२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पिछडिएको क्षेत्रबाट सांसद छनोट गर्ने क्रममा भएको विवादबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेको छ ।
काँग्रेसले कालिकोटका कालीबहादुर सहकारीलाई पिछडिएको क्षेत्रको कोटामा सांसद सिफारिस गर्ने निर्णय कानुनसम्मत भएको दाबी गर्दै उनीविरुद्ध परेको रिट खारेज गर्न माग गरेको छ । लिखित जवाफमा कांग्रेसले मुख्यतया प्राविधिक त्रुटिलाई आधार बनाएर गरिएको दाबी अर्थहीन रहेको उल्लेख गरेको छ।
काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा कालीबहादुर सहकारीको ठेगाना कालिकोट स्पष्ट उल्लेख भएको र उनी सोही क्षेत्रका स्थायी बासिन्दा भएको तथ्यमा विवाद नरहेको जनाएको छ । बन्दसूचीको ‘पिछडिएको क्षेत्र’ भन्ने महलमा चिह्न लगाउन छुट्दैमा सहकारी पिछडिएको क्षेत्रको नागरिक नहुने भन्न नमिल्ने काँग्रेसको जिकिर छ।
काँग्रेसले कुन क्लस्टरबाट कसलाई छनोट गर्ने भन्ने अन्तिम अधिकार सम्बन्धित राजनीतिक दलमा निहित रहने तर्क अघि सारेको छ । पिछडिएको क्षेत्रबाट ताराबहादुर थापा (हुम्ला), हजारी नेपाली (जाजरकोट) वा भीमबहादुर तिरुवा (मुगु) मध्ये कसलाई पठाउने भन्ने विषय दलको निर्णयमा भर पर्ने र यसमा विपक्षीको दाबी नपुग्ने काँग्रेसको भनाइ छ ।
दलित पुरुषको क्रम सङ्ख्या १ मा रहेका मानबहादुर नेपालीको हकमा काँग्रेसले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने कानुनी बाध्यताका कारण महिला उम्मेदवार छनोट गरिएको स्पष्ट पारेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij