ । एक पटक फूलचार्ज गरेपछि साढे तीन सय किलोमिटर चल्ने यो गाडी सानो छ। भिजी इम्पेक्सले नेपाली बजारमा ल्याउन लागेको यो गाडी बजेटपछि मूल्य २० लाख रुपैयाँको हाराहारीमा आउनेछ ।

    ‘नीतिमा स्थिरता चाहिन्छ’
    अन्त:शुल्क पूरै हटाउने र भन्सार घटाउने नीतिको व्यवसायीले स्वागत गरेपनि नीतिगत स्थिरता नभए विद्युतीय गाडी बिक्रीले गति नलिने बताउँछन् । ‘अहिले सरकारले गरेको निर्णय राम्रो छ। तर विद्युतीय गाडीलाई बढावा दिने हो भने नीतिगत स्थिरता चाहिन्छ । वर्षपिच्छे नीति परिवर्तन गरे समस्या हुन्छ,’ लक्ष्मी हुण्डाईका निर्देशक निराकारले भने ।

    सरकारले यो पटक १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने साना सवारी साधन निरुत्साहित गर्दै विद्युतीय गाडीलाई बढावा दिने बजेटमा उल्लेख गरेको छ । उनले बजेटमा लिएको नीतिलाई १० वर्षसम्म निरन्तरता दिन सकेमा त्यसले विद्युतीय गाडीमा ठूलो फड्को मार्ने बताए । निराकार विद्युतीय सवारी साधनका लागि आवश्यक सडक र चार्जिङ स्टेशनका लागि समेत लगानी आवश्यक हुने बताउँछन् ।

    कोरियास्थित हुण्डाईको मुख्यालयले सन् २०२५ मा २५ किसिमका नयाँ विद्युतीय सवारी साधन उत्पादन गर्ने योजना बनाएको छ । यसैगरी सन् २०४० सम्म वातावरणमैत्री गाडी 'विद्युतीय र फ्युल सेल' मात्र उत्पादन गर्ने योजना बनाएको छ ।

    यही योजनालाई मध्यनजर गर्दै लक्ष्मी हुण्डाईले आगामी दिनमा विद्युतीय सवारी साधन बिक्रीलाई बढावा दिने उनले बताए ।

    चार्जिङ स्टेशन संचालनका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताउँदै निराकारले पेट्रोल पम्पको तुलनामा चार्जिङ स्टेशन संचालन लागत धेरै गुणा महँगो रहेकाले सरकारको सहकार्य खोजेको बताए ।

    प्रकाशित मिति :जेठ २० २०७८ बिहिवार - १२:४५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij