२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अर्थमन्त्रीले पछिल्लो समय नेप्सेमा देखिएको गिरावट र उतारचढावबारे स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजार घट्नुको मुख्य कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रक्रिया रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा अर्थमन्त्रीले पुँजी बजार र बिमा क्षेत्रमा देखिएको ठुलो विचलनलाई सरकारले सूक्ष्म रूपमा हेरिरहेको जानकारी दिए । उनले हालै मात्र १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको उल्लेख गर्दै यसको केन्द्रमा पुँजी बजार र बिमा क्षेत्र नै रहेको स्पष्ट पारे ।"अहिले १ खर्बभन्दा बढीको बिगोमा मुद्दा चलेको छ ।
यसको केन्द्रमा क्यापिटल मार्केट र बिमा क्षेत्र देखिएको छ," अर्थमन्त्रीले भने, "अनुसन्धान र कारबाहीको यो प्रक्रिया अघि बढ्दै जाँदा कतै ‘म पनि पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ । यसैको प्रभाव बजारमा देखिएको हो । "उनले ठुला अनियमिततामा संलग्नहरूमाथि कानुनी कारबाही सुरु हुनुले बजारमा केही समयका लागि अन्यौलता सिर्जना गरेको सङ्केत गरे ।
तर, सेयर बजारको दैनिक र क्षणिक उतारचढावलाई लिएर सरकार चिन्तित नरहेको उनले प्रस्ट पारे ।"हामी एक घण्टामा स्टक मार्केट कति तलमाथि जान्छ भनेर हेर्दैनौँ," अर्थमन्त्रीले थपे, "सरकारको ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ । बजारलाई पारदर्शी र मर्यादित बनाउनु हाम्रो प्राथमिकता हो ।"
अर्थमन्त्रीले लगानीकर्ताहरूलाई बजारमा फैलिने विभिन्न हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह गरे । सरकारले नीतिगत रूपमै पुँजी बजारको विकासका लागि काम गरिरहेको भन्दै अहिलेको उतारचढावपूर्ण अवस्था अस्थायी मात्र भएको उनको दाबी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij