२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बिच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ ।
सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धारा सम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिने भएको छ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij