२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ । पछिल्लो तथ्याकंले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ ।
निषेधाज्ञा पूर्ण रुपमा कहिले हट्छ त्यसवारे केही जानकारी छैन । तर सकारात्मक संकेत देखिएसंगै अब निषेधाज्ञा पनि सहज बनाउँदै जाने विषयमा सरोकारवालाबीच छलफल थालिएको छ ।
समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ । एक साताअघिसम्म उपत्यकामा संक्रमित हुनेको दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली बताउँछन् ।
तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअहरु सहमत भएको उनले बताएका छन् । जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी रहेको पराजुली बताउँछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij